युक्रेनी राष्ट्रपतिकी पत्नी ओलेनाको पनि युक्रेनमै बस्ने निर्णय, जनताको नाममा भावुक सन्देश

डिसी नेपाल
१७ फागुन २०७८ १३:०९

काठमाडौं। युक्रेन र रुसको बीचमा युद्ध जारी छ । देशका धेरै नागरिक देश छोडेर छिमेकी देशमा शरण लिन पुगेका छन् । अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धको पहिलो दिनदेखि नै आफ्नो देश छोड्न अस्वीकार गरिरहेका छन् । अमेरिकाले उनलाई युक्रेनबाट बाहिर निकाल्ने प्रस्ताव समेत दिएको थियो तर उनले यसलाई अस्वीकार गर्दै जवाफ दिएका थिए ‘मलाई लिफ्ट होइन हतियार चाहिएको छ ।’

यही बीच उनकी पत्नी ओलेना जेलेन्स्काले पनि आफ्ना पतिको साथमा युक्रेनमै रहने निर्णय गरेकी छिन् । उनले सामाजिक संजालमार्फत लगातार जनतासँग अन्तरक्रिया पनि गरिरहेकी छिन् । पछिल्लो समय युक्रेनकी प्रथम महिला ओलेनाले आफ्ना पतिको समर्थनमा एउटा भावुक पोस्ट सामाजिक संजालमा शेयर गरेकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन् ‘मेरा प्यारा देशवासीहरु, म आज तपाइँहरु सबैलाई टिभीमा, सडकमा, इन्टरनेटमा देखिरहेकी छु । मैले तपाइँहरुका पोस्ट र भिडियो देखिरहेकी छु र मलाई गर्व छ कि म तपाइँहरुको साथमा आफ्नो देशको जमिनमा बसिरहेकी छु । मलाई गर्व छ कि म आफ्ना पनि र आफ्ना जनताको बीचमा छु ।’

अर्को पोस्टमा उनले एउटा बच्चाको तस्वीर शेयर गरेकी छिन् । ओलेनाले लेखेकी छिन् ‘यी बच्चा किभ बम शेल्टरमा जन्मिएका थिए । यी बालक अलग परिस्थिति र शान्तिको माहोलमा जन्मिनुपर्ने थियो । बच्चाहरुले यही देख्नुपर्छ कि हामी सेना हौं र सेना नै हामी हौं । यी बच्चा जो बम शेल्टरमा जन्मिएका छन् यिनीहरुले आफ्नो रक्षा आफैंले गरेका छन् ।’

युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काको जन्म १९७८ मा क्रिवी रिहमा भएको हो । उनले आर्किटेक्ट अध्ययन गरेकी छिन् तर पछि स्क्रिन राइटर बनिन् । ओलेना स्टुडियो क्वार्टल–९५ नामक एक प्रोडक्सन हाउसकी सहसंस्थापक हुन् । उनी अहिले पनि केही शो र फिल्मको स्क्रिप्ट लेख्छिन् । ओलेनाको भोलोदिािर जेलेन्स्कीसँग विवाह २००३ मा भएको थियो ।

यी दुईका दुई सन्तान छन् । छोरीको नाम अलेक्जेन्ड्रा र छोराको नाम किरिलो हो । २०१९ मा ओलेनालाई फोकस म्यागजिनले युक्रेनका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरुको सूचीमा ३० औं स्थानमा राखेको थियो । ओलेना सामाजिक कार्यकर्ता पनि हुन् । कोरोना महामारीको समयमा उनले धेरै मानिसहरुलाई सहयोग गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *