रुस र युक्रेनबीच वार्ता गराउने व्यक्ति चेल्सी क्लवका मालिक, को हुन् यी इजरायली नागरिक ?

डिसी नेपाल
१७ फागुन २०७८ १३:५५

काठमाडौं। रुस र युक्रेनबीच युद्धका बीच दुई देशबीच वार्ता पनि सुरु भएको छ । दुवै देशका नेताहरु युक्रेन–बेलारुस सीमानजिकै वार्तामा बस्न सहमत भएपछि हिजोदेखि वार्ता सुरु भएको छ । यो वार्ता सुरु गराउन एक जना इजरायली नागरिकको निकै महत्वपूर्ण भूमिका छ । इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार ती व्यक्ति रोमन अब्रमोभिच हुन् जो अहिले वार्ताका सहजीकरण गर्नका लागि बेलारुसमै छन् । रोमन रुसका अर्बपति व्यापारी हुन् जसले अहिले इजरायली नागरिकता लिएका छन् ।

रोमन रुसका मात्र नभइ विश्वकै प्रतिष्ठित व्यापारी हुन् । रोमन यहुदी हुन् त्यसैले इजरायलको नागरिकता सम्बन्धी नियम अनुसार उनले २०१८ मा इजरायलको नागरिकता पाएका थिए । त्यसअघि उनी बेलायती नागरिक थिए । रोमनको युक्रेन र रुसमा यहुदी समुदायमा राम्रो सम्बन्ध छ । यही कारण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकट सहयोगी अलेक्जेण्डर रोडन्स्कीले रुसमा रहेका अब्रामोभिच र यहुदी समुदायका अन्य व्यक्तिहरुसँग तनाव कम गर्ने विषयमा कुरा गरेका थिए । त्यसपछि अब्रामोभिचले युद्ध रोक्नको लागि वार्ताको पहल थालेका थिए ।

रोमनको जन्म २४ अक्टोबर १९६६ मा तत्कालीन सोभियत संघको सारातोभ सहरमा भएको थियो । प्रिमियर लिगको क्लव चेल्सीमा उनको साझेदारी थियो । २० वर्ष उनी यो क्लवको मालिक रहे । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी कम्पनहिरु र रुससँग सम्बन्ध राख्ने सबै व्यक्तिहरुमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएपछि उनले चेल्सी क्लवको साझेदारी छोडिदिए । रोमनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मित्रहरुमध्ये एक मानिन्छ यद्यपि उनीहरु साथमा सार्वजनिक रुपमा भने कम मात्रै देखिन्छन् ।

फोर्ब्सका अनुसार २००८ मा उनको कूल सम्पत्ति २३.६ अर्ब डलर थियो । त्यतिबेला उनी रुसका सबैभन्दा धनी व्यवसायी थिए । अहिले भने उनको कूल सम्पत्ति १३.६ अर्ब डलर छ । उनीसँग प्राइभेट जेट र लग्जरी कारको कलेक्सन छ । उनीसँग संसारको दोस्रो सबैभन्दा महंगो याट छ । २०१० मा उनले यो याट ४०० मिलियन डलरमा किनेका थिए । यो ५३३ फिट लामो छ ।

फोर्ब्सका अनुसार रुसको तेल उत्पादक कम्पनी सिबनेफ्टमा उनको ७३ प्रतिशत शेयर थियो । २००५ मा उनले यो सबै शेयर १३ अर्ब डलरमा बेचिदिएका थिए । उनकी पूर्वपत्नी डेशा झुकोभासँग सम्बन्धविच्छेद गर्ने बेला उनले सेटलमेन्टको रुपमा डेशालाई ९० लाख डलर र न्यूयोर्कको केही भौतिक सम्पत्ति दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *