रुसद्वारा किभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँचजनाकाे मृत्यु

डिसी नेपाल
१८ फागुन २०७८ ६:२९
576
Shares

बीबीसी। रुसी फौजले किभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ। रुसले युक्रेनमा अब ‘लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो।

रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन्। आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ।

आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ। ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ।

आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन। आक्रमणपश्चात्‌ पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ।

हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले “रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको” जनाएको छ।

यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए।

यसैबीच युक्रेनी किएभस्थित एउटा गोप्य बङ्करबाट पश्चिमा सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अझै बलियो भएर लड्ने” बताएका छन्।

यद्यपि रुसविरुद्ध जारी लडाइँको सामना गर्न “युक्रेन एक्लैलाई गाह्रो हुने” उनले उल्लेख गरेका छन्।

रुसी अतिक्रमणविरुद्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविराम सम्बन्धी वार्ता गम्भीर हुनसक्ने सीएनएन र समाचार संस्था रोयटर्ससँग भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *