भारतीय विद्यार्थीमाथि युक्रेनी सेनाले दुर्व्यवहार गरेको आरोप, भाग्न ट्रेनमा चढे गोली हान्ने धम्की

डिसी नेपाल
१९ फागुन २०७८ १६:४५

काठमाडौं। युक्रेनबाट भाग्न खोजेका भारतीय विद्यार्थीहरुले आफूहरुलाई युक्रेनी सेनाले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । खारकिभबाट बाहिरिनको लागि बुधबार ट्रेनको प्रतिक्षामा रहेका करिब १ हजार भारतीयलाई युक्रेनका सुरक्षाकर्मीले क्रुर व्यवहार गरेको उनहिरुले आरोप लगाए । उनीहरुले युक्रेनी सुरक्षाकर्मीले आफूहरुलाई मारिदिने धम्की दिएको, तर्साउन हवाइ फायर समेत गरेको र यातना दिएको समेत आरोप लगाएका छन् ।

‘युक्रेनको पुलिस र सेनाले स्टेशनमा केवल आफ्नो देशका नागरिकलाई प्राथकिता दिइरहेका छन् । अन्य देशका नागरिक, खासगरी भारतीयलाई कुटपिट गरिरहेका छन् । केटीहरुलाई समेत पुलिसहरुले छोडेनन् । केटाहरुले युक्रेनको सेनाले सिधै भनिदिए कि यदि ट्रेनमा चढ्यौ भने गोली हानिदिन्छौं । हामीलाई भारतीय दुतावासले ६ बजेसम्म खारकिभ छोड्न भनेको छ’ खारकिभ नेशनल मेडिकल युनिभर्सिटीमा प्रथम वर्षका छात्र दिव्यांश दीक्षितले भारतीय अखबार दैनिक भास्करसँग भने ।

उनले अगाडि भने ‘एकातिर हामीलाई हाम्रो होस्टेलमा फर्किन दिइएको छैन अर्कोतिर हामीलाई ट्रेनमा चढ्न दिइएको छैन । अब हामीले बुझ्न सकिरहेका छैनौं कि के गरौं । बाहिर निस्किए क्रस फायरमा मारिने डर छ । हामीले यहाँ फोन निकालेर फोटो खिच्न पनि पाउँदैनौं । युक्रेनको पुलिसले सिधै गोली हान्ने धम्की दिन्छ ।’ २ मार्चको दिन पौने ५ बजेतिर युक्रेनमा भारतीय दूतावासले एडभाइजरी जारी गरेर खारकिभमा रहेका भारतीयलाई ततकाल सहर छोड्न भनेपछि उनहिरु बाहिर निस्किएका थिए ।

दिव्यांश २ मार्चका दिन खारकिभको वकजाल रेलवे स्टेशन जान निस्किएका थिए । करिब १० किलोमिटर पैदल हिँडेर रेलवे स्टेशन पुग्दा युक्रेनको सेना र पुलिसले आफुहरुलाई यातना दिएको उनले आरोप लगाए । बिहान ८ बजेदेखि २ बजेसम्म पर्खेर बस्दा पनि उनीहरुलाई ट्रेनमा चढ्न नदिइएको र दुर्व्यवहार गरिएको उनको आरोप थियो ।

एक महिला विद्यार्थीले नाम नखुलाउने शर्तमा भास्करसँग कुरा गर्दै भनिन् ‘युक्रेनको पुलिसले आफ्नो देशका नागरिकलाई मात्र जान दिइरहेको छ । हामीले निकै अनुरोध गरेपछि उनीहरुले पहिले भारतीय केटीहरुलाई मात्र जान दिए त्यसपछि पुलिस आएर केटाहरुलाई निकै कुटे । केटाहरुलाई फरक फरक तरिकाले यातना दिइयो ।’ अर्की एक छात्राले भनिन् ‘युक्रेन पुलिसले केवल युक्रेनी नागरिकलाई मात्रै सुरक्षित रुपले जान दिइरहेको छ । भारतीय विद्यार्थीलाई कुनै कारण बिना यातना दिइएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *