‘युक्रेनबाट विदेशी नागरिकलाई सुरक्षित निकाल्ने कोसिसमा युक्रेनले नै अवरोध गरिरहेको छ’

डिसी नेपाल
२२ फागुन २०७८ ११:४९

काठमाडौं। रुसले युक्रेनमा फसेका विदेशी नागरिकहरुलाई सुरक्षित बाहिर निकाल्न सकेसम्म प्रयास गरिरहेको तर उसको यो प्रयासलाई युक्रेनले नै अवरोध गरिरहेको बताएको छ । रुसको नेशनल सेन्टर फर स्टेट डिफेन्स सेन्टरका प्रमुख कर्नल जनरल मिखाइल मिजिन्त्सेभले एक वक्तव्य जारी गर्दै युक्रेनले नै सर्वसाधारण तथा विदेशी नागरिकलाई त्यहाँबाट सुरक्षित बाहिर निकाल्न नदिएको आरोप लगाएका छन् ।

जनरल मिजिन्त्सेभले भोल्नोभांखा र मारियुपोलमा दिनहुँ मानवीय कोरिडोर खोलिएको तर युक्रेनको सेनाले सर्वसाधारण र विदेशी नागरिकलाई त्यो कोरिडोर हुँदै बाहिर निस्किन रोकिरहेको आरोप लगाएका छन् । उनले युक्रेनमा मानवीय स्थिति तीब्र रुपमा बिग्रिरहेको र भयानक रुप लिइरहेको बताएका छन् ।

उनले रुसले युक्रेनका सर्वसाधारण नागरिकको लागि मौजुदा स्थितिलाई स्थिर बनाउनको लागि हरसम्भव उपाय गरिरहेको बताए । उनले रुसले आफ्ना मानवीय जिम्मेवारीहरु पूरा गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताएका छन् । यसअघि युक्रेनले रुसमाथि युद्धबिराम उल्लंघनको आरोप लगाएको थियो ।

युक्रेनी अधिकारीहरुले युद्धको दसौं दिन शनिबार अस्थायी संघर्ष बिराम लागू त गरिएको तर रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समय मात्र आक्रमण रोकेको जसका कारण त्यहाँबाट हजारौं मानिसहरुलाई बाहिर निकाल्ने काम अवरुद्ध भएको आरोप लगाएका छन् । उनीहरुले स्कुलमा र मानिसहरुलाई बाहिर निकाल्न तयार पारिएका बसहरुमा आक्रमण गरिएको आरोप लगाए । रुसले भने यी आरोपहरु अस्वीकार गरिरहेको छ र युक्रेनले नै फसेका मानिसहरुलाई त्यहाँबाट निस्किन नदिएको आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *