व्यंग्य : कसको केलाउने, कसलाई खेलाउने

डिसी नेपाल
२९ फागुन २०७८ ७:३१

बलदेव महत

आफ्नो नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार हुँदापनि त्यसलाई सञ्चालन गर्न नसकेर त होइन चुनावी बैतरणी तर्न एकताको नाममा आफ्नै शरणमा आएर आफ्नै घाँटी रेट्न तयार भएका सहकर्मी कामरेडहरुको राजनीति मरणमा टेवा पुर्‍याउने उद्देश्यले स्वघोषित जान्नेसुन्ने र मान्नेगुन्ने बालकोटे कामरेडले दुईदुई पटक संसद बिघटन गरिदिए।

आफू जुन धरातलमा उभिएर सरकार प्रधान बनेको छ त्यसैलाई रसातलमा पुर्याएपछि आफ्नो पनि हैसियत के हुने हो भनेर सोच्नुभन्दा पछाडिबाट छुरा रोप्ने सहकर्मीहरुलाई घोच्नु नै यसको उद्देश्य भएजस्तो देखिएपनि उनले यो कदम देश र जनताको लागि उठाएका रहेछन् भन्ने उनैले ठाउँठाउँमा बताएपछि र उनका समर्थकहरुले यसलाई अझ तताएपछि सबैलाई थाहा भयो।

यस्तो पंगु संसदको कुनै काम छैन र यसमा रहेका सांसदहरुको कुनै नाम छैन भनेर बिघटन गरेको भन्ने सबैको बुझाइ ठिकै हो। उनले संसद बिघटन गरेर चुनावको तिथिमिति समेत तोकेका र सबैलाई निर्वाचनमा भाग लिन आदेश ठोकेका थिए।

बिगतको चुनावमा जित्न उनकै साथ पाएका र संसदमा केही काम नगरि बसिबसी खाएका माननीयलाई सांसद पद बचेन भने सर्वनाश हुने डरले यो निर्णय पचेन। यसका बिरुद्ध उनीहरु अदालत गए र दुवै पटक यो बिघटनलाई प्रभावहीन बनाउन सफल भए।

अदालतको फैसलाले संसद बचेपनि र सांसदहरुको भत्ता पचेपनि त्यहाँ जाने आउने, टाइम पास गर्ने, भत्ता बुझ्ने, निद्रा पुर्याउने बाहेक त्यसयता सांसदहरुबाट कुनै काम भएको नदेखिँदा संसद भन्ने थलो यत्तिका लागि मात्रै बनेको हो कि भन्ने भ्रममा पर्न ठिक हुँदैन। त्यस्तो देखिएतापनि सबैले दोधारे चरित्र र दोधारे बोली बोलेर भएपनि आनाकानी गरेजस्तोे गर्दै दिल खोलेर एमसीसी त्यहीँँबाट पास गराए अनि कुहिरोका कागसरि हराए।

संसद खुलाउन पनि नसक्ने, सबैलाई चित्त बुझाएर भुलाउन पनि नसक्ने र सांसद पद खुस्केला भन्ने डर बाहेक अन्यत्र मन डुलाउन पनि नसक्ने बिचित्रको स्थितिमा रहेका माननीयहरुले जनतालाई सारै राम्रो मनोरन्जन दिइरहेका अनि जनताले पनि यसबाट निकै मजा लिइरहेका देखिन्छन्।

संसद खुल्नासाथ एकथरी जर्याक जुरुक उठेर नारा जुलुस गर्दै सभामुखको अगाडि उभिएर चर्को नारा सुरु गरिहाल्ने, अरु बाँकी बचेकाहरु रमिता हेरेर बस्नेमा परिहाल्ने, सभामुखपनि होहल्लाकाबीच कुनै घोषण गर्न अघि सरिहाल्ने र यसबाट त्यो दिनको सभा मजाले टरिहाल्ने रुटिन सबैलाई कण्ठ भइसक्यो। संसदमा आजभोलि योभन्दा बढि केही भएको र योभन्दा अगाडि कुनै कुरा गएको देखिएको छैन।

संसद बिघटनको सबैभन्दा बढी बिरोध गर्ने, यसका बिरुद्ध आन्दोलन र मुद्दा गर्न सबैभन्दा अघि सर्ने र कुर्सी फुस्केला भनेर लचकताको नाममा लाजै नमानी जति तलपनि झर्ने कामरेडहरु नै अहिले संसद बिघटन गरेर अर्लि इलेक्सनमा जाने कुराको वकालत गर्न थालेका देख्दा यिनले कस्तो राजनैतिक कदम चालेका होलान् भनेर जनता अलमलिएका छन्।

पहिले निकै फुर्तिफार्तिसाथ चुनाव जितेपनि अहिले क्रमशः परजिबी बनेर नहिँडे के भनेर चुनाव जितिएला भन्ने अबस्थामा पुगेका कामरेडहरुको चाला हेर्दा भविष्यमा चुनाव जितेर माला लगाउने आशा मारेको हो कि भनेर अड्कल गर्ने मुर्खहरुलाई उहाँहरुले देखाइदिने योजना राख्नुलाई नराम्रो मान्न र उहाँहरुलाई कमजोर ठान्न हुँदै हुँदैन।

यसमा सबैभन्दा बढी स्वघोषित महान नेता भनेर सबैले चिन्ने खुमलटारे कामरेड र स्वघोषित नैतिक नेता भनेर राम्ररी चिनिने कोटेश्वरे कामरेडको नाम अग्रपंक्तिमा आउँछ। यी दुई कामरेडहरुले संसद बिघटन गरेर अर्लि इलेक्सनमा जानपर्छ र चुनावबाट जितेर आएपछि फेरि यसैगरी परजिबी तरिकाले खानपर्छ भन्ने सारै राम्रो बिचार बजारमा फालेका, आफूजस्तै अन्य परजिबी नेताहरुलाई समर्थनको लागि चारो हालेका अनि पहिले जस्तै यसैगरी सबैलाई उल्लु बनाउन सकिन्छ भन्ने बिचार मनमा पालेका छन्।

बालकोटे कामरेडले घोषणा गरेको अर्लि इलेक्सनको घोर बिरोधी कामरेडहरुबाटै यस्तो मनशाय आएपछि र यो बिषय बारे चाल पाएपछि बालकोटे कामरेडपनि निकै हौसिएका छन् रे भन्ने सुनेर सरकार प्रधान दोधारमा परेका छन् रे भनेको सुनेपनि कसैले पत्याएका छैनन्। आखिरमा आफूसमेत सदस्य रहेको यो संसदको केही काम रहेनछ भन्ने उहाँहरुलाई पनि महसुस हुनु राम्रै होला।

आफूले काम गर्न नसकेको हुनाले चुनावमा जनताबाट फेरि निर्वाचित भएर आएपछि र फेरि उही सांसद हुन पाएपछि काम गराइमा केही फरक होला भन्ने जनतालाई लागेको छैन। हारिने डरले चुनावबाट भागेको र काम गर्ने क्षमता नभएपनि भिक्षामा भोट मागेको दोष बोक्न पर्ला भनेर अर्लि इलेक्सनको हल्ला चलाएर भएपनि मतदाताहरुलाई भ्रममा पारेर अनि उनीहरुबाट चाहिँदो मात्राको भोट झारेर देखाइदिने उद्घोष सुन्दा जनता पनि हौसिएका छन्।

चुनावमा गठबन्धन हुन सकेन भने बचेखुचेका कार्यकर्ताहरुपनि दलबाट भागेर बालकोटे कामरेडको पछि लागेर जालान् भन्नेमा यिनी निकै सचेत देखिएका भएपनि चुनावमा हारेर अचेत होलान् भनेरपनि गठबन्धनवालाहरुले बिचार गरिदिन पर्ने यिनको भनाइ सोह्रैैआना सही छ। बालकोटेको बिरोधमा उचाल्दै उचाल्दै यहाँसम्म ल्याएर अहिले थेचार्न त हुँदै हुँदैन भन्ने हेक्का त गठबन्धनको ठेक्का लिएका दलहरुले राख्नै पर्छ।

बेलाबेलामा हामी एक्लाएक्लै चुनावमा गएर र अरुले सोचेभन्दा धेरै ठाउँमा निर्वाचित भएर आउने अनि यसैगरी सरकारमा छाउने बिचार ब्यक्त गरेको सुन्दा खुमलटारे र कोटेश्वरे कामरेडहरु कडा रहेछन् भन्ने सबैलाई लागेको छ। उहाँहरुको दलको बिस्तार माथिदेखि स्थानीय तहसम्म ज्यादै बलियो भएकोले र केन्द्रदेखि तलसम्म नै त्यही अनुसारको चुनावी माहौल गएकोले उहाँहरुलाई कुनै किसिमको अप्ठ्यारो हुने कुरै भएन।

यसो हेर्दा उहाँहरुको कसैसितपनि खासै प्रतिष्पर्धा छैन भनेपनि हुन्छ। उहाँहरुको भनाइ अनुसार उहाँहरुले चाहने हो भने उहाँहरुमा एकल बहुमत ल्याउने र अरुलाई उठ्नै नसक्ने गरी एक्लै भ्याउने क्षमता अहिले पनि छ।

आउँदो कुनैपनि चुनावमा उहाँहरुलाई कसैको सहयोगको पटक्कै आबश्यकता नभए पनि सँगै हिँडेका अरु दलहरुलाई चटक्कै छोडेर चुनावमा एक्लै जाँदा उनीहरुको हालत खराब हुनसक्ला भनेर दयामाया देखाउनको लागि मात्रै चुनावसम्म गठबन्धन कायम हुनपर्छ भनेर उहाँहरुले भनेको हो भन्ने अरुले पनि बुझिदिन पर्छ। नत्र उहाँहरुको लागि गठबन्धनको कुनै जरुरत छैन।

कोटेश्वरे कामरेड त गठबन्धनमा अलि नयाँ जस्तो देखिएपनि खुमलटारे कामरेड त गठबन्धनका पुराना, अनुभवी र माहिर खेलाडी भएको र सधैंभरि उहाँको योजना अनुसार चुनावी गठबन्धन गएको देखिएकै हो।

पहिलो संबिधान सभाको चुनावमा उहाँको आतंककारी छवी कायमै भएकोले खासै गठबन्धन गर्नै परेन र त्यसैको सही प्रयोगले त्यति तल झर्नै परेन। पर्यटक उम्मेदवार हुँदै ठाउँठाउँ डुलेर उम्मेदवारी दिएपनि आफ्नो कर्तव्य भुलेर हिँड्दा दोश्रो संविधान सभाको चुनावमा राज्यले नै धाँधली गराएर जिताएको र खास जित्ने उम्मेदवारलाई बिताएको अनि उहाँलाई जसरी पनि संसदमा ल्याएपछि अरु केही नभएपनि कमसेकम शान्ति त हुन्छ भन्ने चिताएको भनेर बिरोधीहरुले चलाएको हल्लामा कसैकोपनि विश्वास छैन।

गएको स्थानीय निर्वाचनमा बुढानिलकण्ठे सभापतिसित गठबन्धन गरेर छोरीलाई नगर प्रमुखमा जिताउनासाथ संसदको चुनावमा बालकोटे कामरेडसित गठबन्धन गर्न पुगेर गठबन्धन जुनसुकै बेला जोसुकैसित पनि गर्न सकिन्छ र आवश्यकता अनुसार जे गरियो त्यही सही हो भनेर बकिन्छ भन्ने राम्रो उदाहरण समेत पेश गर्नु ज्यादै बेश तरिका हो भन्ने सबैको भनाइ छ। संसदीय चुनावमा बालकोटे कामरेडसित दलको एकता गरेरै चुनावी गठबन्धन नगरेको भए बालकोटे कामरेडको पत्तासाफ हुनेमा कुनै शंका नगरे पनि हुने कुरा उनैले बताएपछि सबैले थाहा पाए।

बालकोटे कामरेडको पटकपटक फेरिएको किड्नीले दल र सरकार प्रधानको कुर्सी हडप्न एकैचोटि साथ दिने र उहाँपछि सम्पूर्ण जिम्मेवारी आफू एक्लैले लिने सारै मिठो सपना समेतको उच्च बिचारसहित चुनावी गठबन्धन मात्रै होइन दलकै एकता गराएका कामरेड बालकोटेलाई किड्नीले धोका नदिएपछि छाँगाबाट खसेजस्तो भए अनि पुरै उनको बिरोधमा गए।

यसमा दलको वरिष्ठ नेताको पदवी नपचेका कोटेश्वरे कामरेडले पनि साथ दिएको र खुला बिरोधमै लाग्ने निर्णय लिएको सारै राम्रो भयो। उहाँहरु मिलेर बुढानिलकण्ठे सभापतिसित गठबन्धन गरेपछि र आन्दोलनको साथै मुद्दा मामिलामा झरेपछि यताको गठबन्धन अझ दरिलो हुनुको साथै सत्तामा पुगेर भरिलो समेत भयो।

पहिलेदेखि नै घोषित अघोषित गठबन्धन गर्दै र त्यही अनुसार फाइदामा चर्दै आएका यिनको गठबन्धन सिद्धान्त ज्यादै राम्रो फलदायी देखिएको छ। जनयुद्ध नाम दिइएको धनयुद्धमापनि दक्षिणी छिमेकिसित अति राम्रो गठबन्धन, बिभिन्न सुत्रहरुमार्फत दरबारसित गठबन्धन, अन्य दलहरुसित गठबन्धन, तस्कर भ्रष्टाचारी ब्यभिचारी अपराधी कालाबजारी नाफाखोरी चोर डाँका फटाहा आदि जस्ता महान व्यक्तित्व र समूहरुसित सारै राम्रो गठबन्धन गरेको र अहिलेसम्मपनि कायम राख्नेमा परेको सुन्दा यी जति राम्रो गठबन्धन गर्न सक्ने नेता त यो दुनियाँमा छँदै छैनन् कि क्या हो भन्ने सबैको सोचाइ छ।

आफू जति नैतिक नेता यो दुनियाँमा छँदै छैन भन्दै र साँच्चिकै नैतिकता देखाउन पर्‍याे भने ठस्ठसी कन्दै भएपनि अनैतिक कामबाट आउने सुख सुबिधा गन्दै बर्बराउने र एक्लै चुनावमा जान धर्ममराउने कोटेश्वरे कामरेडलाई अहिले सबैभन्दा बढी गठबन्धनको आवश्यकता परेको हो कि जस्तो देखिन्छ।

अरु दलहरुले जेसुकै भनुन् वा आफूलाई जेजस्तोमा गनुन् त्यसको कुनै मतलब नराखिकन तिनै तहको निर्बाचनमा गठबन्धन गरेर जाने र चुनाव पछि यसैगरी बाँडिचुँडी खाने निर्णय भइसकेको छ भनेर यिनले कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थालिसकेका छन्।

बालकोटे कामरेडसित टिक्न र त्यो दलमा इज्जतका साथ बिक्न नसकेपछि खुमलटारेको फेरो समातेर हिँडेका यिनलाई सभामुख र अदालतको दयामायाले संसदमा जोगाइ दिएको छ। केही गरी गठबन्धन टुट्यो र अहिले पचभैया सरकार फुट्यो भने संसदीय चुनाव त टाढाको कुरा भयो स्थानीय चुनावबाटै साफ भइएला भन्ने लागेको भएपनि राजनीतिबाट हराउने भयले त्यत्तिकै डराउने पक्षमा यिनी छैनन्।

चुनावमा गठबन्धन हुन सकेन भने बचेखुचेका कार्यकर्ताहरुपनि दलबाट भागेर बालकोटे कामरेडको पछि लागेर जालान् भन्नेमा यिनी निकै सचेत देखिएका भएपनि चुनावमा हारेर अचेत होलान् भनेरपनि गठबन्धनवालाहरुले बिचार गरिदिन पर्ने यिनको भनाइ सोह्रैैआना सही छ। बालकोटेको बिरोधमा उचाल्दै उचाल्दै यहाँसम्म ल्याएर अहिले थेचार्न त हुँदै हुँदैन भन्ने हेक्का त गठबन्धनको ठेक्का लिएका दलहरुले राख्नै पर्छ।

मन्त्री पद खानकै लागि गठबन्धनमा टाँसिएको र फाइदाको ब्यापार हुने हुनाले यसमा गाँसिएको जसपा नाम भएपनि आफ्नै कामले गर्दा कहिल्यै जस नपाउने दलपनि सबै तहको चुनावसम्म गठबन्धन गर्ने र गराउने चक्करमा नलागे नसोचेको ठक्कर खाइने हो कि भनेर गठबन्धनको वकालत गर्नैपर्ने अबस्थामा रहेको छ।

मन्त्री पद खाँदापनि काम भन्दा माम मात्रै हेरेर लाभदायक मन्त्रालय नपाए कतै र कुनै तहमापनि कुरा नमिल्ने दल भएकोले जतिसुकै झुक्न, जतिसुकै चुक्न र जनताले जतिसुकै थुक्न परेपनि ठूलो कुरा गरेर हसुर्ने काम बाहेक अरु केही गर्न नजान्ने यो दलका नेताहरुपनि गठबन्धन नभए मटियामेट हुनसक्नेमा सचेत देखिएका छन्। कुनैपनि अबस्थामा गठबन्धन र मन्त्री पद कायम राखेर बढ्नपर्ने र जसरी हुन्छ यसैमा अड्नपर्ने यिनीहरुको सोच ज्यादै अग्रगामी छ।

एमसीसीमा अड्को थापेर र सबै दलहरुको औकात नापेर अनि आफैंले दुईदुई पटक बिघटन गरेको संसदको खरानी तापेर गठबन्धन फुटाउने र गठबन्धनको नाममा खाइरहेकाहरुको खानपिन टुटाउने पवित्र उद्देश्यका साथ बुढानिलकण्ठे सभपतिसित मिल्ने अनि खासगरी खुमलटारे र कोटेश्वरेलाई खर्लप्प निल्ने सुबर्ण अवसरको सदुपयोग गर्न फुल्दाफुल्दै उनीहरु नै एमसीसी पास गर्न सहमत भएपछि निकै आत्मबिश्वास देखाएजस्तो गर्दै यिनी हिस्स परे।

आगामी सबै चुनावहरुमा कसैसित नमिलि एक्लै भिड्ने र सबै ठाउँमा जितेर हिँड्ने उद्घोष गरेपनि मिल्दो स्थानहरुमा गठबन्धन गर्न यिनीपनि पछि हट्लान् जस्तो लाग्दैन। ठूला कुरा, उखान टुक्का,चुट्किला, बिभिन्न उदाहरणहरु दिएर र श्रोताहरुको ताली लिएर मात्रै चुनाव जितिन्न भन्ने यिनलाई थाहा नभएको होइन। आफ्नो भाषणबाट मतदाता र उम्मेदवारहरुलाई भड्काउने,मिल्दो ठाउँमा हलो अड्काउने र यही अबस्थामा बहुमत पड्काउने घोषणा गर्दै हिँड्दा गठबन्धनले गाला चड्काउने हुन् कि भन्ने डर यिनलाई नभएको होइन।

आफ्नो क्षमता, औकात र काम गराइलेभन्दापनि भाग्यले घुमिघुमी सरकार प्रधान हुँदै आएका बुढानिलकण्ठे सभापतिलाई गठबन्धन छोडेर र आफूलाई पुर्याउने गठबन्धनवाला अन्नदाताहरुको बिश्वासलाई तोडेर एक्लै चुनावमा जाँदा सोचजस्तो नतिजा आउनेमा यिनलाई धरमर नै भएजस्तो देखिन्छ। त्यसमाथि खुमलटारे कामरेडले सिंहासनमा बसाल्न सक्ने ब्यक्तिले चाह्याे भने त्यहाँबाट खंगारेर खसाल्न पनि सक्छ भन्ने हेक्का राख्न सुझावसहितको धम्की दिइसकेका छन्।

खुमलटारे कामरेडको धम्की घुर्की दम्भ घमण्ड फुर्ति आदि त साबिक अनुसारकै हुन्छ। त्यति नगर्ने हो भने खुमलटारे कामरेडलाई कसैले टेर पुच्छर नलगाउने कुरापनि उनलाई राम्ररी थाहा छ। बुढानिलकण्ठे सभापतिलाई चुनावसम्म गठबन्धन गरेरै अघि बढ्ने बाहेक अरु इच्छा नभएपनि दलका केही प्रभावशाली नेता कार्यकर्ताहरुले कुनै हालतमा चुनावमा गठबन्धन गर्न हुँदैन र त्यसो गर्दा हाम्रो क्षमतालाई कसैले छुँदैन भनेका हुनाले झ्याप्प बोल्न नसकेर मात्रै हो नत्र यिनले सबै चुनावमा गठबन्धन कायम रहन्छ भन्न यति ढिलो गर्ने थिएनन्।

चुनावमा हालको गठबन्धन चालु रहन्छ भनेर अरु गठबन्धनका हस्तीहरुले भनेको भनै गरेर यिनलाई उकास्दापनि जिब्रो चपाउने र आफ्नाबाटै असहयोग हुनसक्ने डरलाई मनबाट धपाउने कोशिशमा लागेका हुनाले कुनैपनि बेला गठबन्धन गर्न यिनी हतारिएको सुन्दा कसैले आश्चर्य मानिराख्न पर्दैन।

यो कुरा यिनलाई र दलमा यिनको बिरोध गर्नेहरुलाईपनि राम्ररी थाहा छ। गठबन्धन नगरी एक्लै चुनावमा जाइन्छ र सबैलाई हराएर एक्लै खाइन्छ भनेर घमण्ड गर्ने अनि त्यसको लागि अघि सर्ने अबस्था अहिले नभएको यिनीहरु सबैले बुझेका छन्। भित्रभित्र एमसीसी जस्ताको तस्तै पास गर्ने सहमति गरेर बाहिर कुनै हालतमा पास गर्न हुँदैन भन्दै कराउने र पास नगरेमा राजनीति नै सकिन्छ भनेर डराउने गरेको देखिएकै हो।

पास गर्न हुँदैन भनिभनि नाटकिय ढँगले खुत्रुक्क पास गराएर सबैको अगाडि लुत्रुक्क परेर हिँड्दापनि फुर्तिफार्ती चाहिँ उस्तै भएजस्तै भित्रभित्र चुनावसम्म गठबन्धन कायम राख्ने सहमति भइरहेको र बाहिरमात्रै गठबन्धन गर्न हुँदैन भन्ने सन्देश गइरहेको हुनसक्ने निकै ठुलो सम्भावना छ भन्नेहरुलाई केहि भन्न सकिने अबस्था छैन। यिनको बोली त्यति नबुझिने हुनाले भनिसकेरपनि सुन्नेले नबुझेको हो कि भन्न सकिने भएपनि यिनले गठबन्धन चुनावसम्म कायम रहन्छ र हामीले जे भनेपनि र जे गरेपनि जनताले मजाले सहन्छ भनिसकेको सबैले भर्खरै थाहा पाए।

यसो हेर्दा एक्लाएक्लै चुनावमा भाग लिने र जनताको अपेक्षालाई मुर्तरुप दिने औकात भएका दल र नेता एउटै देखिँदैनन्। गठबन्धनको नाममा अनेक खालका जालझेल र अनैतिक तालमेल गरेर जसरी हुन्छ सबै तहको सत्ता हत्याउने अनि जनतालेपनि यस्तैलाई पत्याउने अबस्थालाई राजनीतिको अत्यन्त बिकसित रुप मान्न सकिन्छ।

बिचार, सिद्धान्त, क्रियाकलाप, दर्शन, इतिहास, भबिष्य आदि केही नमिलेपनि चुनाव जित्नको लागि मात्रै गठबन्धन गरेको देख्दा दलहरु कति दयनीय अबस्थामा पुगेका रहेछन् भन्नेपनि छर्लँग हुन्छ। एक वा बढी दलहरुसित गठबन्धन नगरेमा वा आफ्नो भन्दा पनि अर्को दलले पत्याउने स्तरको नपरेमा चुनावमा जानै नसकिने अबस्था भएको रहेछ भन्ने जनताले भर्खर बुझ्न थालेका छन्।

यस्तै हो भने सबै उम्मेदवारहरु स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने र त्यसपछि मात्रै सरकारमा गएर पाइने खानपिनको आधारमा मात्रै दलको रुपमा अगाडि बढ्ने ब्यबस्था अबिलम्ब गरेमा अझ राम्रो होला कि जस्तो छ। नत्र राजनीतिमा हुनपर्ने नीति,सिद्धान्त, आदर्श, बिचार आदिलाई सेलाउने, आफ्नो एउटै कमजोरी नदेखि अर्काको एकएक कमजोरीलाई केलाउने, जनताको भावनालाई निकै तल्लो स्तरको ब्यबहारले खेलाउने र कुनै काम गर्न नसकेर गठबन्धनको नाममा सबै मिलेर सबै बिषयलाई जेरी जस्तै जेलाउने गर्दा सबैतिर अलमलमात्रै भएको देखिन्छ।

यस्तै चाला बढ्दै जाने हो भने कतिखेर कसको केके केलाउने र कसलाई कसरी खेलाउने भन्ने थाहा नपाएर नेताहरु नै अलमलिने दिनपनि नआउला भन्न सकिन्न जस्तो पो देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *