तीन दिनदेखि गमगढी अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

डिसी नेपाल
१४ चैत २०७८ १५:५४

मुगु । मुगुमा शनिवारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत उत्पादन बन्द गरिएको हो । पानीनै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले जनाएको छ । जसको मार सदरमुकाम गमगढी बजारलगायत आसपासका बस्तीलाई परेको छ ।

नेपाल बिद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले १९ चैतसम्म विद्युत अवरुद्ध हुने जानकारी दिए । उनका अनुसार यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरण क्षमा चाहन्छ ।

करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना भएको गमगाढ साना जलविद्युत आयोजना पटकपटक बिग्रिन थालेपछि सुधारका लागि मर्मत सुरु भएको हो । स्थानीयले धेरै नै गुनासो गरेपछि मर्मत थालेको प्राधिकरणले जनाएको छ ।

१२ चैतमा विद्युत अवरुद्ध भएयता सरकारी कार्यालयको कामकाज ठप्प जस्तै भएको छ । साथै स्कुल कलेजमा पढ्ने बालबालिका पनि विद्युत अभावको मारमा परेका छन् । उनीहरू टुकी बालेर पढ्न बाध्य छन् ।

वितरण केन्द्रमा रहेको मोटर जल्दा विद्युतमा अनियमितता हुँदै आएको थियो । गमगढीमै मोटर मर्मत गर्न नसक्दा नेपालगञ्ज लैजानु परेको हो ।

सदरमुकाम गमगढी बजारलगायत अन्य बस्तीमा विद्युत सेवा नहुँदा मोबाइल चार्ज गर्न समेत नपाएको छायानाथ रारा नगरपालिका–१० का रामनाथ सेजुवालले बताए । एकातिर अध्यानअध्यापनको लागि पनि सास्ती भएको छ भने अर्कोतर्फ सरकारी तथा गैरसरकारी कार्यालयमा समेत काम ठप्प भएको छ । विद्युत सेवा नहुँदा मैनबत्ती बालेर भए पनि कार्यालय सञ्चाल गरेको आँखा अस्पताल मुगुका कार्यालय प्रमुख ध्रुव बुढ्थापाले बताए ।

विद्युत गृहमा जडित मेसिनहरू पुरानो भएको र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत गृहमा सानोसानो समस्या आए पनि चीनको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान मगाउनु अवस्था छ । यसले पटक पटक समस्या हुने गरेको वितरण केन्द्र प्रमुख पौड्यालले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *