श्रीलंकापछि अर्को देश पनि टाट पल्टियो !

डिसी नेपाल
२३ चैत २०७८ १३:१५
33.8k
Shares

काठमाडौं । लेबनानका उपप्रधानमन्त्री सदेह अल शामीले आफ्नो देशलाई टाट पल्टिएको घोषित गरेका छन् । देशसँगै केन्द्रीय बैंक पनि टाट पल्टिएको शामीले बताए । लेबनानको मुद्रा लेबनानी लिराको मूल्य मा 90 प्रतिशतले गिरावट आएको छ। संयुक्त राष्ट्रसंघले लेबनानको ८२ प्रतिशतभन्दा बढी जनसंख्या गरिब भएको बताएको छ ।

स्थितिबारे बोल्दै शामीले साउदी अरेबियाको च्यानल अल-अरेबियालाई भने ‘नोक्सानीको भर्पाइको जिम्मा देश, केन्द्रीय बैंक बान्के डु लिबान, बैंक र निक्षेपकर्ताहरूको हुनेछ । कसले कति मुआब्जा दिने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन ।’

लेबनानका उपप्रधानमन्त्रीले भने, ‘दुर्भाग्यवश केन्द्रीय बैंक र देश टाट पल्टिएको छ । हामी यसको समाधान खोज्न चाहन्छौं। दशकौंदेखि लागू नीतिका कारण यस्तो भएको हो । यदि हामीले केहि गरेनौं भने ठूलो क्षति हुनेछ।

शमीले आफ्नो कुरा जारी राख्दै भने, ‘यो यस्तो तथ्य हो जसलाई बेवास्ता गर्न सकिँदैन । हामी परिस्थितिलाई पछाडि फर्काउन सक्दैनौं। हामी सबै मानिसहरूलाई बैंकबाट पैसा निकाल्ने व्यवस्था गर्न सक्दैनौं।’

उनले आर्थिक सहयोगका लागि लेबनान अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्पर्कमा रहेको बताए । शमीले भने, ‘हामी आईएमएफसँग वार्ता गरिरहेका छौं । हामी उहाँहरुसँग दिनहुँ कुरा गरिरहेका छौँ र वार्तामा धेरै प्रगति पनि भएको छ ।’

लेबनान दुई वर्षभन्दा बढी समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ। लेबनानको यो संकट आधुनिक युगमा विश्वको सबैभन्दा गम्भीर आर्थिक संकटमध्ये एक हो।

यो संकट अक्टोबर २०१९ मा सुरु भएको थियो । देशको यो दुर्दशामा सत्तारुढ दलभित्र फैलिएको भ्रष्टाचार र कुप्रबन्धनलाई दोष लगाइएको छ । लेबनानी सरकारले देशको बिग्रँदै गएको आर्थिक अवस्थालाई ठीक गर्न कुनै कदम चालेन।

त्यहाँको मुद्रा ९० प्रतिशतले घटेको छ । यो गिरावटका कारण मुलुकमा महंगी ह्वात्तै बढेको छ र जनताले पर्याप्त खाद्यान्न पाएका छैनन् । लेबनानका अधिकांश जनता स्वास्थ्य सुविधा र शिक्षाबाट वञ्चित छन् । इन्धन अभावका कारण मानिसहरु अधिकांश समय अन्धकारमा बस्न बाध्य छन् ।

लेबनान आयातमा निर्भर देश हो। आर्थिक मन्दीका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति पनि खाली भएकाले विदेशबाट वस्तु आयात गर्न सकेको छैन । मुलुकमा बेरोजगारी ४० प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको महामारीले अवस्था झनै नाजुक बनाएको छ । सन् २०२० मा बेरुतको बन्दरगाहमा भएको ठूलो विष्फोटले आर्थिक सङ्कटलाई झनै नराम्रो बनाइदिएको थियो । यस विस्फोटमा २१६ जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । विस्फोटले राजधानी बेरुतलाई हल्लायो र यसको केही भाग पूर्ण रूपमा ध्वस्त भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *