व्यंग्य : च्याँखे दाउ

डिसी नेपाल
२४ चैत २०७८ ७:५३

देशमा भएका सबै दलका शिर्ष भनिने र ठूला हस्तीमा गनिने एकसेएक नेताहरुले आफैं आफ्नो भाउ बढाएर केके न गरौँला जस्तो गरेपनि सधैंभरि च्याँखे दाउ छोप्ने र जे जसरी हुन्छ राष्ट्रिय ढुकुटीमा छुरा रोप्नेभन्दा माथिको सोचाइको बिकास गर्नै नपर्ने रहेछ भन्ने नमुना पेश गरेर जनताको लागि ज्यादै बेश काम गरिरहेका छन्।

देशको संबिधान नियम कानुन आदि भन्ने बस्तुपनि बनाउने र अक्षरस पालना हुन्छ भनेर प्रतिबद्धता जनाउने बाहेक लागू हुनेमा नपर्ने रहेछ। यो भन्दा अगाडि नै बनेको र बनाउनेले बिश्वको सबैभन्दा उत्कृष्ट भनेको संबिधान लागू भएकै समयदेखि संकटमा परेको देख्दा त्यसलाई बनाउने र भत्काउने दुबैथरीले एक दशकपनि उत्कृष्ट संबिधानको मजा लिन पाएनन् अनि त्यस अन्तर्गत बनेको कुनैपनि सरकारले तोकिएको पुरै अबधि कुर्सीमा बसेर खाएनन्।

एकथरि संविधानको दुहाइ दिएर कहिल्यै छोड्न पर्दैन भनेजस्तो गरि कुर्सीमा बस्ने र अर्कोथरि अरुले खाएको देख्न नसकेर उसलाई फाल्न दिल्ली दरबारतिर पस्ने गर्दैमा संविधान छोटै अबधिमा तुहियो अनि यसबाट कसकसको बुद्धि कहिल्यै ठिक नहुने गरि कुहियो भन्ने जनताले थाहै पाएनन्। आफैंले भोट दिएर छानेका र आफ्ना असल प्रतिनिधि भनेर जनताले मानेका अनि यिनीहरुले सारै राम्रो संविधान बनाउँछन् भन्ने ठानेका महानुभावहरुले जनताले सोचेजस्तै संविधान बनाएर जनतालाई बुझाए।

संविधान सभाको दुई अबधि र जनताले गन्नपनि नसक्ने अरबौँ रकम खर्च गरेर तयार भएको संविधान यसपाली चाहिँ बिश्वको उत्कृष्टमात्रै नभएर सबैभन्दा समाबेशी समेत रहेकोपनि जनताले थाहा पाए। अहिलेपनि यो संविधानले सबै रित पुर्याएर देश र जनताको हित बाहेक अरु केही नगर्नेमा जनता बिश्वस्त छन्। जे र जहाँसुकै च्याँखे थापेर भागबण्डाको लागि मरिहत्ते गरेकोपनि जनताकै लागि हो भन्ने जनताले राम्ररी बुझेका हुनाले केही समस्या छैन।

बेलाईतमा लिखित संविधान नभएपनि सबैकुरा ज्यादै राम्रो प्रणालीकासाथ चल्छ भन्ने सुनेर अचम्ममा परेका जनता हाम्रोमा संविधानमा लेखिएको भन्दा नलेखिएको काम निकै अग्रगामी तरिकाले छिटो छरितो र जोडदार किसिमले हुन्छ भनेर अरुलाई सुनाउन पाउँदा त्यसैत्यसैे दँग नपर्ने कुरै आउँदैन।

उसैपनि दक्षिण एसियामा हाम्रो देश सबैभन्दा खुसी देशमा पर्छ र यस्तै अर्काले गरिदिएको सर्बेक्षणबाट हाम्रा सबै समस्याहरु त्यसै टर्छ अनि संविधानकै गुनगानमा नेताहरुले दिने भाषणबाट हाम्रा लागि सजिलैसित सबैथोक हाम्रो पोल्टामै झर्छ भन्नेमापनि हामी बिश्वस्त छौँ।

संविधानमा जे लेखेको छ त्यो गर्नै नमिल्ने र जे लेखेको छैन त्यो चाहिँ छाति ठोकेर गर्न मिल्ने भएपछि यसको आडमा मिलाएर सबैभन्दा बढी निल्ने महानुभाव नै सबैभन्दा उत्कृष्ट ठहरिनु स्वाभाबिक हो। हामी जस्ता असल सुखी र खुसी जनताले यसलाई नचाहिँदो अर्थ लगाएर अर्थ न बर्थको बखेडा निकाल्न हुँदै हुँदैन।

हजार लाख करोड र केही अरबको ठ्याम्मै लोभ नगरिकन कतै सुराक समेत बाँकि नरहने गरेर निकै अरबको सरकारी खुराक खान सक्ने हैसियतमा जनताले पुर्याएपछि त्यस्ताले संविधानलाई जता बटारेर घुमाएपनि जायज मानिँदो रहेछ। बडाले इच्छा अनुसार जे गरेपनि अरुले समस्या खडा गर्न खोज्नु बेकार छ भन्ने त शास्त्रमापनि लेखिएको मात्रै नभएर ब्यबहारमै पनि राम्ररी देखिएको छ।

संविधान कस्तो बन्यो भन्दापनि यसलाई सस्तो तरिकाले आफ्नो फाइदामा भजाउने र यस्को पुस्तकलाई साक्षि राखेर जानेसम्म नगद बजाउने शिर्षहरु भएपछि जनता सुखी र खुसी नभइ सुखै छैन।

यहीनै अहिलेको सबैभन्दा रमाइलो पक्ष भएकोले शिर्षदेखि वरिष्ठ र कनिष्टसम्मका सबैले आआफ्नो गक्ष अनुसारको नगद भक्ष गरेका हुनाले यिनिहरुभन्दा दक्ष नेतृत्व त अरु हुने सवालै आउँदैन। शिर्ष नेताहरुको सिको गरेर उनिहरुको नजिक पुग्न सकेकाहरुपनि च्याँखे दाउ छोप्न ज्यादै निपुण भएपछि जनतालाई दुख नहुने पक्का छ।

एक्लै चुनाव लडेमा कोटेस्श्रे कामरेडको हालत सबैलाई राम्ररी थाहा भएकोले यिनको गठबन्धनमा अझ बिशेष जोड हुनुलाई कसैलेपनि खासै नौलो मानेका र एक्लै यिनले एउटै सिटपनि जित्लान भन्ने ठानेका छैनन्।

ऐन नियम कानुन बनेपछि र यो भन्दा उत्कृष्ट अरु हुनै सक्दैन भनेपछि सानालाई ऐन ठूलालाई चैन भन्ने उखान बनेजस्तो संविधानपनि त्यस्तै हो कि भनेर नचाहिँदो बिषयमा प्रबेश गर्दा कसैलाई केही फाइदा छैन। संविधानलाई मिच्ने, त्यसका दफाहरुलाई मुढेबलले थिच्ने र बिरोध गर्नेलाई अदृश्य शक्तिसमेत लगाएर किच्ने काम सबै शिर्षहरुबाट समय समयमा हुँदै आएको हुनाले कसैलेपनि ठुला कुरा गर्दा जनता हाँसिहाल्छन्।

त्यस हिसाबले मूल्याँकन गर्दा बिदेशीको गोटि नै भएपनि सबै शिर्षहरुलाई उत्कृष्टको कोटीमा राख्दा केही बिग्रने देखिन्न। संविधानलाई जति धेरै र गतिलो तरिकाले मिच्न सक्यो आफूलाई उति नै बलियो र लोकप्रिय शिर्ष नेताको पगरि आफैं भिर्न अनि लाजै नमानि कहिले कोसित कहिले कोसित गठबन्धन गरेर छिर्न सधैं च्याँखे थापिराख्न सक्ने अद्भुत क्षमता भएपछि लाज घिन शरम र जनताको अगाडि मुख देखाउन नसक्ने पो हुन् कि भनेर सोच्ने मुर्खहरुको कुरा सुन्नै हुँदैन भन्न उहाँहरुको अटल सिद्धान्त र बिश्वासबाट जनतालाई अमन भइसकेको भएपनि अझै नमन चाहिँ गरिरहेकै छन्।

धेरै टाढा नजाँदा स्वघोषित अत्यन्त बिकासबादि नेता बालकोटे कामरेडले संविधानमा नलेखेको भएपनि झण्डै दुइ तिहाइबाट अझ बढि सँख्या पुर्याउन च्याँखे थापेर आफ्नै तजबिजमा दुईदुई पल्ट संसद बिघटन गरेर र आफ्नो काम देख्दा आफैं दंग परेर सर्बोच्चका अति योग्य न्यायमूर्तिले हराइदिँदा पनि आफ्नो कदम सही भएकोमा अझै फूर्ति गरिरहेका छन्।

यसलाई संविधानको उल्लंघन ठान्न र सरकार प्रधानलेपनि संविधान अनुसार चल्न पर्छ भनेर मान्न उनि अहिलेपनि तयार छैनन्। यसै सिलसिलामा संसदबाट मात्रै सरकार प्रधान बन्न सक्ने संबैधानिक ब्यबस्था छ रे भन्ने सुनिएकोमा अदालतले परमादेश जारी गरेर नामै तोकेर सरकार प्रधानको नियुक्ति र राष्ट्र प्रधान सरकार प्रधानको समय आदि के कसो छ भन्नेसमेत बिचार गर्न उचित नठानि ज्योतिषीले जसरि सपथ ग्रहणको साइत समेत ठोकेर संबैधानिक दायित्व ज्यादै राम्रोसित पूरा गरेको देख्दा अन्तरराष्ट्रिय जगतमै देशको नाम माथि पुगेको सबैले महसुस गरे।

सरकारमा जान र त्यसको फाइदा खान जनताको नाम लिँदै गठबन्धन गर्ने अनि एकअर्काको कमजोरीलाई सदुपयोग गरेर सरकारी ढुकुटीमा आफूखुसी चर्ने परम लाभदायक सुबिधा प्रयोग गर्ने परिपाटी अन्यत्रपनि देखिन्छ। हाम्रो केन्द्र र प्रदेश सरकारमा बसेर डकार्न र सिधासाधा जनतालाई हकार्न शक्ति नभइ नहुने हुनाले पाइलै पिच्छे च्याँखे थाप्ने कामलाईपनि ज्यादै जायज कार्य मध्यकै एउटा कार्य हो भन्न सकिन्छ।

सर्बोच्च नामको होकि दामको ठूलो अदालतका प्रधान न्यायमूर्ति लगायतका न्यायमूर्तिहरुको साथै विद्वान वकिलहरुको दलीय स्वार्थपूर्ति समेतमा लेनदेन, भागबण्डा, खुवाइपिलाई, खुलेआम न्यायको लिलाम बढाबढमा बिक्री, अदालत भित्रै महिनौँसम्म नारा जुलुस धर्ना जोरजबरजस्ती बहिस्कार बन्द धर्ना तालाबन्दी आदि गरेर न्यायिक इतिहास रच्न सफल भएको कार्यपनि सोह्रै आना संविधान अनुकूल नै रहेको जनताले महसुस गर्न पाए।

सबै दलका लेबल लागेका कार्यकर्ताहरुको नगद प्राप्तिको आधारमा भर्ति गरिएकोले टेबल माथिबाटै हाकाहाकी रकम असुलेर न्याय बेच्ने न्यायमूर्तिहरुले अदालतको नाम राख्न सकेकोमा नियुक्तिकर्ताहरुले संविधान अनुसार नै गर्ब गर्न भ्याएका छन् रे भन्ने सुन्दा खुसी नहुने कोही हुँदैन।

परापूर्ब कालमा राम्रो न्याय सम्पादन गरेर देश बिदेशमा समेत प्रख्यात भएका राजा राम शाहको नाममा सर्बोच्च अगाडिको सडक समर्पित गरेर राम शाह पथ नाम राखेकोमा संविधान सम्मत तरिकाले छेउटुप्पो मिलाएर र नगदको आधारमा न्याय निसाफ दिलाएर त्यहाँका न्यायमूर्तिहरुले सारै राम्रो कदर गर्न सकेकोमा राम शाह को आत्मालेपनि यसलाई सदर गरेर पक्कै शान्ति पाएको हुन पर्छ भन्ने जनताको सोचाइ छ।

त्यहाँ नियुक्ति पाउन र अरुलाई पछारेर शक्तिशालीमा आउन अनि त्यसको लागि च्याँखे थाप्न शक्ति केन्द्र धाउन खप्पिस ब्यक्तिहरुले नै बाजि मारेर र बिचौलिया प्रयोग गरि झगडियाहरुबाट चाहेजति नगद झारेर रजगज गरेका न्यायमूर्तिको कुरै बेग्लै हुन्छ।

सबैतिर संविधानकै राम्रोसित पालना भइरहेकोमा यसै अन्तरगत अहिले सबैभन्दा चर्चित शब्द भनेको गठबन्धन हो। यो गठबन्धन गरेर चुनावमा जाने र जनतालाई कुनै किसिमको गिन्तीमा नराखी सबैतिर भागबण्डा वा बाँडचुँड गरेर खाने सारै राम्रो तरिकाको ब्यबस्था संविधानमा छ जस्तो नलागेपनि उहाँहरुले घोषणा गरिदिएपछि संविधानमा छ वा छैन भन्ने बिषयले खासै महत्व राख्दैन।

मुखैमा संविधान र मुखैमा एैन कानुन भएका र सारै उन्नती प्रगतिको बाटोतिर लम्किँदै गएका शिर्षहरुले गठबन्धन भनेपछि त्यो जाबो संविधानको खोस्टो पल्टाउने अनि सबै समस्याहरुलाई नियम सम्मत ढंगले सल्टाउने कुकर्म त गर्नै हुँदैन भन्ने उहाँहरुको सिद्धान्तलाई जनताको अपार समर्थन छ रे भन्ने खबरबाट उहाँहरु खुसी हुनुहुन्छ रे भन्ने सुनिन्छ। यो त धेरै नै राम्रो कुरा हो।

उहाँहरु सबैजना एक्लाएक्लै चुनाव लडेर पुरै बहुमत ल्याउन र बिरोधीलाई उठ्नै नसक्ने गरी भ्याउन पूर्ण रुपमा सक्षम भएपनि यसपालीलाई माथि देखि तलसम्म नै देश र जनताको भलाइको लागि मात्रै गठबन्धन गरेर अगाडि बढि दिउँन त भनेर यसरी गठबन्धनको लागि तयार भइदिनु भएको रहेछ भन्ने उहाँहरुबाटै जानकारी पाउँदा र उहाँहरुको मनमा पनि देश र जनताप्रति दया जागेर आउँदा जनता हर्षले गदगद नहुने कुरै भएन।

त्यसैले यो गठबन्धन नामक च्याँखे थाप्ने सुकार्य शिर्षहरुले आफ्नो स्वार्थको लागि गरेका र एक्लै चुनावमा जाँदा सबैतिर जमानत जफत हुन्छ कि भनेर गठबन्धनको लागि अघि सरेका भनेर बिरोधीहरुले गर्ने कुप्रचारमा जनताले पटक्कै बिश्वास नगरेर त्यस्तो सोचाइलाई दिमागबाट चटक्कै मिल्काउन पर्छ।

अहिलेको चुनावमा गठबन्धन नगर्ने र यहीतरिकाले अघि नसर्ने हो भने संविधान मुताबिक शिर्षहरुको केहीपनि नटर्ने अबस्था छ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। संविधानको अक्षरस पालना गर्छौँ भनेर नथाक्ने र ठूलो सरकारी बजेट आफ्नो खल्तिमा नजाक्ने शिर्ष भनाैंदाहरुको औकात अनुसार गठबन्धन नै एउटा सबैभन्दा राम्रो चुनावको उपाय हो।

स्वघोषित महान नेतासमेत भनेर प्रख्यात खुमलटारे कामरेडलाई अहिलेको लागि छोरीलाई मेयरमा जिताउन गठबन्धन नभइ नहुने र संसदीय चुनावमा आफूलाई त्यहीँबाट जिताउन त्यही गठबन्धनको निरन्तरता नभइ नहुने र त्यो नभएमा दुबैमा कुनै हालतमा जितले छुँदै नछुने अबस्था भएकोले गठबन्धनमा उनको बिशेष जोड भएको हो भन्ने बिरोधीहरुका कुरा कसैलेपनि पत्याउन हुँदैन।

छोरी बुहारीलाई चुनाव जिताउन, यस्तैयस्तै च्याँखे दाउ खेलेर अर्को पाँच बर्ष बिताउन र देशमा जे जति ठूलाबडा भए सबै मैले नै दया गरेर बनाइदिएको हो भन्ने चिताउन उनलाई कसैले सक्दैन रे भनेकोपनि जनताले पत्याएका छैनन्।

खुमलटारे कामरेडलाई अहिलेको लागि छोरीलाई मेयरमा जिताउन गठबन्धन नभइ नहुने र संसदीय चुनावमा आफूलाई त्यहीँबाट जिताउन त्यही गठबन्धनको निरन्तरता नभइ नहुने र त्यो नभएमा दुबैमा कुनै हालतमा जितले छुँदै नछुने अबस्था भएकोले गठबन्धनमा उनको बिशेष जोड भएको हो भन्ने बिरोधीहरुका कुरा कसैलेपनि पत्याउन हुँदैन।छोरी बुहारीलाई चुनाव जिताउन, यस्तैयस्तै च्याँखे दाउ खेलेर अर्को पाँच बर्ष बिताउन र देशमा जे जति ठूलाबडा भए सबै मैले नै दया गरेर बनाइदिएको हो भन्ने चिताउन उनलाई कसैले सक्दैन रे भनेकोपनि जनताले पत्याएका छैनन्।

हिजो अस्तिसम्म आफैंले आफैंलाई महान नेताको पगरी भिराएर र आफ्नो कुटिल स्वार्थको लागि सोझा जनताबाट सर्बस्व तिराएर अनि भेटेजति रकम आफ्नो ढुकुटीमा छिराएर मोजमस्ती गर्दै आएका यिनलाई आफू एउटा दलकोमात्रै नभएर देशकै अध्यक्ष हुँ जस्तो लाग्न थालेको छ रे भनेर आफैं भन्दै हिँडेका छन्।

लौ न गठबन्धन गरौँ भन्दै अपहत्ते देखाएर अरु दलको फेरो समातेर नहिँडे जनताले छोरी बुहारीसहित आफैंलाईपनि भोट नदिएर डाँडो कटाउने र राजनीतिको मूलधारबाट सधैंको लागि हटाउने निश्चित देखेपछि यतिसम्म गर्नुलाई खासै नौलो र अचम्म मान्न पर्दैन। स्वघोषित महान नेताबाट स्वघोषित देशकै अध्यक्ष भन्ने पगरि आफैं भिर्नुपनि एउटा च्याँखे दाउ नै होला।

बालकोटे कामरेडलाई पनि समस्या नै छ। पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने भएकोले आफू ओछ्यानमा लडिएला भनेर आफू एक्लै लडेर सबैलाई पछार्ने र पहिलेको भन्दापनि बढि सिट जितेर केके न लछार्ने उद्घोष दिनदिनै गरेर जनताको अगाडि आत्मबिश्वास चाहिँ देखाइरहेका छन्।

योपनि उनको मतदाता भुलाउने र के गरौँ कसो गरौँ भन्दै मन डुलाउने अनि मेरो दलले त मतदाताको सँख्याभन्दापनि बढि भोट ल्याउँछ भनेर नाक फुलाउने गरेर गठबन्धनवालालाई थर्काइरहनु र जनादेश र परमादेशको मुद्दालाई चर्काइरहनुपनि एक किसिमको च्याँखे दाउ नै हो।

एक्लै चुनाव लडेमा कोटेस्श्रे कामरेडको हालत सबैलाई राम्ररी थाहा भएकोले यिनको गठबन्धनमा अझ बिशेष जोड हुनुलाई कसैलेपनि खासै नौलो मानेका र एक्लै यिनले एउटै सिटपनि जित्लान भन्ने ठानेका छैनन्।

तैपनि हामी एक्लै चुनाव लडेर सबैलाई जितेर देखाइदिन सक्छौँ तर देश र जनताको लागि मात्रै बाध्य भएर गठबन्धन गर्न परेको हुनाले यो स्तरमा झरेको भन्ने सफाइ दिँदै हिँडेको देख्दा यिनको च्याँखे दाउ सहि हो भन्ने सबैलाई लागेको छ।

आफूले झण्डै तिन दशक प्रमुख तहहरुमै बिताएको दलमा टिक्न नसक्ने र राजनैतिक बजारमा एक्लै बिक्न नसक्ने स्वघोषित अति नैतिक नेताले गठबन्धन अहिले देशको अनिबार्य आबश्यकता हो भनेर ज्यानै फालेर चिच्याएपछि जनतालाई पनि साँच्चिकै हो क्यारे भन्ने लागिसकेको र उनलाई भोट हाल्न सबैजना तँछाड मँछाड गरेर जागिसकेको देखिन्छ।

आफ्नो दलका प्रभावशाली नेताहरु र कार्यकर्ताहरुले गठबन्धनको बिरोध गर्दागर्दैपनि बुढानिलकण्ठे सभापतिलाई गठबन्धन नगरी हुँदै भएको छैन। पहिलेभन्दा केही सिट बढि ल्याउने र पाइला पाइलामा धोका दिने गठबन्धनका अति इमानदार नेताहरुसित मिलेर यसैगरि सत्तासुख भ्याउने ज्यादै परोपकारी काम गर्न पाइन्छ भन्ने यिनको सोचाइ ज्यादै उचित छ।

अहिलेको गठबन्धनलाई सँसदको चुनावसम्म कायम राखेर आफ्नो र श्रीमतीको समेत जित निश्चित गर्न पाए गठबन्धनले अरु जेसुकै गरोस् वा कोहि रिसले भुतुक्क भएर मरोस् यिनलाई केही मतलब छैन। यसो हेर्दा यिनको च्याँखे दाउपनि यतिमै सिमित छ रे भन्ने बिरोधीहरुको कुरा कसैले पत्याएका छैनन्।

यीआफूलाई ठूला, पुराना, बलिया, प्रशस्त जनाधार भएका, अति लोकप्रिय आदि भनिएका र आफैंद्वारा गतिलोमा गनिएका दलहरुलाई जनताको लागि कुनै माखो नमारिकन पुरानै तरिकाले राजनीतिमा टिक्न, सिट बढाउने नाममा अनेक किसिमका नयाँनयाँ तरिका झिक्न र जनताको लागि कामै नलाग्ने माल भएपनि राम्रो भाउमा बिक्न अनेक खालका च्याँखे दाउ लगाउने अनि यसैमार्फत चुनाव हारिन्छ भन्ने डरलाई मनबाट भगाउने प्रयास भइरहेको छ। जनताको लागि राम्रो काम गरेर अगाडि आउने काम गरेमा त्यसै मत पाउने चेत नभएपछि च्याँखे दाउकै भर नपरे बढारिने डर कसरी लुकाउने?

ठूला र आफूलाई मैँ हुँ भन्ने दल र नेताहरुकोे त गठबन्धन नगरी हलचल नै गर्न नसक्ने यस्तो दयनीय अबस्था छ भने क्षेत्रीय प्रादेशिक र झिनामसिना दलहरुको भित्रभित्र कति पसिना चुहिएको होला भनेर कल्पना मात्र गर्न सकिन्छ।

यस्तो सकसमा परेका शिर्ष लगायतका नेताहरुलाई समस्याबाट उतार्नको लागि शिर्ष भनिने नेता र उनीहरुका एकाघरका र नजिकका नातेदारहरुलाई चुनावै नलडिकन जहाँको जुन पद रोज्यो त्यहीँकोे त्यहीपद टिके प्रथाबाट बक्सिसमा दिने संविधानमै ब्यबस्था नगरे केही बर्षपछि यि परजिविहरु लुप्त हुनसक्ने हुनाले बेलैमा बुद्धि पुर्याउन ज्यादै जरुरी भएको जनतालाई लागेको र अहिलेसम्म आफ्नो लागि केही नगरेपनि जनताले नेताहरुको सुखसुबिधा अझ बढाउन मागेको देखिन्छ।

जसले जेसुकै भनेपनि र जेजस्तो स्तरमा गनेपनि शिर्ष लगायतका नेताहरुले देश र जनताको लागि काम गरेर जनता रिझाएर चुनावमा मत माग्नु,अब त भएन भनेर जनताको भलाईमा लाग्नु,आफ्नो वास्तबिक स्तर बुझेर बेलैमा जाग्नु र छलछाम जालझेलमात्रै गरेर जनताबाट टाढा भाग्नु गरेर लाज शरम घिन जस्ता बस्तुहरुलाई त्यत्तिकै पचाउनु भन्दा खाली च्याँखे दाउबाट मात्रै सिट बचाउनु ज्यादै राम्रो काममा परेको जनताले बुझेका छन्।

जे भएपनि अहिले सबैतिर च्याँखे दाउ बाहेक अरु कुनै कुरा नदेख्दा जनतालेपनि भोटको लागि नगद सबैसित लिने र सबैले खुवाएको रक्सी मासु भात खाइदिएर भोट चाहिँ अर्कैलाई दिने खालको च्याँखे दाउ थाप्लान् भनेजस्तोपनि देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *