जर्मनीका वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप

डिसी नेपाल
२४ चैत २०७८ १२:३६
180
Shares

वर्लिन। जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन्। खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ।

नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए। खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए।

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेका थिए। फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए।

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन। खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे। खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाइ खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *