जुम्लामा निर्वाचनमा तालमेलमा गर्ने सहमतिकाे भाेलिपल्टै असन्तुष्टि

डिसी नेपाल
२८ चैत २०७८ १७:०७

जुम्ला । स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरूबीच तालमेल गर्ने विषयमा नेपाली कांग्रेस जुम्लाकाे एकमत हुन सकेकाे छैन । कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाही संयोजकत्वमा रहेको कार्यदलले स्थानीय तहमा तालमेल गरेर जाने सहमति भएकाे एक दिन बित्न नपाउँदै कांग्रेसभित्रैबाट असन्तुष्टिसहितकाे विज्ञप्ति आएको हो ।

तालमेलको अर्थ नहुने भन्दै सभापति शाहीको एकाधिकार नमान्ने विज्ञप्तीमा उल्लेख छ । उनीहरूले कांग्रेस सभापतिको संयोजकत्वमा बसेको कार्यदलको बैठकले तालमेल गर्न गरेको निर्णयको औचित्य नरहेको जनाएका छन् ।

असन्तुष्ट पक्षाले कांग्रेसको केन्द्रीय कार्य समितिको निर्देशनले स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्न सकिने भनिए पनि सभापतिले आन्तरिक छलफलनै नगरी एकल निर्णय गरेर अघि बढेकाे आराेप छ ।

विज्ञप्तिमा भनिएको छ–जिल्लाका ६० वडा सभापति, आठ पालिका सभापति, दुई वटा क्षेत्रीय सभापति, जिल्ला कार्य समितिका सात वटा पदाधिकारीसहित ७७ जनाले गठबन्धन नगर्ने राय दिएर सर्वसम्मत निर्णय भइसकेको छ । निर्णयको मर्म र भावना विपरित सभापति शाहीले पार्टीभित्र आन्तरिक छलफल नगरी एकल रुपमा गठबन्धन दलहरूसँग बैठक गरेर तालमेल गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्तिसहित असहमति छ ।’ विज्ञप्तिमा उपसभापति कार्मा बुढा, दिपक शाही, सचिव लक्ष्मण शाही, अर्जुनसिंह कठायत, सहसचिव नन्दप्रसाद चौलागाईं, धनेन्द्र बोहोरा, क्षेत्रीय सभापति लछिमान बोहोरा र कालीबहादुर बुढाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *