राष्ट्र बैंकले कडाइ गरेपछि नेपाली बजारमा सुनको ‘हाहाकार’

रेखा श्रेष्ठ
२९ चैत २०७८ ७:०८

काठमाडौँ। नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो मतहतका बैंकलाई आवश्यक बाहेकका बिलाशिताका बस्तु आयात गर्न रोक्न निर्देशन दिएसँगै बैंकहरुले सुन आयात शुन्य भएको हो।

बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर )को संचिति कम हुँदै गएको भन्दै आवश्यक समान मात्र आयात गर्नु र गाडीदेखि लिएर सुनसम्मका बिलासिताका वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्द लगाएको थियो।

नेपाल राष्ट्र बैंकले यसअघि पनि समयसमयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्दै लागेको थियो। यसअघि राष्ट्र बैंकले आफ्नो मतहतका बैंकलाई निर्देशन दिँदै २० किलो सुन आयातलाई घटाउन्दै १० किलो सुन मात्र आयात गर्न निर्देशन दिएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुन आयात रोकिएको हुनाले बजारमा हाहाकार हुने बताएका छन्। उनले भने, ‘बजारमा सुन आवश्यक छ। लगनको बेला छ। लगनको बेलामा सुन आयात नभएमा बजारमा हाहाकार हुन्छ।’

अहिले नेपालमा केही समयको लागि पुग्ने सुन स्टक रहेको छ। उक्त स्टक सकिएपछि व्यवसाय धान्न गार्हो हुने उनले बताए। उनले भने, ‘स्टकमा रहेको सुनले बजार केही दिन थेग्न सक्छ। तर लामो समय सुन आयात नभए बजार धन्न गाह्रो हुन्छ। ’

यस्तै गरि लामो समयसम्म सुन आयात नभएको खण्डमा सुनको अभाव हुनुका साथसाथै त्यसको डिमाण्ड बढेसँगै मूल्य पनि बढ्न सक्ने उनको भनाइ छ ।

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंकबहादुर बराईलीका अनुसार राष्ट्र बैंकले सुनचाँदीलाई पनि विलाशी बस्तु भनेर आयातमा रोक लगाएका हुनाले सुनचाँदी व्यवसायीहरु हतोउत्साहित भएको बताए। अहिले बिबाहको समयमा सुन आयात नहुँदा सबै सुन व्यवसायीहरु मर्माहत भएको अवस्था हो। राज्यले अन्य बस्तु जस्तै चुरोट, विदेशी मदिरा, जस्ता वस्तुहरु आयातमा पूर्ण रोक लगाई सुन आयातमा केही सहज गरिदिनु पर्ने आशा रहेको उनले बताए।

सुन वर्षौंदेखि आयात भइरहेको थियो। र, बजारमा भएको सुन पनि रिसाइकल भइरहेको छ। यसले गर्दा पनि केही समय बजार धान्ने भएकोले अहिले नै व्यापार बन्द हुने अवस्था नभएको उनले बताए। तर, पछिल्लो २ बर्ष कोरोनाले गर्दा रोकिएको बिहे गर्ने कार्य धेरै भएको र यो नयाँ वर्ष (बैशाख, जेष्ठ र असार) मा बिहेको लगन पनि धेरै भएको हुनाले सुनको माग अत्याधिक हुने देखिन्छ र त्यो माग अनुसार सुन परिपूर्ति गर्न नसक्ने अवस्था देखिएको उनले बताए।

सुनको भाउ निर्धारण अन्तरर्राष्ट्रिय बजार र नेपालमा डलरको भाउको हिसाबले गर्ने हो। भाउ निर्धारण समितिले पनि सोही अनुरुप सुनको मूल्य निर्धारण गर्ने काम गर्छ।

२०६८ साल अगाडि सुन आयात खुल्ला थियो। त्यस बेला अस्वभाबिक हिसावले सुन आयात भएको हुनाले राज्यमा रहेको बिदेशी मुद्राले धान्न नसक्ने अवस्था सृजना भएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले कोटा निर्धारण गरेको थियो।

सुरुमा राष्ट्र बैंकले सिजनमा प्रति दिन ४० किलो र अफ सिजनमा २०-२५ किलोको दरले सुन आयात गर्न अनुमति दिएको थियो। त्यसपछि राष्ट्र बैंकले फेरि बिचमा राज्यको ढुकुटीमा डलरको संचितिको अभाव देखाउँदै ४० किलोबाट पनि घटाएर ३० किलो, २० किलो हुँदै १० किलोमा झारेको थियो। तर अहिले राष्ट्र बैंकले सुनको आयात शून्यमा झरेको छ।

‘पहिले सुन तोलाको ५–१० हजार रुपैयाँ थियो। अहिले १ लाख रुपैयाँ पुगेको छ। सुनमा लगानी गर्दा लगानी गरेको मूल्य खेर जाँदैन,’ उनले भने। सुनचाँदीको क्षेत्र सुरक्षित लगानीको क्षेत्र भएको कारणले यस क्षेत्रमा राज्यले प्रहार नगरी यसको बिकासमा कार्य गर्नु पर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकमा डलर संचितिको कमि के–के कारणले भइरहेको छ भन्ने कुरामा महासंगले आफ्नो ढंगले बिश्लेषण गरिरहेको छ। र देश भरि फैलिएको सुन व्यवसायीहरुसंग विभिन्न सुझाव संकलन गर्ने काम भइरहेको उनले बताए।

अहिले सुन आयात पूर्ण रुपले रोकिएको छ। त्यही भएर बजारमा कच्चा पदार्थको अभावको जुन अवस्था छ त्यसलाई कसरी हाल गर्ने भन्ने कुरा हामीले सुनचाँदी ब्यबसायी महासंघ, सुनचाँदी आभूषण महासंघ र हस्तकला ब्यबसायी महासंघसँग सयुक्त बैठक गरेर निस्कर्ष निकाल्ने योजना रहेको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *