म्याग्दीको गुर्जामा सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित

डिसी नेपाल
१६ वैशाख २०७९ २३:५६

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले आज फिर्ता गरेपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चारजना नेकपा माओवादी केन्द्र र एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सोही पार्टीकै दलित महिला सदस्यमा सतमाया विक र महिला सदस्य सीता छन्त्याल निर्विरोध भएका हुन् ।

यसैगरी माओवादी केन्द्रकै चुनाव चिह्नबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भवीन्द्र छन्त्याल, वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका अमृता छन्त्याल र स्वतन्त्र उम्मेदवार तारामान विकले मनोनयन फिर्ता गरेका हुन् ।

झक र सीता यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि निर्वाचित भएका थिए । धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार बनाएका छन् । गुर्जाको वडाध्यक्ष माओवादीको भागमा परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *