व्यंग्य : भोट खसालौं, थला बसालौं – Dcnepal

व्यंग्य : भोट खसालौं, थला बसालौं

अहिले सहर, बजार,गाउँ घर, टोल, चौतारो, चिया पसल आदि सबैमा राजनीतिक फसल रोप्न र भोटको लागि प्रचार प्रसारको मौका छोप्न उम्मेदवारहरूको दौडादौड छ।

निर्वाचनभन्दा केहि दिन अगाडिबाट घरदैलो कार्यक्रम राखेर मिलेसम्म डल्लो पर्दै मतदातालाइ ढोग्ने र जितेपछि मतदातालाइ चटक्क बिर्सेर पाँच बर्ष कमाइ धमाइ सहितको मोज मस्ति भोग्ने महान उद्देश्यकासाथ जनतालाइ फेरि एकपटक म,र्ख बनाउन लागि परेका छन् ।

घरदैलोमा जानेहरु सबैजना आफैं राम्रो, आफैं असल, आफैं नैतिकवान, आफैं चरित्रवान, आफैं विकास प्रेमी, आफैं न्याय प्रेमी, आफैं जनताको भलो चिताउने, आफैं जनताको आर्थिक उन्नतिको लागि मरि मेटेको, अहिलेसम्म भए गरेका राम्रा काम जति सबै आफैंले गरेको, भविष्यमा पनि यस्ता कामहरू आफूले मात्रै गर्न सक्ने आदि आदि भएकाले आफूलाई भोट र विपक्षीहरूलाई चोट दिन जनता सित जोडजोडले भनिरहेका छन्।

पार्टीबाट टिकट पाएर उठेका उम्मेदवार, टिकट नपाएर आफ्नै पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उठेका बागी उम्मेदवार, स्वतन्त्र उम्मेदवार, भोट काट्नको लागि खडा भएका वा खडा गरिएका कराैंती उम्मेदवार, पर्यटक उम्मेदवार, असली उम्मेदवारबाट पैसा झार्न र ठूलै नगद खल्तीमा पार्न खडा भएका च्याँखे उम्मेदवार, मोटो रकम चन्दा वा सहयोगको नाममा पार्टीमा बुझाएका पैसावाला उम्मेदवार, जसले टिकट दिन्छ त्यतैबाट उठ्ने डुलुवा उम्मेदवार, पार्टी बदल्दै र फाइदा उठाउँदै आएका तिहुन चखुवा उम्मेदवार, प्रत्येक निर्वाचनमा दल फेरिफेरि चुनाव लड्ने डरछेरुवा उम्मेदवार आदि आदिले अहिले सबै ठाउँमा रमाइलो वातावरण छ।

कोही निष्ठाको राजनीति गर्ने, कोही पेसाको राजनीति गर्ने, कोही व्यापारको रूपमा राजनीति गर्ने, कोही शौखको लागि राजनीति गर्ने, कोही कमाउन राजनीति गर्ने, कोही राजनैतिक आडमा अन्य व्यवसाय गर्नको लागि राजनीति गर्ने, कोही विभिन्न मुद्दा मामिलादेखि लिएर अपराधको सजायँबाट जोगिनको लागि राजनीति गर्ने देखि लिएर सबै कोटीका मान्छेहरू उम्मेदवारमा पर्ने हुनाले जनताको सबै पीरमर्का चुनाव जितेपछि यिनैले हर्ने र भविष्यमा जनताको सेवा गरेर मर्ने अठोट सबै उम्मेदवारहरूले जनाई रहेका छन् ।

जहाँ जस्तो उम्मेदवारले टिकट पाएपनि र जनताको लागि ज्यान नै अर्पिने कसम खाएपनि माथिल्ला वा शिर्ष नेताहरुका एकाघरका उम्मेदवार उठेको ठाउँमा अरु कसैले पनि जित्न निषेध गरिएको कार्य एकदमै प्रजातान्त्रिक र लोकतान्त्रिक प्रयोग हो।

भरतप, रमा स्वघोषित महान नेताको अतियोग्य छोरी उठेपछि देशकै सबैभन्दा जेठो प्रजातान्त्रिक दलका सबै नेता कार्यकर्तालाइ आफ्नो मन र मष्तिष्कमा भएको रुखलाइ काटेर र हँसिया हथौडासित बिचार र सिद्धान्त साटेर छोरीलाइ नजिताए देश भयँकर द,र्घटनामा जाने निश्चित भएको उनै स्वघोषित महान नेताले बताएपछि र त्यहि किसिमले माहौल तताएपछि सबैले थाहा पाए।

गठबन्धन सरकारको प्रधानसमेत रहेका अति प्रजातान्त्रिक दलका सभापतिलेपनि आफ्नो सरकार बचाउन र गठबन्धनबाट भइरहेको लाभ पचाउन रुखलाइ ढलाउन र हँसिया हथौथा मार्फत भाग्य फलाउन आदेशात्मक निर्देशन दिए अनि यति गरेपछि लामो समयसम्म सरकारमा टिक्ने र रुख चाहिँ कौडिको भाउमा बिक्ने निश्चित गरे।

धेरै जसो मतदाताहरूले उम्मेदवारको बिगत कोट्याउनु भन्दा बढी गफ दिने नेतालाई भोट हालेर आफ्नो काम छोट्याउनुलाई बुद्धिमानी ठान्छन्, त्यसैलाई सही बाटो भएको मान्छन् र त्यस्ता भोटरहरू गलत नेताको पछि पछि जान्छन् अनि त्यस्ता जनतालाई निर्वाचन सकिएपछि नेताले लात हान्छन्।

निर्वाचनमा कसैलाइपनि डर त्रास धम्कि प्रलोभन आदि देखाएर मतदान गराउन पाइँदैन भन्ने नियम गठबन्धनवाला शिर्षहरुलाइ नलाग्ने र यिनिहरु स्वार्थभन्दा अरु केहि कामको लागि नजाग्ने पक्का रहेछ भन्ने सबैको ठहर भएको पाइयो। यसरी नै नेताहरुका छोरी ब,हारी श्रीमती छोरा गर्लफ्रेन्ड  अन्य नातेदारहरु उम्मेदवार भएको ठाउँ बाहेक अन्यत्र नेताहरुको त्यति ध्यान भएको कसैलाइपनि ज्ञान छैन।

यस्ता उम्मेदवारहरुले हारेमा गणतन्त्र लोकतन्त्र प्रजातन्त्र सँबिधान र अन्य सबै उपलब्धिहरुले नै हार्ने र प्रतिगामिहरुले तर् मार्ने ह,नाले उनिहरुलाइ नजिताए स्थानिय जनताले भबिष्यमा नराम्रो द,ख पाउने र उनिहरु मथि द,र्घटना आउने जानकारी अत्यन्त प्रजातान्त्रिक शिर्ष नेताहरुबाटै पाएर जनता ज्यादै आनन्दित भएका छन् ।

अस्तिसम्म जनताको नाममा मस्ति गर्दै हिंडेका नेताहरूले अहिले भोट माग्नको लागि मात्रै भए पनि जनताको घरदैलोमा पैदल गस्ती गरिरहेको देख्दा समयले मानिसलाई ठाउँठाउँमा पुर्‍याउने रहेछ भन्ने भनाइलाई सही भन्न सकिन्छ ।

अघिल्लो चुनाव सकिएपछि माला लगाएर फर्केका नेता त्यसपछि अहिले मात्रै फेरि माला लगाएर आफ्नो निर्वाचन क्षेत्रमा फर्केका हुनाले अलि अलि जनताहरू उनीहरूसित तर्केका पनि छन्।

उम्मेदवारका मिठा र चिप्ला कुरा, जसलाई जे चाहिन्छ त्यही पुर्‍याई दिने आस्वासन, आफू बाहेक अरूले केही गर्न नसक्ने उद्घोष, विगतमा आफूले धेरै कुरा गर्न खोज्दा खोज्दै पनि परिस्थिति र विपक्षीहरूले साथ नदिएता पनि यसपालि सबैलाई माथ गरेर जितेपछि सबैको आसा पूरा गर्ने वाचा, घरघरमा गएर हातहातमा बृद्ध भत्ता उपलब्ध गराउने बाचा,शिक्षा मफती,स्वास्थ्य मफती,गोप्य रूपमा माछा, मासु र रक्सि समेतको भोज, मतदाताको गच्छे अनुसार गोप्य रूपमा नगद प्रदान र आफूलाई मत दिएमा सबैलाई रोजगारी र जागिर समेतको मौखिक ग्यारेन्टी दिएपछि मतदाताले पुराना दिन बिर्सिहाल्छन्।

त्यति गरिसकेपछि को नेता, को ठेकेदार, को डन, को घुस्याहा, को सक्कली, को नक्कली आदिको कसैले पनि हेक्का नराख्ने भएर नै जिताउने ठेक्का लिएकाहरूसित आ–आफ्नो उम्मेदवारहरूको प्रचार प्रसारमा लागि परेका छन्। नुनको सोझो चिताउने, आफ्ना पक्षका उम्मेदवारलाई जिताउने र अर्को पक्षकालाई बिताउने ध्याउन्नमा सबैजना लागि परेका छन्।

कोहीले मतदातालाई गर्मि मौसम नै भएपनि सिरक बाँडे, कोहीले राँगा, बोका, खसी, कुखुरा र रक्सि बाँडे, कोहीले जनताको खेत खेतमै खेती गोडमेल र खनखान गरिदिए, कसैले गाईंभैंसीको लागि घाँस काटिदिए, कसैले दूध दुहुन मदत गरे र यति गरेपछि जित्ने पक्का भएकोमा भर परे। आफ्नैपनि खेतमै अहिलेसम्म नटेकेका, गाईंभैंसीको गोठमा अहिलेसम्म नटेकेका नेताहरूले यसरी सघाएको देखेर मतदाताहरू मतदान गर्नु अघि नै उम्मेदवारसँग अघाएको कुरा पनि सुनियो।

यो त सबै देखासिकीको विषय हो । फलानो उम्मेदवारले यसो गर्‍यो र जनतालाई त्यो मन प¥यो भन्ने हल्ला भएपछि अर्कोले पनि गर्नै पर्‍यो। जनताका लागि आवश्यक परेको समयमा उनीहरूको साथमा आउनु, जनतालाई सहयोग गर्न पाउनु र जनताकै सेवामा धाउनु साह्रै राम्रो कुरा हो।

बेलामा मलजल हालेर बाली नसपारे विरोधीहरूले जालि कुरा गरेर आफ्नो भविष्यलाई नालिमा पु¥याउन बेर नमान्ने हुनाले जहाँ जे गर्दा जनताको हित हुन्छ त्यही काम गरेर जनताको ताली पाउने प्रयास गर्नु राम्रै हो । खासै जनताको भलो गर्न सक्ने भिजन नभएपछि सिजन अनुसारको खेतीपातीमा सघाएर जाति देखिंदै छाती फुलाएर हिँड्नै पर्‍यो। मतदाता पनि खुसी र उम्मेदवार पनि खुसी ।

म तपाइँकै निर्वाचन क्षेत्रको जनता हुँ भनेर पटकपटक नमस्कार सहित बिन्ती गर्दा खासै जनताको गिन्तीमा नपर्ने मान्छेहरू र तिनका परिवारका सदस्य, माइती, मावलीतिरका नातेदार, अलि परका नातेदार, टाढाटाढासम्मका इष्टमित्र, छिमेकी, साथीभाइ, चिनेजानेका मान्छेहरू सम्मलाई पनि उम्मेदवार र उनीहरूका नजिकका कार्यकर्ताहरूले खोजी खोजी र रोजीरोजी छिनछिनमा नमस्कार गरेर मतदाताको कसरी इज्जत गर्नुपर्छ र समय क्रममा सबैले आ-आफ्नो औकातमा झर्नु पर्छ भन्ने नमुना देखाएका छन्।

पहिले पहिले राजा महाराजाहरूसँग अरूले बोल्दा बोलीपिच्छे हात जोडेर र झुकेर आफ्नो भनाई राख्ने गरेको देखिन्थ्यो । अहिले त्यस्तै प्रकारले उम्मेदवारले मतदातासित व्यवहार गरेको देख्दा निम्न आर्थिक अवस्थाका मतदाताले पनि आफूलाई पहिलेका राजा महाराजा सरह ठानेर, आफूलाई त्यस्तै खालको जानेर र आफ्नो भोटको महŒवलाई सर्बोपरि मानेर मतदान गर्नुपर्छ भन्ने पनि उम्मेदवारको व्यवहारले सिकाइरहेको छ।

उम्मेदवारहरूको नमस्कार र मान सम्मानले फूल्नु र चुनाव सकिएपछि नेताले केही गरेनन् भनेर कुरा काट्दै डुल्नु भन्दा अहिलेनै बुद्धि पु¥याएर मतदान गर्नु पर्छ भन्ने कुरा दिमागमा हुल्नु नै बुद्धिमानी ठहर्छ । नत्र त घटिमा तीन चार पुस्ताले आफ्नो अमूल्य भोट दिइसके र समय समयमा नेताहरूले त्यो भोट लिइसके तर जनताको स्तर भने सँधै उस्तै छ ।

आफूलाई भोट दान गर्लान् भनेर चुनावको दिनसम्मको लागि गरिएको मानबाट प्रभावित भएर जनताले दुई दिन शान देखाए पनि त्यही भोटबाट नेताले पाँच वर्ष देशको ढुकुटीमा हात छिराएर खानपान गर्न सक्छ । दया गरेर दिनेको अवस्था खस्कंदै जाने हात थापेर मागेर लिनेको आर्थिक अवस्था सुध्रींदै जाने काम यही मतदानमा मात्रै हुने रहेछ ।

निर्वाचनमा नेताहरूले वाचन गरेका वाणीहरू पाचन हुन गाह्रो पर्ने भए पनि पार्टी र शीर्ष नेताहरूलाई चाहे जति आर्थिक सहयोग गर्ने दाता, उनीहरूको सहयोगले बढ्न गएको बैंकको खाता र आफ्ना नजिकका नातालाई पार्टीको छाता ओढाएर टिकट नदिए नेताहरूलाई पनि अप्ठ्यारो पर्ने हुनाले सबैतिर सन्तुलन मिलाउनु र कसैले पनि नरुचाएका मान्छेलाई पनि टिकट दिलाउनु नेताहरूको रहर नभएर बाध्यता भएको सबैको ठहर छ।

त्यति भएर धेरै जसो मतदाताहरूले उम्मेदवारको बिगत कोट्याउनु भन्दा बढी गफ दिने नेतालाई भोट हालेर आफ्नो काम छोट्याउनुलाई बुद्धिमानी ठान्छन्, त्यसैलाई सही बाटो भएको मान्छन् र त्यस्ता भोटरहरू गलत नेताको पछि पछि जान्छन् अनि त्यस्ता जनतालाई निर्वाचन सकिएपछि नेताले लात हान्छन्।

बिगत धेरै वर्षदेखि उम्मेदवार र मतदाताको सम्बन्ध यसरी नै चलिरहेको छ, नेताहरूको राजनीतिक व्यापार फलिरहेको छ, जनताको आर्थिक अवस्था गलिरहेको छ र नेताहरूप्रतिको जनताको विश्वास दिन परदिन ढलिरहेको छ ।

निर्वाचनमा उम्मेदवार बनेका र आफूलाई विजयी हुने नेताको रूपमा गनेका नेताहरू एक अर्कासित तर्सेका हुनाले उनीहरूको मुखबाट अचम्म अचम्मका अभिव्यक्तिहरू बर्सेका छन्।

कोही प्रतिस्पर्धीको बिगतको काम देखेर तर्सेका छन्, कोही प्रतिस्पर्धीको उचाइ र नाम देखेर तर्सेका छन् र कोही प्रतिस्पर्धीले खर्च गरेको दाम देखेर तर्सेका छन्। चुनावसम्मको लागि वाध्यतावश मुटुमाथि ढुङ्गा राखी गरिएको र यो लामो समयसम्म एकता बद्ध रूपमा जान्छ भनेर भ्रम छरिएको गठबन्धनले पनि विपक्षी र प्रतिस्पर्धीहरू बीच अलमल परेको देखिन्छ।

आफ्नो क्षमता देखाउनु भन्दा आफ्नो नजिकको पत्रिकामा अर्काको कमजोरी लेखाउनुलाई नै सर्बोपरी राजनीति ठान्ने र यसैलाई आफ्नो दक्षता मान्ने नेताहरूलाई मतदाताले राम्ररी चिनेका हुन् कि जस्तो पनि देखिन्छ। मतदाताहरू पनि आफू जस्तो बाठो, कुरा बुझ्ने, सबै उम्मेदवारहरूको राम्रो जानकारी राख्ने, सही मान्छेलाई मात्रै मतदान गर्न सक्ने र आफूलाई कसैले झुक्याउन सक्दैन भनेर बक्ने गरेका हुन्छन्।

हरेक निर्वाचनमा उम्मेदवारको टोली घरमा आएर बोल्ने मिठो बोली मतदाताको लागि गोली सरह हुन्छ र यसैबाट उम्मेदवारले आफ्नो भोटको झोली भर्छ अनि अघिल्लो पाँच वर्षको लागि मतदातालाई बाइबाई गर्छ भन्ने कुरा मतदातालाई पनि राम्ररी थाहा छ। थाहा पाइपाइकन फस्ने र यसैमा चित्त बुझाएर बस्ने सोझो मतदाता पाएपछि छट्टु नेताले फस्ल्याङ्ग फुस्लुङ पारेर भित्रभित्र छुरा धस्ने कुरा खासै नौलो होइन।

निर्वाचन घोषणा भएदेखि मतदान नभएसम्म ज्यादै आज्ञाकारी भएर जनतासँग झुक्ने, चुनाव जितेर गएपछि जनताको काम गर्नुपर्ला भनेर लुक्ने, नगद खान नपाए चिन्ताले ओठमुख सुक्ने भएतापनि म जस्तो ईमानदार र नैतिकतामा चल्ने कोही पनि छैन भनेर ढ्वाँग फुक्ने र आफ्नो फाइदाको बाटो मात्रै ढुक्ने नेताहरू निर्वाचनको बजारमा छ्यास छ्यास्ती आफ्नो गफको पसल खोलेर जनता भड्काउन हिँडेका छन्।

सोझा सिधा जनतालाई ठग्ने र जनता पनि उनीहरूको लहैलहैमा बग्ने गरेकाले उनीहरू सधैंभरि फाइदामा रहेका छन् । यसलाई विचार गरेर यसपालि भने हाम्रो भन्दा पनि राम्रोलाई मतदान गर्न बेस होला भन्ने मसिनो आवाजपनि कतैकतैबाट आएको देखिन्छ । नत्र हामी जनताको स्तर कहिले बढ्दैन र चोर फटाहा नेता कहिले पनि गन्हाएर सढ्दैन । त्यसैले विचार पु¥याएर भोट खसालौं र फटाहा नेताहरूलाई थला बसालौं।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो