स्थानीय निर्वाचनमा महिला जनप्रतिनिधि बृद्धि

डिसी नेपाल
१४ जेठ २०७९ ९:३०

हुम्ला। २०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा बृद्धि भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा ८४ जना महिला निर्वाचित भएकाेमा २०७९ सालको स्थानिय निर्वाचनमा जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महिला जनप्रतिनिधिहरु उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना, दलित महिला सदस्य ३६ जना, महिला सदस्या ४४ जना र १३ जना खुला सदस्या गरी जम्मा ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे हो।

निर्वाचित महिला सदस्यहरु मध्ये ८० जना महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन । यस्तै, १३ जना दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए।

नाँम्खामा ६ जना आरक्षण कोटा र एक जना खुल्ला सदस्यमा निर्वाचित भए पनि दलित महिला सदस्याको हकमा शून्य देखिएकाे छ । सिमकोटमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयको स्रोतले जानकारी दिएको छ ।

हुम्लाको मध्य भेगमा रहेको खार्पुनाथ गाउपालिकामा वडा नं ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छिन भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुल्लामा निर्वाचित भएका छन्।

जिल्लाकै तल्लाे भेगका पालिकाहरु सर्केगार्डमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र दुुई जना खुल्ला सदस्यामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयमा सूचना अधिकृत श्याम बहादुर रानाले बताएका छन्।

यसौगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुल्ला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन्।

स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बाहराले बताइन्। विगतमाभन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *