लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

डिसी नेपाल
५ असार २०७९ १९:१३

लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ ।

दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आँफैले सञ्चालन गर्ने तयारी गरेको हो ।

२०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले गर्दै आएको थियो । संघीयता कार्यन्वयनसँगै प्रदेश सरकारको माताहतमा आएको सो अस्पताल व्यवस्थापनको जिम्मा एचडिसिएसलेनै लिनेगरी २०७७ कार्तिकमा थप पाँच वर्षका लागि नयाँ सम्झौता भएको थियो ।

सम्झौता अवधी नसकिदै हाल एचडिसिएस सँगको सम्झौता खारेज गरी प्रदेश सरकार आँफैले सञ्चालन गर्ने तयारी गरेको हो । प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनार्थ आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरेको छ ।

नयाँ आर्थिक वर्ष शुरुभएसँगै आगामी श्रावण महिनादेखि जिल्ला अस्पतालको सवै व्यवस्थापन प्रदेश सरकारले हेर्ने गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्री मधु अधिकारीका निजी सचिव शम्भु चापागाईले बताए ।

सम्झौता अवधी सकिन बाँकी रहेपनि तीन महिना पहिले जानकारी गराई सम्झौता खारेज गर्नसक्ने प्रावधान भएकोले सोहि अनुसार गर्न लागिएको चापागाईको भनाई छ ।

अस्पतालसँगको सम्झौता खारेज गर्न स्वास्थ्य तथा जनसँख्या मन्त्री मधु अधिकारीले पहिलेदेखिनै दवाव दिँदै आएको सम्वन्धीत विभागले जनाएका छन् । स्वास्थ्य मन्त्रीको प्रस्तावमा सम्वन्धीत विभाग र गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सकरात्मक भएका थिएनन् । तर आगामी आर्थिक वर्षका लागि अस्पताल सञ्चालनार्थ बजेट समेत विनियोजन भएकोले अव सम्झौता खारेज हुने सम्भावना बढेको हो । यद्यपी अस्पताल सञ्चालनका विषयमा कुनै आधिकारिक पत्र वा जानकारी नआएको अस्पताल प्रशासनले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव बिकास तथा सामूदायिक सेवा ९एचडीसिएस०ले ब्यवस्थापन जिम्मा लिई सामूदायिक अस्पतालको रुपमा सञ्चालन गरेको थियो । प्रदेश सरकारको माताहतमा आएपछि पनि नयाँ सम्झौता भई सो अस्पतालको व्यवस्थापन जिम्मा एचडिसिएसलेनै लिएको थियो । ६२ शैया क्षमता रहेको सो अस्पतालले लमजुङ लगायत वरपरका छिमेकी जिल्लाहरु तनहूँ, गोरखा र मनाङका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

मानव बिकास तथा सामुदायिक सेवाले पुराना भवनहरुको मर्मत तथा आवश्यक थप भबनहरु निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।

यस अस्पतालले आफ्नो सेवालाई समान रुपमा पहुँच बिहिन समूदायसम्म पुयाउने लक्ष्य राखेको छ ।

नाजुक अवस्थामा रहेको अस्पताललाई विदेशी दातृ निकाय डि।एच।एम जर्मनीको आर्थिक सहयोगमा भवनको पुर्ननिर्माण तथा उपकरणको ब्यबस्थापन गरिएको थियो । तत्कालिन समयमा जर्मनी दातृ निकायको १६ करोड लगानीमा अस्पतालको पुर्ननिर्माण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *