भक्तपुर र सूर्यविनायक नपाको बजेट पारित

डिसी नेपाल
११ असार २०७९ २३:०७

भक्तपुर । भक्तपुर नगरपालिकाका र सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९\८० का लागि रु दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र नगरपालिकाले सञ्चालन गरेको नगर विकास आयोजनाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

नपाले चालु खर्चतर्फ ६५.३९ प्रतिशत, पूँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत बजेट विनियोजन गरेको छ । शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले १०० शय्याको ख्वपः अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन गर्न रु आठ करोड विनियोजन गरेको छ भने देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना सम्पन्न गर्न रु २० करोड, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न रु ५० लाख, शहिद स्मृति खेलमैदानमा कभर्डहल निर्माणका लागि रु एक करोड, महेश्वरी खेलमैदानका लागि रु एक करोड, बेखाल कभर्डहल निर्माण सम्पन्न गर्न रु तीन करोड र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न रु छ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्जुरी)जस्ता दीर्घरोग भएका नगरवासी बिरामीलाई प्रतिव्यक्ति रु १५ हजारका दरले सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै रु ४० लाख विनियोजन गरिएको छ भने क्यान्सर, मिर्गौलारोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक रु पाँच हजारका दरले उपचार खर्च भत्ता व्यवस्थाका लागि रु ९० लाख विनियोजन गरिएको छ ।

शिक्षातर्फ चिकित्साशास्त्र, इञ्जीनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयमा उच्च शिक्षा अध्ययन गर्ने आफ्ना नगरवासी विद्यार्थीलाई दिँदै आएको शैक्षिक ऋण प्रदान गर्न रु दुई करोड विनियोजन गरिएको छ ।

नगरमा खानेपानी फिल्ट्रेसन, ट्याङ्की निर्माण तथा खानेपानी पाइप सुधार, लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न रु ५० लाख, नगरवासीलाई खानेपानी सुविधा उपलब्ध गराउन रु एक करोड २५ लाख, बाराही पुल निर्माण सम्पन्न गर्न रु तीन करोड र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थासँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ रु एक करोड बजेट विनियोजन गरिएको छ ।

लिवालीमा चिस्यान केन्द्र निर्माणमा रु एक करोड, वडा नं ५ मा तरकारी बजार निर्माण गर्न रु ४० लाख, थङ्थु दरबार पुनस्निर्माण, सांस्कृतिक सङ्ग्रहालय निर्माण, कोसेली घरलगायत वडा–वडाका सम्पदा पुनस्निर्माण र संरक्षणका लागि रु छ करोड बजेट नगरसभामा प्रस्तुत गरिएको छ ।

नगरका पुरोना बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ र झिङ्गटीमा दिँदै आएको ३५ प्रतिशत अनुदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ भने ख्वपस्स् टेलिभिजन सञ्चालनका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । युवा तथा खेलकुद क्षेत्रमा रु छ करोड एक लाख ९९ हजार, कृषि क्षेत्रमा रु दुई करोड सात लाख र प्रशासनिक व्यवस्थापनका लागि रु ३८ करोड ८६ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ ।

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९र८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७९र८० को आय–व्यय प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो ।

नपाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम सञ्चालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालु खर्चतर्फ रु २५ करोड २५ लाख र पूँजीगततर्फ रु ९९ करोड ४३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

नपाले आन्तरिक राजस्व परिचालनबाट रु २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ३५ करोड, चालु आर्थिक वर्षको राजस्व बचतबाट रु २५ करोड, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २५ करोड पाँच लाख १३ हजार, सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ४२ करोड ६७ लाख ८४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान रु ७५ लाख, सङ्घ तथा प्रदेशको राजस्व बाँडफाँटबाट रु १५ करोड ४२ लाख पाँच हजार, समपूरक योजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र प्रदेशबाट रु पाँच करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १६ करोड, सडक बोर्डबाट रु एक करोड र नगद लागत सहभागिताबाट रु चार करोड प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा स्वास्थ्यतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु सात करोड ५५ लाख र सशर्ततर्फ रु चार करोड ७६ लाख आठ हजार गरी कूल रु १२ करोड ३१ लाख आठ हजार विनियोजन गरिएको छ । साथै सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणको समुचित प्रबन्धका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । जगातीस्थित सूर्यविनायक नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले बालबालिकालाई एसइई तथा कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि करियर काउन्सिलिङ र लोकसेवा तयारी कक्षाका लागि सहयोग गर्न बजेट व्यवस्था गरेको छ । कृषि तथा पशुपक्षी विकासतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु दुई करोड ७९ हजार र सशर्ततर्फ रु एक करोड २४ लाख गरी कूल रु तीन करोड २४ लाख ७९ हजार विनियोजन गरिएको छ ।

दुई दिनसम्म चलेको नगरसभाले नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मतरूपमा पारित गरेको प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *