नेपाल पनि छिटै श्रीलंकाको स्थितिमा पुग्न सक्ने जोखिम

रेखा श्रेष्ठ
१४ असार २०७९ ११:३८

काठमाडौँ।  नेपालको आर्थिक अवस्था दिन प्रति दिन दयनीय बन्दै गइरहेको छ। नेपाल यहि अवस्थामा रहिरहने हो भने चाँडै नेपाल पनि श्रीलंकाको स्थितिमा पुग्न सक्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

नेपालमा अहिले संचित मुद्रा रितिँदै गएको छ। साथै, नेपालको मुद्राको मूल्य कम हुँदै गएको र अमेरिकी मुद्राको मूल्य बढ्दै गएको छ।  जसले गर्दा अहिले आयातित हरेक बस्तुको मूल्य वृद्धि हुँदै गएको छ।

नेपालमा हरेक बस्तुको उत्पादन कम रहेको र देशलाई आवश्यक पर्ने स्रोत र साधन विदेशबाट आयात अत्याधिक मात्रामा बढेको छ। देशलाई आवश्यक वस्तु विदेशबाट आयात गर्नु परेको हुनाले देशमा संचित रहेको वैदेशिक मुद्रा सकिँदै गइरहेको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ।

सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो। उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

गभर्नर महाप्रसाद अधिकारीका अनुसार आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताएका छन्। नेपालमा हुने अत्याधिक आयातले संचित विदेशी मुद्रा सकिँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा जुटाउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न धेरै दिन पर्खन नपर्ने उनले बताएका छन्।

समयमा हाम्रा देश सञ्चालकहरुले ध्यान पुर्‍याएनन् भने देशको स्थिति डरलाग्दो हुनसक्छ पूर्व गभर्नर टिलक रावलले डिसी नेपाललाई बताए । समग्रमा हेर्दा अहिलेसम्मका उपलब्ध तथ्यांकले पनि त्यस्तै देखाएको छ। नेपालको स्थिति भयाबहको स्थिति पुग्ने देखिएको छ ।

उनले पनि देशका विनिमयको संचितिमा आएको कमीलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिएका छन्। देशको कुल बजेटभन्दा पनि आयात बढेर निर्यात बढ्न नसक्दा यसको फल स्वरुप व्यापार घाटा एकदम उच्च भएको पूर्व गभर्नर रावलले जनाएका छन् ।

नेपालको ११ महिनाको तथ्यांकले देखाएको छ की बजेटभन्दा बढी खर्च भइसकेको छ। यो चालु आर्थिक वर्षको लागि जुन सुरुमा छुट्याइएको १६ सय ३२ अर्वको बजेटभन्दा पनि बढी व्यापार घाटा असारको अन्त्य सम्म पुग्न सक्ने अर्थविद्हरुको अनुमान रहेको छ।

पूर्व गभर्नर तिलक रावल भन्छन्, ‘हाम्रो बाह्य क्षेत्र तथा अन्तर्राष्ट्रिय व्यापार डरलाग्दो किसिमले अघि बढी रहेको छ।  निर्यात बढ्न नसक्दा हाम्रो व्यापार घाटा एकदमै बढ्दै गएको छ। यो एक दिन एक रातको कुरा होइन। धेरै वर्षसम्म यो स्थिति नकारात्मक दिशातर्फ बढ्दै गइरहेको हामी सबैले देखेकै सुनेकै कुरा हौँ। त्यही पनि यसतर्फ खास ठोस कार्यान्वयन, योग्य कार्यक्रम देश सञ्चालकहरुले ल्याउन सकेको जस्तो मलाई लाग्दैन। उत्पादन बढाएर निर्यात योग्य बस्तुहरुको उत्पादन खासगरी बढाउनु पर्छ।’

देशबाट बाहिर निर्यात बढाउनु पर्ने अर्थविद्हरु बताउँछन्। हाम्रा बस्तुहरु मूल्य र गुणस्तरको आधारमा अरु देशको बस्तु मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति आउनु पर्ने तर्क उनीहरुको छ।  सरकारले यो समयमा गम्भिर भएर गफले मात्र नभएर काम पनि गरेर देखाउनु पर्ने बताउँछन्।

नेपालका राजनीतिक दलहरु अहिले सत्ता लोभमा गठबन्धनको खेलमा रुमलिरहेको देख्न सकिन्छ। देशको आर्थिक अवस्था कमजोर भएको विषयमा खासै चिन्ता चासोको विषय बन्न नसक्दा पनि देशमा महंगीले आकास छुन लागेको अर्थविद्हरुको विश्लेषण छ।

अर्थविद् भन्छन्, ‘अहिलेका नेताहरु चुनाव जितेन भने सरकारमा जान पाइँदैन, सरकारमा जना पाएन भने हालीमुहाली हुँदैन। देश आफूले चाहे जस्तो किसिमले संचालन गर्न पाइदैन। गठबन्धन कता र कोसंँग गर्ने दाउमा नै व्यस्त छन्। देश गरिब भए होस् तर आफू गरिब हुन भएन भन्ने लाइनमा छन् हाम्रा देशका नेताहरु त्यही कारण नेपाल चाँडै श्रीलंकाको स्थितिमा पुग्नेछ।’

किनारा पसलमा पाइने एउटा चाउचाउको मूल्य हिजो २० रुपैयाँ थियो भने आज त्यही चाउचाउको मूल्य २२ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्यपनि दिनदिनै आकासिँदै छ । यी सबै आर्थिक मन्दीको भारमा सबै भन्दा तल्लो स्तरका जनताहरु पिसिरहेको अथविद्हरु बताउँछन् ।

नेपाल कृषि प्रदान देश भन्ने गरे पनि कृषिबाट उत्पादन हुने सबै बस्तु आयात हुने गरेको छ। वर्षेनी ३२-३३ अर्व बराबरको चामल, सागसब्जी, माछा मासुदेखि लिएर फलफूल सबै आयात हुने गरेको छ। चालु आर्थिक वर्ष सिधिन्न आधा महिना जति बाँकी छ। गत आर्थिक वर्षमा ३ सय २५ अर्वको कृषि जन्य बस्तु आयात भएको थियो।

नेपालले केही उत्पादन बढाएर आफ्नो अन्तरिक उपभोगलाई आवश्यक वस्तुहरु देशले उत्पादन गर्न सक्यो भने आयात काम भएर व्यापार घाटा केहि काम हुने पूर्व गर्भनर रावल बताउँछन् ।

देशमा आफैले आफुलाई आवश्यक उपभोग्य बस्तुहरु उत्पादन गर्नु पर्यो, उत्पादकत्व बढाउनु पर्यो उनले भने, सरकारले गफ मात्र होइन , गफ अनुसार काम पनि गरेर देखाउनु पर्यो । सरकारले दिएका गफहरु नेपाली जनताले पत्याउन छोडिसकेको पनि उनी बताउँछन्।

नेपालले आफूलाई आवश्यक वस्तु विदेशबाट आयात मात्र गर्ने तर त्यही अनुरुप निर्यात गर्न नसकेको हुनले पनि मुद्राको विनिमय दरलाई केही असर गरेको उनले बताए। यदि देशको अर्थतन्त्र कमजोर छ भने त्यस देशको मुद्रा पनि कमजाेर हुन्छ। उनले भने,’यदि तपाईं सबै वस्तु खरिद गरेर उपभोग गर्नु हुन्छ तर केही उत्पादन गर्न सक्नु हुन्न भने देशको मुद्रा कमजाेर हुँदै जान्छ।’

देशको मुद्रा सस्तो भएको हुनाले आयातित वस्तुहरु सबै महँगो भएको र मुद्राको मूल्य खस्किँदा यसको प्रत्यक्ष प्रभाव सर्बसाधारण जनतालाई पर्ने गर्दछन् । हाल नेपालमा दिनप्रतिदिन प्रत्येक सामको मूल्यमा वृद्धि भइरहेको छ । यो समयमा सबैजना मिलेर हरेक कुरामा विचार पुर्‍याएर काम गर्नु पर्ने अर्थविद्हरु सुझाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *