ओलीले भने- देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छ

डिसी नेपाल
४ साउन २०७९ १३:१८

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन्।

बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए।

‘हामीले सरकार चलाउँदा कोभिड थियो। दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्यो। तर अहिले कोभिड छैन। यो सरकार निकम्मा भयो। त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ ओलीले भने।

उनले स्थानीय तहको निर्वाचन एमालेका लागि राम्रो नभएको बताउँदै अबको निर्वाचनमा त्यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाउँन नेता कार्यकर्तालाई कसम खुवाए।

उनले सबैतिरबाट आक्रमण हुँदा पनि एमाले दोस्रो ठूलो दल बनेको तर केही दलले एमालेको बिरुवा सक्यौं भन्दै हिँडेको बताए। अर्काको बुई चढेर १०-१५ सिट ल्याउने पार्टीले एमाले सकियो भन्दै हिँडेकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।

ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाए ।

ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे।

उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे। ‘यस्तो तालले एमाले गरिखाँदैन।  पार्टी यसरी चल्दैन। यो त बेइमान भयो,’ ओलीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *