नयाँ मौद्रिक नीतिका कारण सेयर बजार बढेको हो ?

रेखा श्रेष्ठ
१३ साउन २०७९ ६:४०

काठमाडौँ। केही समयदेखि सेयर बजार केही बढ्दै गइरहेको छ। १९ सयभन्दा मुनि गइसकेको सेयर बजार अहिले करिब १ सातादेखि बढेर २१ सयको बिन्दुमा आइपुगेको छ। मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार बढ्दै गएको देखिएको छ। अहिलेको मौद्रिक नीतिले सेयर बजारलाई टेवा पुर्‍याउने केही बुँदाका कारण सेयर बजार पोजेटिभ रहेको विश्लेषक बताउँछन्।

शुक्रबार जारी भएको मौद्रिक नीतिमा सेयर बजारलाई टेवा पुर्‍याउनका लागि ४/१२ को क्यापमा ४ हट्यो र १२ यथावत रहेको छ। अब लगानीकर्ताले सेयर धितो राखेर ४ करोडका दरले ३ बैंक धाउनु पर्ने झन्झट हटेर एउटै बैंकबाट १२ करोडसम्म ऋण लिन मिल्ने नीतिले पनि केही हदसम्म सेयर बजार बढ्ने विश्लेषक बताउँछन्। यसका साथै, बैंकको ब्याजदर ७ प्रतिशतबाट १।५ प्रतिशतले बढाएर ८।५ प्रतिशत पुर्‍याएको छ।

नेपाल पूँजीबाजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार राष्ट्र बैंकले राम्रा-राम्रा पोलिसी ल्याएर बजारलाई अगाडि बढाउनु पर्नेमा कोमाको अवस्थामा रहेको सेयर बजारलाई सिटामोल दिने काम मात्र गरेको छ।

‘अहिले मौद्रिक नीतिले कोमाको अवस्थामा रहेको बजारलाई सिटामोलको मात्रै काम गरेको छ। हामीले उठाई रहेको कुराहरु नै ल्याएको छैन,’ उनले भनिन्, ‘सेयर बजार कहिले घट्ने र कहिले बढ्ने आफ्नो ठाउँमा छ। तर बजारको लागि दीर्घकालीन रुपमा जुन पोलिसीहरु ल्याएको छ त्यो राम्रो पोलिसी छैन।’

सेयर बजार धेरै तल आइसकेको र कम्पनीको चौथौ त्रैमासिकको वित्तीय विवरण पनि आउँदै गर्दा पनि सेयर बजार बढेको हो। अहिले ठूला लगानीकर्ताहरुले मौद्रिक नीति राम्रो आएको भन्दै साना लगानीकर्ताहरुमाथि भ्रम छर्दै आफू बजारबाट पलायन हुन लागेको विज्ञहरु बताउँछन्।

अध्यक्ष पोखरेलल भन्छिन्, ‘हामीले ४/१२लाई सम्बोधन गर्नु पर्छ भनेको ४ लाई सम्बोधन गरियो तर १२ मा क्याप लागेको छ। यसको अर्थ १ व्यक्तिले १२ करोड भन्दा बढी ऋण लिन पाउँदैन भने यदि कोहि व्यक्तिले ५० करोड ऋण लिएको छ भने त्यसलाई १२ करोडमा झर्नु पर्ने हुन्छ। त्यसले गर्दा दीर्घकालीन रुपमा यो राम्रो पोलिसी छैन।’

मौद्रिक नीतिमा पनि सबै कुरा नेगेटिभ मात्र आएको छैन पोजेटिभ पनि केही आएको छ। यसले पनि केही हदसम्म बजार बढ्न मद्दत गरेको भए पनि बजार दीर्घकालिनको लागि राम्रो पोलिसी नभएकोमा उनले जोड दिइन्।

समग्रमा हेर्दा मौद्रिक नीति निक्कै नै फुलबुट्टा भरेर आए पनि केही खासै प्रभावकारी नदेखिएको अध्यक्ष पोखरेलले बताइन्। उनले भनिन्, ‘सेयर बजारको लागि राष्ट्र बैंकको कसुवा नीतिमा धेरै खुकुलो भएको मान्न सकिँदैन। तथापी राष्ट्र बैंकको नीति बजारलाई नियन्त्रण गरेर आफूले चाहेको बाटोमा हिँडाउन खोजेको प्रष्ट देखिन्छ।’

शेयर बजार विश्लेषक सरोज उप्रेतीका अनुसार अहिले सेयर बजार केहि बढे पनि सेयर बजार बढी सकेको मान्न मिल्दैन। १८ सयको हाराहारीमा पुगेको बजार २१ सयको बिन्दुमा पुग्यो, यसले केही राहत भएको छ तर अधिकांश लगानीकर्ताहरुले २३ सय भन्दा माथि र २८ सयको बीचमा सेयर खरिद बिक्री गरेका थिए। उनले भने, ‘जबसम्म २४ सयको मार्केट पुग्दैन तवसम्म यो बजारलाई बढेको भन्न मिल्दैन, यस सातादेखि राम्रो कारोबार भइरहेको छ।’

साना लगानीकर्तालाई मौद्रिक नीतिले केहि सहज बनाएको उनी बताउँछन्। पहिले लगानीकर्ताले तीन बैंकबाट १२ करोड ऋण लिन मिल्ने भएको थियो भने अहिले एउटै बैंकबाट १२ करोड ऋण निकाल्न मिल्ने राहत मिल्ने छ। यसले साना लगानीकर्तालाई केही सहज भएको विश्लेषक उप्रेतीले बताए।

अहिले सेयर बजार मौद्रिक नीतिले मात्र नभएर अघिल्लो वर्षको बैंकको मुनाफा भन्दा यस वर्षको बैंकको मुनाफा पहिलेको तुलनामा डबल आउने गरेको हुनाले पनि सेयर बजार बढ्दै गएको उनले बताए। साथै वितरण योग्य नाफादेखि लिएर प्रति सेयर आम्दानी पनि बढ्दै गएको विवरणको प्रभावले सेयर बजार बढेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *