फोहोरको समस्या तत्काल समाधान गर्न गठबन्धनको सुझाव, सिट बाँडफाँट चाँडो गर्न देउवाको निर्देशन

डिसी नेपाल
२९ साउन २०७९ २०:३९

काठमाडौं । सत्ता गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकमा सरकारलाई काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापन हुन नसक्दा देखिएका समस्यालाई तत्काल समाधान गर्न आवश्यक पहलकदमी गर्न नेताहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले सो निर्देशन दिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । मन्त्री कार्की कार्यदलको सदस्य पनि छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले एउटा निर्देशन दिएको छ । केही दिन अगाडि बनेको सिट बाँडफाँट कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन गरेको हो ।”

मन्त्री कार्कीले महँगी नियन्त्रण गर्न अनुगमन कार्यलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिने निर्णय गरेको उल्लेख गरे । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका शीर्षस्थ नेताहरु सहभागी थिए ।

सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय सिट बाँडफाँट सम्बन्धी कार्यदल गठन गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *