बालैवासीलाई बालै खोलाको भर
मुगु। छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो। बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन।
छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्छन्। बिहानै खोलामा पुग्ने उनी बेलुका अबेर मात्रै घर फर्किन्छन् । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उनी सुनाउँछन्।
भामबहादुर मात्रै होइनन् बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ। उज्यालो गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन्। यहाँका मानिसको मुख्य काम कृषि नै हो। परम्परागत रुपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू बालै खोलातिर झरेका हुन्।
बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन्। जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन्। उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन्। बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थान समेत भागबन्डा गरेका छन्।
तीन महिनाको आम्दानी वर्षभरिलाई
असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताए। यो सिजनमा एउटा परिवारले कम्तिमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय प्रेमबहादुरले सुनाए।
नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रति ट्याक्टर एक सय र बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई तीन सय रुपैयाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताए। मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइदैन।
बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment