सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

डिसी नेपाल
५ असोज २०७९ ९:३२

बारा। बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ। शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।

करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए।

नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०÷१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए।

तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाइएको थिएन। नगर प्रमुख कलवारले अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएका थिए।

सोही विषयमा छलफल गर्न नगरपालिकाका कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन्। कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ। ‘कार्यालय बाहिर बसेका विद्यार्थीहरुले छलफलको निर्णय बारे बुझ्दैनबुझी तोडफोड गरेका छन।’ प्रधानाध्यापक यादवले भने।

तोडफोड नियन्त्रणको लागि प्रहरीले प्रहार गरेको लाठी लागेर केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *