नेपालीलाई डवल दशैंको योग

विजयप्रसाद मिश्र
१४ असोज २०७९ ११:४८

बडादशैंको शुरुवात घटस्थापनाबाट भइसकेको छ। काठमाडौंमा दशैंका कारणले भीड घटिरहेको छ। बाहिरबाट विभिन्न कामका लागि काठमाडौं उपत्यका आउनेहरु दशैंमा घर फर्किरहेका छन्। यो बर्षको मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले सबै नेपालीको लागि डबल दशैं आएजस्तै भएको छ।

बडा दशैं एउटा राष्ट्रिय पर्व हो नै। निर्वाचनलाई पनि प्रजातन्त्रमा पर्व र उत्सवकै रुपमा मनाउन जान्नु पर्दछ। आध्यात्मिक रुपमा दुर्गाभगवतीले हाम्रो रक्षा गरुन भनेर हामी विजयादशमी मनाउछौं। यो धार्मिक रुपमा सबैभन्दा महत्व बोकेको लामो अवधिसम्म मनाइने पर्व हो।

तर राजनीतिक रुपमा देशको भाग्य निर्माताहरुको चयन गर्नुपनि एउटा ठूलो उत्सव हो। गोर्खामा पहिले लिगलिगकोटमा कुदेर जो पहिले पुग्दथे त्यो नै राजा हुने प्रचलन थियो। हिजो आज जसले सबैभन्दा बढी भोट ल्याउछन् उ नै देशको शासन संचालन गर्ने स्थानमा पुग्दछन्।

मंसिर ४ को चुनावले संसद निर्माण गरेर देशका लागि नीति, ऐन, कानुन बनाउने काम गर्दछन् भने त्यही संसदमा बहुमत पुगाएर कोही प्रधानमन्त्री भएर कार्यपालिका हाक्नेछन्।

त्यसैले मंसिर ४ को निर्वाचन व्यवस्थापिका र कार्यपालिका दुबै संचालन गर्ने जनताले पत्याएको नेतृत्वकर्ता खोज्ने दिन हो। यसमा चुक्यौं भने पाँच बर्षका लागि नागरिकहरु पछुताउनु पर्नेछ।

त्यसैगरी वडा दशैंमा घटस्थापनादेखि दशैंसम्म दुर्गाभवानीको पूजा आरधाना गर्दछौं। विजयादशमीको दिन राजा रामले रावणमाथी विजय गरेको दिनको रुपमा निधारमा टिका लगाएर बनाउने गर्दछौं।

विजयादशमीमा रामको विजय भएको संझना गरेजस्तै मंसिर ४ गतेको निर्वाचनले कस्ता कस्ता रामलाई विजयी गराउने हुन्? नेपालीले विजयादशमीलाई असत्य माथी सत्यको जीतको रुपमा मनाएजस्तै मंसिर ४ गतेपछि रामहरु जीतेर विजय उत्सव मनाउन पाउने हुन या होइनन्, त्यो हेर्न बाँकी छ।

साँच्चिकै यो बर्ष नेपालीको लागि डबल दशैं नै आएको छ। एक खाले नेपालीहरु जसले दुबै दशैंमा रामको विजय भएकोमा खुसी व्यक्त गर्लान्। तर अर्काखाले नेपाली पनि छन्। जो फेरि पनि रावण प्रबृत्तिले नै सत्ता कब्जा गरोस भन्ने चाहिरहेका छन्। जसलाई राम राज्य चाहिएको छैन ।

जो रावण राज्यमै रमाउन चाहन्छन्। उनीहरुले धार्मिक दशैंलाई पनि कालो धन कमाउने पर्वको रुपमा मनाउँदैछन्। महङ्गी, कमिशन, भ्रष्टचार, उपहार, नजराना, दशैंखर्च जस्ता विभिन्न किसिमले आर्थिक उपार्जन गर्ने राजनीतिक शक्ति होस वा उनीहरुको समर्थक सबैले धार्मिक दशैंलाई पनि चुनावी दशैंजस्तै पार्न चाहन्छन्। बडादशैंमा पनि पैसा नै कमाउने र निर्वाचन रुपी दशैंमा पनि भोजभतेर र पैसामा बिक्ने।

दलित, गरिब, सुकुम्बासीहरुको लागि धार्मिक दशैंले कर्जा बोकाउँछ र राजनीतिक दशैं वा निर्वाचनले घरघरमा भोज जगाउँछ भन्ने तर्कहरु दिने गरिन्छ। दुबै दशैं नजिकै नजिकै भएकाले धार्मिक दशैंको खर्चको सोधभर्ना यसपटक राजनीतिक शक्तिबाट हुने हो कि भन्ने आशा गर्नेहरु पनि प्रशस्त छन्।

मधेसमा पहाडी समुदायलाई दशैं र तिहारको सन्दर्भ जोडेर एउटा उखान भन्ने गरिन्छ। ‘दशैंमे दशआना, सुकरातीमे छ आना, गेल पहडिया सोह्रै आना’ अर्थात पहाडी समुदायले आफूसँग बर्षभरी हुने आम्दानीलाई १६ आना मान्ने हो भने त्यसमध्ये १० आना दशैंमा खर्च गर्दछ र ६ आना भाइटिका वा तिहारमा खर्च गर्दछ। र सबै सक्किएकोले फेरि बर्षभरीको बाँकी दिन कर्जामा डुब्ने गर्दछ। अधिकांश नेपालीहरुको नियती पनि त्यस्तै छ।

बडा दशैं होस या मंसिर ४ गतेको निर्वाचन दुबै नेपालीको लागि पर्व नै हो। एउटा पर्व त बर्ष दिनमा फेरी आउँछ। तर मंसिर ४ गतेको पर्व पाँच बर्षमा मात्र आउँछ। एउटा पर्वले असत्यमाथी सत्यको विजय भन्ने सन्देश दिन बडा दशैं होस या मंसिर ४ गतेको निर्वाचन दुबै नेपालीको लागि पर्व नै हो।

एउटा पर्व त बर्ष दिनमा फेरि आउँछ। तर मंसिर ४ गतेको पर्व पाँच बर्षमा मात्र आउँछ। एउटा पर्वले असत्यमाथी सत्यको विजय भन्ने सन्देश दिन्छ। तर मंसिर ४ गतेको पर्वले सिंगो नेपालीले आफै रामहरुलाई जीताएर विश्वलाई सन्देश दिनुपर्ने बेला हो।

दुबै दशैंमा सत्यको खेती हुन्छ। हामीलाई पहिले आउने दशैंले जे सन्देश दिन्छ त्यसलाई प्रयोगमा ल्याउने वा परिक्षण गर्ने दिन मंसिर ४ गते हो। सबै नेपालीले दुबै दशैंलाई मिठो मसिनो खाएरै मनाउनुहोस्।

पहिलो दशैंको मीठो मसिनो खानुपनि पर्दछ। तर दोस्रो दशैंमा रावण रुपी व्यक्तित्व भएकासंग दशैं मनाउने कि नमनाउने त्यो तपाईको धर्म हो। चुनावमा दशैं मनाउनुहोस तर पाँचबर्षका लागि दशा ननिम्त्याउनुहोला।

कसैले भोज खुवाए भन्दैमा आफ्नो अमूल्य मत असत्यको पक्षधरलाई नदिनु होला। इमान जमानमा बस्नेहरुले दोस्रो दशैंलाई सोचेसम्झेर मनाउनु होला। पर्व र उत्सवको रुपमा निर्वाचलनलाई लिनु होला।

तर जुनपायो त्यही उम्मेदवारसँग बसेर दशैं नमनाउनु होला। मनाउन बाध्य बनाए भने केही चिन्ता छैन। गोप्य मतदान बडा दशैंमा असत्यमाथी सत्यको जीतको स्वरुप राजा रामको पक्षमा मनाएजस्तै निर्वाचन रुपी दशैंमा पनि रावणलाई होइन रामलाई जीताऔं। जय डबल दशैं।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *