फुटबलका ती १५ दुर्घटनाहरू जब ठूलो संख्यामा मानिसहरू मारिए, एउटा नेपालमा भएको थियो

डिसी नेपाल
१७ असोज २०७९ १३:१२

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल खेलको क्रममा भागदौड हुँदा कम्तीमा १२५ जनाको मृत्यु भएको इन्डोनेसियाली प्रहरीले जनाएको छ । फुटबल मैदानमा भागदौड वा ठूलो दुर्घटना भएको यो पहिलो पटक भने होइन । पछिल्लो दशकका प्रमुख फुटबल दुर्घटनाहरूमा एक नजर राखौं ।

क्यामरुन, जनवरी २०२२

क्यामरुनले यस वर्ष अफ्रिका कप अफ नेसन्सको आयोजना गरेको थियो। अन्तिम १६ को खेलमा क्यामरुन र कोमोरोसका टोली आमनेसामने भएका थिए । यस खेलका क्रममा भागदौडमा ८ जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।

इजिप्ट, फेब्रुअरी २०१५

राजधानी कायरोको एक रंगशालामा प्रहरी र कायरोको प्रसिद्ध फुटबल क्लब ‘जमालेक फुटबल क्लब’ का समर्थकबीच भएको हिंसात्मक झडपमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । यो दुर्घटनापछि सन् २०१२ को इजिप्टको पोर्ट सेडमा भएको फुटबल दुर्घटनाको सम्झना ताजा भयो ।

सन् २०१२ को फेब्रुअरीमा पोर्ट सेद सहरमा अल-मसरी र अल-अहली टोलीहरू बीचको खेलमा फ्यानहरूबीच झडप भएको थियो । यस घटनामा कम्तीमा ७३ जनाको मृत्यु भएको थियो भने १००० भन्दा बढी घाइते भएका थिए । यो घटनापछि इजिप्टियन फुटबल लिग दुई वर्षका लागि निलम्बन गरिएको थियो ।

आइभरी कोस्ट, मार्च २००९

मलावीविरुद्धको विश्वकप फुटबल छनोट खेलका क्रममा अबिडजानको फेलिक्स हुफे बोईनी रंगशालामा भएको भागदौडमा कम्तिमा १९ जनाको मृत्यु भएको थियो ।

घाना, मे २००१

अफ्रिकाको सबैभन्दा खराब फुटबल दुर्घटनामा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । घानाको राजधानी अक्राको मुख्य रंगशालामा खेलिरहेको खेलमा फ्यानहरु आक्रोशित भएका थिए । प्रहरीले गोली चलाएपछि भागदौड मच्चिएको थियो जसमा ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो । यो दुर्घटनामा प्रहरीलाई आरोप लागेको छ ।

दक्षिण अफ्रिका, अप्रिल २००१

दक्षिण अफ्रिकी लिगको एक खेलको बीचमा फ्यानहरूले मैदानमा प्रवेश गर्न खोज्दा भागदौड हुँदा ४३ जनाको मृत्यु भएको थियो ।

ग्वाटेमाला, अक्टोबर १९९६

ग्वाटेमाला सिटीमा भएको विश्वकप छनोटको खेलमा कोस्टारिका र ग्वाटेमालाबीचको खेलमा भागदौड हुँदा ८२ जनाको मृत्यु भएको थियो भने १४७ जना घाइते भएका थिए ।

फ्रान्स, मे १९९२

फ्रेन्च कपको सेमिफाइनलमा बस्तिया फुरानी रंगशालाको स्ट्यान्ड भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने २ हजार ३ सय घाइते भएका थिए ।

फ्रान्सको संसदले गत वर्ष मृतकको सम्झनामा हरेक वर्ष मे ५ मा कुनै पनि व्यावसायिक फुटबल खेलमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो ।

दक्षिण अफ्रिका, जनवरी १९९१

ओपेनहाइमर रंगशालामा भएको उद्घाटन खेलमा भागदौड मच्चिँदा ४२ जनाको मृत्यु भएको थियो । ओर्कने शहरमा कैसर शेफ र ओर्लान्डो पाइरेट्स टोली आमनेसामने थिए। पाइरेट्सका फ्यानले शेफका फ्यानलाई छुरा प्रहार गरेपछि भागदौड मच्चिएको थियो ।

बेलायत, अप्रिल १९८९

शेफिल्डको हिल्सबरो स्टेडियममा लिभरपुल र नटिङ्घम फरेस्टबीचको एफए कपको सेमिफाइनल खेलको क्रममा कम्तिमा ९६ लिभरपुल समर्थकहरूलाई कोचाकोच र बन्द स्ट्यान्डमा कुल्चिएर मारिएको थियो।

यो दुर्घटनामा प्रहरीको लापरवाहीलाई जिम्मेवार ठहर गरिएको छ । दुर्घटनापछि बेलायतका धेरै स्टेडियमहरूमा सिटको व्यवस्था मात्र गर्न अनुमति दिइएको थियो र मैदान र स्ट्यान्डबीचको अवरोध हटाइएको थियो।

नेपाल, मार्च १९८८

नेपालको दशरथ रंगशालामा असिनापानी पर्दा रंगशालाको बन्द ढोकाबाट बाहिर निस्कनका लागि फ्यानहरू दौडेपछि भागदौड मच्चियो र कम्तिमा ९३ फुटबल समर्थकको मृत्यु भएको थियो ।

बेल्जियम, मे १९८५

ब्रसेल्सको हेसेल स्टेडियममा युभेन्टस र लिभरपुलबीच युरोपियन कपको फाइनल खेल हुँदै थियो । यस क्रममा दुवै टोलीका फ्यानबीच झडप भएको थियो र हिंसामा कम्तीमा ३९ समर्थकको मृत्यु भएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए ।

बेलायत, मे १९८५

ब्राडफोर्डमा थर्ड डिभिजन खेलका क्रममा आगलागी हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको थियो भने २०० जना घाइते भएका थिए ।

रूस, अक्टोबर १९८२

रुसी टोली स्पार्टक मस्को र नेदरल्यान्ड्सको टोली एचएफसी हार्लेमबीच मस्कोको लुज्निकी स्टेडियममा भएको युइएफए कपको खेलमा फ्यानहरू कुल्चिएका थिए। सोभियत रूसले धेरै वर्षसम्म यो दुर्घटनाको बारेमा जानकारी दिएन। पछि रुसले उक्त दुर्घटनामा ६६ जनाको मृत्यु भएको बताएको थियो ।

यद्यपि, वास्तविक संख्या यो भन्दा धेरै हुन सक्छ। एक अनुमान अनुसार एउटा ढोकामा ३ सय ४० जनालाई कुचिएको थियो । तर, वास्तविक संख्या भने यकिन हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *