लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङबीच राेमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी?

डिसी नेपाल
२५ असोज २०७९ ११:५५

लमजुङ। कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन्।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै राेजे। ०७४ काे निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए। त्यतिबेला एमाले-माओवादी गठबन्धनकाे साझा उमेदवारकाे रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए। जन्मथलाे मनाङ भएर पनि उनले कर्मथलाेकाे रूपमा लमजुङलाई राेजेका छन्।

यसपालि पृथ्वीसुब्बा गुरूङकाे चाहना प्रतिनिधिसभाकाे उम्मेदवार बन्ने पटक्कै थिएन। ०७४ काे प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री बन्ने साैभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन्।

साढे तीन वर्ष नबित्दै उनले पद गुमाए। यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनकाे सपना थियाे। उनले प्रचार प्रसार पनि थालिसकेका थिए।

लमजुङमा आयाेजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेकाे थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाकाे निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु।”

साेचेजस्ताे सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाकाे हकमा पनि त्यस्तै भयाे। फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाकाे उम्मेदवार बनायाे पार्टीले। पछिल्लाे समय गुरूङभन्दा पनि ओलीकाे नजिक बनेका खगराज अधिकारीले गण्डकीकाे मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाकाे टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाकाे उमेदवार बन्न पुगेका छन्।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीकाे काेपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन्। लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियाे, तर प्रतिनिधिसभाकाे निर्वाचन उनका लागि फलामकाे च्युरा चपाउनुसरह मानिएकाे छ।

प्रदेश सभा ख उनकाे आफ्नै क्षेत्र हाे, क्व्हाेंलासाेंथार उनकाे गृह गाउँपालिका हाे, जहाँ उनकाे पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेकाे छ। यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन्। बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाकाे निर्वाचन लड्न सहज थियाे। उनकाे चाहना पनि त्यही थियाे, तर घलेले प्रदेश सभा क काे टिकट पाएका छन्।

देव गुरुङलाई पनि कांग्रेसकाे भर हाे। कांग्रेसका मतदाताले उनलाई कतिकाे साथ दिन्छन्, त्याे हेर्न चुनावसम्मै कुर्नुपर्छ। यद्यपि पछिल्लाे समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएकाे स्थानीय निर्वाचनले पनि यही संकेत गरेकाे छ। यसकाे फाइदा उनलाई हुने सम्भावना छ।

देव गुरुङ याेसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन्। पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारकाे रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ काे चुनावमा वाम गठबन्धनकाे साझा उम्मेदवारकाे रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए।

पृथ्वीसुब्बा गुरुङकाे याे सातौं निर्वाचन हाे। २०४३ सालमा राष्ट्रिय पञ्चायतकाे चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन्। २०४८, २०५१, २०५६ काे निर्वाचनमा पराजय भाेगेका उनले ०६४ काे पहिलाे संविधानसभाकाे निर्वाचनमा चुनाव जिते।

०६३ काे जनआन्दाेलनपछि बनेकाे सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयाे। त्यसपछि दाेस्राे संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ काे प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनकाे तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशकाे पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पाए।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ। प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन्। यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेकाे छ। तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेकाे छ । स्थानीय निर्वाचनकाे नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *