धनतेरसमा माग अनुसार सुनको आपूर्ति गर्न नसकिने

रेखा श्रेष्ठ
४ कार्तिक २०७९ १०:२०

काठमाडौँ। बडा दशैँपछिको नेपालीहरुको महान चार्ड तिहार नजिकिँदै छ। शनिबारदेखि यमपञ्चक आरम्भ हुँदैछ। यमपञ्चक आरम्भ भएसँगै तिहारको रौनक सुरु हुने भएको छ।

यसै दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ। धनतेरसको दिन समान तथा वस्तु खरिद गरेर घर भित्र्याउनु शुभ मानिन्छ।

घरमा नयाँ वस्तु भित्र्याउँदा शुभ हुने भएको हुनाले धनतेरसको दिन नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका सिक्का देखि लिएर गरगहना किनमेल गर्ने परम्परा रहेको छ।

अहिले बजारमा माग अनुसार सुन आपूर्ति हुन सकेको छैन। अहिले दैनिक १० किलो मात्र सुन आयात हुने गरेको छ। सरकारले पहिला सिजनमा प्रति दिन ४० किलो र अफ सिजनमा २० देखि २५ किलोको दरले सुन आयात गरेको थियो।

तर पछि विभिन्न समस्या देखाउँदै सुन आयातको कोटा घटाउँदै ४० किलोबाट घटाएर ३० किलो, २० किलो हुँदै अहिले १० किलो मात्र आयात हुने गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार धनतेरसको दिन ४० देखि ४५ किलोसम्म सुनको खपत हुने अनुमान रहेको छ। उनले भने, ‘अहिले दैनिक ३० देखि ३५ केजीसम्म सुन खपत हुने गरेको छ। तर, धनतेरसको दिन सुनको माग बढेर ४० देखि ४५ केजीसम्म खपत हुन्छ।’

यस्तै, धन्तेरसको दिन चाँदीको माग पनि अरु समयको तुलनामा बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले बताए। उनले भने, ‘यस वर्षको धनतेरसमा चाँदीको माग १ हजार किलोसम्म बढ्न सक्छ।’ अहिले दैनिक चाँदीको माग २ सयदेखि ३ सय किलो रहेको छ।

सामान्य दिनमा नै सुनको माग ३० देखि ३५ केजी भएकोले अहिले भइरहेको आयातले बजार धान्न सकिने अवस्था नरहेको उनले बताए। उनले भने, ‘अहिले सुनको आयात कम छ। त्यही भएर बजार धन्न सकिने अवस्था छैन।’

बजारमा सुनको अभाव हटाउनको लागि सरकारले सुन आयातको कोटा बढाउनु पर्ने उनले बताए। उनले भने, ‘अहिले बजारमा अभावको जुन अवस्था छ। त्यो अभाव हटाउनको लागि सरकारले आयातको कोटा बढाउनु पर्छ। आयातको कोटा नबढाएसम्म यसको समाधान हुदैन।’

सुनको अभाव यो धनतेरसमा मात्र नभएर त्यस पछि पनि हुने उनले बताए। उनी भन्छन्, ‘तिहारको लागि मात्र होइन तिहारपछि बिहेको लगनहरु आउने भएको हुनाले त्यो लगनको लागि पनि सुन आवश्यक हुने देखिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *