गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रितः मन्त्री कार्की

डिसी नेपाल
१६ मंसिर २०७९ १९:५७

सुनसरी । सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

अब कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा केन्द्रित हुने मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले यस क्षेत्रका साथै देशको विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर अगाडि बढने उल्लेख गरे । शिक्षामा सूचना प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने उनले बताए । शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिकलगायतको विकास निर्माणको कार्य पाँच वर्षमा सम्पन्न गरेर गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्ने उनले उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *