दलको नेता बन्न कांग्रेसमा देउवा र गगनबीच प्रतिस्पर्धा हुने निश्चित, समानुपातिक सांसद निर्णायक

डिसी नेपाल
२१ मंसिर २०७९ ६:५६

काठमाडौं। निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि दलहरु नयाँ सरकार गठनमा लागेका छन्। सत्ता गठबन्धनबीच कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा बहस भइरहँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसमा भने संसदीय दलको नेता बन्ने विषयले चर्चा पाएको छ।

महामन्त्री गगन थापाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने भन्दै भोट मागेका थिए। निर्वाचित भएपछि महामन्त्री थापाले अब आफ्नो ध्यान संसदीय दलको नेता बन्नेमा केन्द्रित हुने भन्दै उनी त्यसको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले पनि आफ्नो सक्रियता बढाएका छन्।

देउवाले आफू निकट उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सरकारको नेतृत्व र दलका नेताका रुपमा आफूलाई सहयोग गर्न सहयोग माग्न थालेका छन्।

गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। कांग्रेसले ठूलो दलको हैसियतले सुरुमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको छ भने माओवादीले कांग्रेस नेतृत्वमा सरकार गठन हुने अवस्थै नरहेको बेलामा शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न सहयोग गरेको भन्दै अब आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको छ।

तर यही गठबन्धनलाई निरन्तरता दिने विषयमा भने उनीहरुबीच एकमत छ। देउवाले आफू निकटमार्फत संसदीय दलको नेता र सरकारको नेतृत्व गर्न सक्रियता बढाएपछि महामन्त्री थापाले पनि दलको नेता बन्न कसरत थालेका छन्।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन्। नेता प्रदीप पौडेलले पनि गगनलाई समर्थन गर्ने बताइएको छ। तर निर्वाचित सांसदको अवस्था हेर्दा दलको नेता बन्न गगनलाई सहज देखिँदैन। त्यसमा पनि संस्थापन इतर पक्ष यतिबेला छिन्नभिन्न अवस्थामा छ। त्यसको सिधा असर गगनलाई पर्ने देखिन्छ।

देउवालाई संसदीय दलको नेता बन्न गणितीय हिसाबमा सहज हुने देखिन्छ । सभापतिसमेत भएकाले आफू निकटकालाई टिकट वितरण गरेको र उनीहरू नै अधिकांश विजयी भएकाले देउवालाई सहज हुने देखिएको हो।

इतर समूहबाट प्रधानमन्त्रीको चाहना राखेका नेता रामचन्द्र पौडेल, महामन्त्री थापा, डा. शेखर कोइराला, पूर्व–महामन्त्रीहरू प्रकाशमान सिंह र शशांक कोइराला पनि आकांक्षी छन्। तर, उनीहरु मध्ये कसले संस्थापन समूहलाई साथ दिन्छ र कोको इतर समूहमा रहन्छन् भन्ने पनि खुलेको छैन।

महाधिवेशन अघि उनीहरु इतर समूहका एकजुट नहुँदा त्यसको फाइदा देउवाले उठाएका थिए। अहिले दलको नेता चयनमा पनि त्यस्तै अवस्था आउन सक्ने कतिपय नेताको भनाइ छ।

इतर समूह तितरबितर हुँदा भने देउवालाई सहज हुने देखिन्छ। गगनलाई प्रत्यक्ष निर्वाचन जितेर आएका सांसदप्रति धेरै भरोसा छ। तर समानुपातिकबाट निर्वाचित हुने ३२ जना सांसदको नै दलको नेता कसलाई बनाउने भन्ने निर्णय महत्वपूर्ण हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *