जिल्लिएको कांग्रेसको अन्तिम प्रयास- ‘ताक परे तिवारी नत्र गोतामे’

डिसी नेपाल
२५ पुष २०७९ ८:४७

काठमाडौं। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र राष्ट्रपति पनि आफैंले राख्ने हठका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट ‘लोप्पा’ खाएको नेपाली कांग्रेसले अब प्रधानमन्त्री पदलाई माया मारेर भए पनि महत्वपूर्ण पद नगुमाउने प्रयास थालेको छ।

कांग्रेसले सकेसम्म अहिलेको गठबन्धन भत्काएर प्रचण्डलाई प्रधानमन्त्री मान्ने र धेरै पद आफूसँग राख्ने प्रयास गरिरहेको छ। र, यदि अहिलेको गठबन्धन भत्काउन सकिएन भने पनि सबै पद गुमाउनुभन्दा प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारलाई विश्वासको मत दिले र केही पद आफूसँग राख्ने तयारी गरेको छ।

कांग्रेसको अहिलेको रणनीति ‘ताक परे तिवारी नत्र गोतामे’को अवस्थामा पुगेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिन २ दिन बाँकी रहँदा कांग्रेसले अहिले सकेसम्म प्रचण्डलाई प्रधानमन्त्री मानेर अहिलेको सत्ता साझेदार गठबन्धन भत्काउने रणनीतिलाई पहिलो प्राथमिकता दिएको छ।

अहिलेको गठबन्धन भत्काएर आफ्नो समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र राष्ट्रपति र सभामुखजस्ता महत्वपूर्ण पद आफूले लिने कांग्रेसको प्रयास छ। यदि प्रचण्ड अहिलेको गठबन्धन भत्काएर आउन तयार भएनन् भने पनि अहिलेकै सरकारलाई विश्वासको मत दिने र सभामुख मात्रै भए पनि आफूले राख्ने कांग्रेसको प्रयास रहनेछ।

अहिलेको सत्ता साझेदार गठबन्धन भत्काउने प्रयासस्वरुप शनिबार कांग्रेस नेता कृष्ण सिटौला बालुवाटार पुगेका थिए। उनले प्रचण्डलाई पुरानै समीकरणमा फर्किन भने। तर, प्रचण्डले भने अब त्यो सम्भव नभएको जवाफ दिएका थिए। र, प्रचण्डले यसबारे एमाले अध्यक्ष ओलीलाई पनि अपडेट गराएका थिए।

प्रचण्डबाट सकारात्मक जवाफ नपाएको कांग्रेसले अझै पनि सभामुख मात्रै भए पनि लिने प्रयास गरिरहेको छ। र, यसको संकेत शनिबार नै बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णयमा प्रस्ट देखिन्छ। बैठकको निर्णयमा कांग्रेस प्रतिपक्षमा बस्ने उल्लेख छैन।

आफूबाहेकको गठबन्धनले बहुमतसहित प्रधानमन्त्रीमा नियुक्ति लिइसकेको र आफू सरकारबाहिरको सबैभन्दा ठूलो दल हुँदा पनि प्रमुख प्रतिपक्षीको भूमिकाबारे उल्लेख नहुनुले कांग्रेस अझै पनि सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको देखिन्छ।

अहिले सरकारलाई विश्वासको मत दिएर बाँडफाँडमा सहभागी हुने हो भने कांग्रेसले एउटा मात्रै भए पनि संवैधानिक पद पाउने सम्भावना रहन्छ। संवैधानिक पदहरुमध्ये राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद अहिले बाँडफाँडका लागि उपलब्ध छन्।

यी पदहरुमध्ये अहिले एउटा मात्रै पद लिन सकियो भने भोलि त्यो पदमा निर्वाचित व्यक्तिलाई हटाउन कठिन हुने भएकोले त्यो पद आफैंसँग रहने कांग्रेसको बुझाइ छ। यी संवैधानिक पदबाट कसैलाई पनि हटाउन महाभियोग नै लगाउनुपर्छ र महाभियोग पारित गर्न संघीय संसदको दुवै सदनको दुई तिहाइ बहुमत चाहिन्छ।

यसबाहेक प्रचण्डको अस्थिर मनोवृत्तिबारे पनि कांग्रेस नेताहरु जानकार छन्। त्यसैले प्रचण्डलाई अहिलेदेखि नै विश्वासमा लिन सकियो भने भोलि मौका आउने कांग्रेसको बुझाइ छ।

शक्ति सन्तुलनमा खटपट भएमा भोलि प्रचण्ड एमाले अध्यक्ष ओलीसँग बिच्किन सक्ने र त्यो अवस्थामा आफ्नो विश्वासमा रहेका प्रचण्डलाई साथमा लिएर अर्को सरकार गठनको बाटो खुला रहने कांग्रेसको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *