मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको कामकारबाही प्रभावित

डिसी नेपाल
२८ पुष २०७९ ६:३८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हँुदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो ।

सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् । सोही गृहकार्यअनुसार प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँटमा केही सकस देखिएकाले मन्त्रीहरूको टुंगो लाग्न केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भएको छलफलमा दुवै नेता सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा एकमत देखिएका छन् । यसैबीच बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।

सो बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा थप छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए । यद्यपि, दलहरूबीच कुन मन्त्रालय कसले लिने भन्नेमा केही विवाद देखिँदै आएको छ ।

मन्त्रालय भागबन्डामा बढी विवाद एमाले र माओवादीबीचमा नै रहेको स्रोतको दाबी छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पार्टीलाई अन्य दुईवटा शक्तिशाली र काम गरेर देखाउन सक्ने मन्त्रालय दिनुपर्ने गरी लविङ गर्दै आइरहेको छ । राप्रपासमेत सरकारमा जान सक्ने देखिएको छ ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनले आफैं उपप्रधानमन्त्री तथा अन्य काम गरेर देखाउन सकिने मन्त्रालय लिएर सरकारमा जाने तयारी गरेको राप्रपा स्रोतले जानकारी दिएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले पनि महत्वपूर्ण मन्त्रालय दिनुपर्ने सर्त राखेकाले मन्त्रालय भागबन्डामा सकस बढ्न थालेको बताइन्छ । भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्न सक्ने स्रोतको दाबी छ ।

उता सत्तारूढ दलहरूमा मन्त्री हुन चाहनेको लर्को लाग्न थालेको छ । विशेषगरी माओवादी र एमालेमा मन्त्री बन्न सांसदहरूले उच्च लविङ थालेका छन्।

राजधानी दैनिकबा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *