बेलायती नागरिक अलिरेजा अकबरीलाई जासुसीको आरोपमा फाँसी दिइयो

डिसी नेपाल
३० पुष २०७९ १२:४६

काठमाडौं । बेलायत र इरानको दोहोरो नागरिकता भएका अलिरेजा अकबरीलाई फाँसी दिइएको इरानको सरकारी मिडियाले जनाएको छ । अकबरीलाई मृत्युदण्ड दिइएको थियो ।

बुधबार अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न भनिएको थियो । उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन् ।

अलिरेजा अकबरी इरानका पूर्व उप रक्षामन्त्री थिए। उनी सन् २०१९ मा पक्राउ परेका थिए । पछि उनलाई बेलायतका लागि जासुसी गरेको आरोप लागेको थियो । उनले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए।

बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो । शुक्रबार बेलायती विदेश सचिव जेम्स क्लिभरलीले इरानले मृत्युदण्डको धम्की कार्यान्वयन गर्न नहुने बताएका थिए।

ट्विटमा उनले लेखेका छन्, “यो मानव जीवनको कदर नगर्ने बर्बर शासनको राजनीतिक रूपमा प्रेरित कदम हो।”

इरानले यस हप्ता एक भिडियो पोस्ट गर्‍यो जसमा अकबरी आफूमाथि लगाइएको आरोप स्वीकार गरेको देखिन्छ, यद्यपि यो स्वीकार गर्न बाध्य पारिएको देखिन्छ।

यसअघि बीबीसी पर्शियन सेवालाई दिएको अडियो सन्देशमा उनले आफूमाथि लागेको आरोप स्वीकार गर्न यातना दिइँदै आएको बताएका थिए । उनले आफूले आरोप अस्वीकार गरेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *