दुर्घटनामा मारिने भारतीयहरूको पनि जानकारी भेटियो, फेसबुकमा लाइभ थिए, पशुपति आएका थिए
काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमा पाँच भारतीय पनि थिए । उनीहरुमध्ये चार जना उत्तर प्रदेशको गाजीपुरका थिए र काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका थिए ।
पोखरा विमानस्थलनजिकै आइतबार भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा ६८ यात्रु र चार चालक दलका ४ सदस्य थिए । तीमध्ये ५ भारतीय थिए ।
भारतको अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले यी पाँचमध्ये चारको बारेमा जानकारी दिएको छ । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने पाँच भारतीयमध्ये अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जैसवाल रहेको रिपोर्टमा उल्लेख छ ।
उनीहरु सबैको उमेर २५ देखि ३० वर्षसम्म रहेको बताइएको छ । उनीहरु सबै उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा थिए । तर, पाँचौं मृतक सञ्जय जैसवालको बारेमा भने खासै जानकारी आएको छैन ।
गाजीपुर जिल्ला मजिस्ट्रेट आर्यका अखौरीले भने कि प्रशासन मृतकका परिवारसँग सम्पर्कमा छ।
अखबारका अनुसार सोनु जैसवालको चक जैनब र अलावलपुरमा घर थियो तर हाल उनी वाराणसीमा बस्दै आएका थिए । विशाल शर्मा पनि अलावलपुर निवासी थिए। राजभर चक जैनब गाउँका र कुशवाहा गाजीपुरको नोनहरा क्षेत्रको धर्वामा बस्दै आएका थिए ।
सोनु जैसवाल पेशाले व्यवसायी थिए । विशाल शर्मा निजी कम्पनीमा कार्यरत थिए । राजभर र कुशवाहा मिलेर गाजीपुरमा सार्वजनिक सेवा केन्द्र चलाउँदै आएका थिए ।
सोनू जैसवालका बुबा राजेन्द्र जैसवालले सोनु र उनकी श्रीमती रागिनी हालै तीन सन्तानसहित वाराणसी सरेको बताए । दुवै मध्ये कान्छो सन्तान १८ महिनाको छ ।
राजेन्द्र जैसवालले भने, “दुर्घटना हुँदा सोनु फेसबुक लाइभ गरिरहेको थाहा पाएको छु। विमानभित्रको उनको भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ।”
“शनिबार मैले सोनूकी श्रीमतीलाई फोन गरेर छोराको बारेमा सोधेँ। उनले सोनु सकुशल नेपाल पुगेको र छिट्टै फर्किने बताइन्।”
यी सबै गाजीपुरवासी पशुपतिनाथ मन्दिर दर्शन गर्न काठमाडौं गएको बताइएको छ । राजेन्द्र जैसवालले द इन्डियन एक्सप्रेसलाई भने, “सोनु लामो समयदेखि पशुपतिनाथ जाने सोचमा थिए। त्यसैले अब उनले आफ्ना साथीहरूसँग योजना बनाए।”
चक जैनाब गाउँका प्रमुख विजय जैसवालले सञ्चारमाध्यममा आएका समाचारबाट पीडित परिवारले विमान दुर्घटनाबारे थाहा पाएको अखबारलाई बताए । परिवारले आफन्तलाई फोन गर्दा चारै जनाको मोबाइल स्वीच अफ भएको उनले बताए । चारैजना बसबाट नेपाल गएको उनले बताए ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै पत्रिकाले चारै जना शुक्रबार काठमाडौं पुगेर पोखरामा प्याराग्लाइडिङ गर्ने योजना बनाएको जनाएको छ । दक्षिणी नेपालको सर्लाही जिल्लाका अजय कुमार शाहले पीटीआईलाई भने, “हामी सबै एउटै गाडीमा आएका थियौं। उनीहरु पोखराबाट गोरखपुर हुँदै भारत फर्कने योजनामा थिए।”







डिसी नेपाल







Facebook Comment