कर्णाली सरकारको पहिलो निर्णय: युवा रोजगार योजना निर्माण गर्न कार्यदल

डिसी नेपाल
५ माघ २०७९ १३:१६

कर्णाली। कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। सचिव थापा नेतृत्वको कार्यदलले कर्णालीका बेरोजगार युवाका लागि प्रति वर्ष १० हजारलाई रोजगार दिने योजना निर्माण गर्न गर्नेछ।

मन्त्रिपरिषद्को पहिलो बैठकले समृद्ध कर्णालीका लागि रोजगारीमार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न कार्यदललाई ३० दिनको समयावधि दिएको मुख्यमन्त्री शर्माले बताए।

उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेगरी कार्यदल गठन गरिएको छ।

मुख्यमन्त्री शर्माले पदभार ग्रहण गरेकै दिन कर्णाली प्रदेशका १० हजार बेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने र रोजगारीमार्फत स्वरोजगार बनाउने योजना सार्वजनिक गरेका थिए।

सोही योजनाबमोजिम कार्यदलले युवा रोजगारीका लागि आवश्यक तथ्याङ्कसहित योजना निर्माणको प्रतिवेदन ल्याउने र त्यसले काम कारवाही कसरी थाल्ने भन्ने मार्गनिर्देशन गर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *