यी हुन् सभामुखको निर्वाचनमा अनुपस्थित सांसदहरू

डिसी नेपाल
५ माघ २०७९ १६:११

काठमाडौं । प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ । प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो ।

उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन् । संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् ।

प्रतिनिधिसभाले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरेको छ । बैठकमा भएको मतविभाजनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ । बैठकमा २६८ सांसद उपस्थित थिए ।

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

घिमिरे निर्वाचित भएसँगै न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी दिए । न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।

नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *