माओवादी द्वन्द्व नियन्त्रण गर्न गठित सशस्त्र प्रहरी प्रमुखलाई प्रचण्डको सलामी

डिसी नेपाल
११ माघ २०७९ ६:५४

काठमाडौं। अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा मारिएका सशस्त्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठको शालिकमा सलामि अर्पण गरेको दृश्य सबैको चर्चाको विषय बनेको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार सशस्त्र मुख्यालय हल्चोकमा दिवंगत सशस्त्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठको शालिकमा सलामी अर्पण गर्दै गरेको दृश्य सामाजिक सञ्जालमा टिकाटिप्प्णीको विषय बनेको हो।

द्वन्द्वकालमा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख कृष्णमोहन श्रेष्ठको शालिकमा प्रधानमन्त्री प्रचण्डले सलामी दिँदै गरेको तस्बीर सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

सोमबार सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित २२ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा निधन भएका श्रेष्ठको शालिकलाई सलामी अर्पण गरेका हुन्।

उक्त तस्बीरलाई लिएर सामाजिक सञ्जालमा अनेकौ टिका टिप्पणी सार्वजनिक भइरहेको छ। कतिपयले कष्टप्रद इतिहासको वर्तमानमा अनौठो संयोगको रुपमा परिभाषित गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले दिएको सलामीबारे गरिएका टिकाटिप्पणीमा अधिकांशले जनयुद्धमा आफैंले नेतृत्व गरेको पार्टीबाट हत्या गरिएका श्रेष्ठलाई सलामी दिएको परिघटनालाई दुर्लभ संयोगको रुपमा ब्याख्या गरेका छन्।

राजनीतिक परिवेशको बदलावसँगैे कतिपय सन्दर्भका राजनीतिक क्रियाकलाप समयक्रममा गलत साबित हुने यो दृश्यले देखाएकोे छ। त्यसको औचित्य पुष्टि गर्न चुनौतीपूर्ण हुने समेत यसले दर्शाएको छ।

दश वर्षे तत्कालीन सशस्त्र द्वन्द्वको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री प्रचण्ड आज देशको कार्यकारी प्रमुख छन्। उनकै नेतृत्वको पार्टीको निर्देशनमा तत्कालीन सशस्त्र प्रहरी प्रमुख श्रेष्ठको हत्या भएको सत्य हो।

तसर्थ तत्कालीन मुल नेतृत्व भएकाले त्यसको जिम्मेवार उनै हुन् । यद्यपि बदलिएको परिवेशले विगतको त्यो यथार्थतालाई आज अर्कै परिस्थितिको निर्माणको कारण अचम्मित तुल्याएको छ।

द्वन्द्वरत माओवादी शान्ति सम्झौतामार्फत युद्ध त्यागेर संसदीय राजनीति अबलम्वन गरेपछि चारपटक देशको नेतृत्व गरिसकेको छ। तर, द्वन्द्वकालमा विद्रोही पक्षसँग मुडभेड गरेका नेपालका चार सुरक्षा निकाय भने आजपनि निरन्तर पेशागत दायित्व निर्वाह गरिरहेका छन्।

तत्कालीन विद्रोही नेकपा(माओवादी) द्वारा सञ्चालित सशस्त्र युद्धको समयमा शशस्त्र प्रहरी बल गठन गरिएको थियो। २०५७ मा तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको पालामा गठन गर्ने तयारी थालिएको थियो।

तथापि २०५८ भदौ ६ मा सशस्त्र प्रहरी ऐन प्रमाणीकरण भएसँगै विधिवत रुपमा सशस्त्र प्रहरी बल स्थापना भएको थियो। माओवादी नियन्त्रण गर्न गठित सशस्त्र प्रहरी बललाई थप सुदृढ र ब्यवस्थित तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको तदारुकतामा भएको हो। सोही समय देखि नेपालमा चारवटा सुरक्षा निकाय हालसम्म कायम रहेका हुन्।

देशमा जारी माओवादी द्वन्द्व नियन्त्रण गर्न गठित सशस्त्र प्रहरी बलले तत्कालीन अवस्थामा नियन्त्रण गर्न नसकेपछि सेना परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका संस्थापक प्रमुख कृष्णमोहन श्रेष्ठ र उनकी श्रीमती नुडुप श्रेष्ठको माओवादीद्वारा २०५९ माघ १२ गते काठमाडौंमा हत्या गरिएको थियो। प्रहरी प्रमुख श्रेष्ठको हत्याको दुई दिनपछि सरकारले युद्धविरामको घोषणा गरेको थियो।

त्यही माओवादीविरुद्ध गठन गरिएको सशस्त्र प्रहरीबलको २२ औं स्थापना दिवसको अवसरमा हल्चोक पुगेका प्रधानमन्त्री प्रचण्डले उनै आफैंले नेतृत्व गरेको पार्टीबाट हत्या गरिएका श्रेष्ठलाई सलामी अर्पण गरेका हुन्।

कुनै समय सरकारको सुरक्षा निकाय र विद्रोही कमाण्डर बनेका एक अर्काप्रति आक्रामक ढंगले प्रस्तुत हुने दुबैपक्ष मध्ये माओवादी शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै यस्तो अनौठो संयोग देखिएको छ।

केही समय अगाडि यस्तै दृश्य काठमाडौंमा रुकुमका एमाले नेता यदु गौतमको स्मृति दिवसमा देखिएको थियो। माअ‍ोवादी केन्द्रका अर्का नेता जनार्दन शर्माको गृह जिल्ला रुकुमका तत्कालीन एमाले नेता यदु गौतमको हत्या द्वन्द्वकालमा गरिएको थियो। १९ औं स्मृति दिवसमा जनार्दन शर्माले उनै गौतमको तस्बीरमा माल्यार्पण गरेका थिए।

एमाले र माओवादी एकताको तयारीका बेला द्वन्द्वकालमा हत्या गरिएका गौतमको तस्बीरलाई शर्माले माल्यार्पण गरिएको दृश्यको समेत यस्तै टिकाटिप्पणी भएको थियो।

रुकुमका नेता यदु गौतम माओवादीले युद्ध सुरु गर्नुपुर्व माओवादीसँगै थिए। जब माओवादीले सशस्त्र युद्धको घोषणा गर्ने निर्णय गरेको केही समय अगाडि उनी एमाले प्रवेश गरेका थिए।

रुकुमकै संभावना बोकेका नेता गौतम राष्ट्रिय राजनीतिमा प्रभावशाली ब्यक्तित्वको रुपमा चित्रण गरिन्थ्यो। उनी माओवादी नेता जनार्दन शर्माकै समकालीन हुन्।

२०५५ को आमनिर्वाचनमा उम्मेदवार रहेका उनलाई प्रचारप्रसारको क्रममा माओवादीले हत्या गरेका थिए। गौतमकी श्रीमती तीर्था गौतम एमालेको तर्फबाट अघिल्लोपटक समानुपातिक सांसद भएकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *