गृह मन्त्रालय नछाड्ने रविको अडान, प्रचण्डले भने, “अबको गृहमन्त्री म”

डिसी नेपाल
१४ माघ २०७९ ६:२२

काठमाडौं। नागरिकता, पद र पार्टीको नेतृत्व एकैसाथ गुमाउन पुगेका निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले गृहमन्त्रालय नछोड्ने अडान राखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा रविले सो अडान राखेका हुन्। यही अडान उनले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसमक्ष पनि राखेका छन्।

सर्बाेच्च अदालतबाट लामिछानेको नागरिकता नेपाली भइनसकेको भन्दै संसद सदस्यतासहित खारेज गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट राजीनामा दिन लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बालुवाटारमा दाहालसँगलाई राजीनामा बुझाउँदै आफ्नो संसद सदस्यता नरहे पनि आफ्नो पार्टीको सम्पूर्ण सहयोग प्रधानमन्त्री दाहाल र यो सरकारलाई रहेको बताएका थिए। उनले म गठबन्धनभित्रै छु, यो फैसलाले मेरो पदमात्र गएको हो पार्टी गठबन्धनभित्रै छ, पार्टीको विश्वास यही गठबन्धनलाई छ भनेका थिए।

स्रोतका अनुसार, उनले मेरो गृहमन्त्री पदमात्र गएको हो, पार्टी त सरकारमै छ र पार्टीले गृहमन्त्रालय छोड्दैन भनेका थिए। लामिछानेको यो कुरामा छोटो प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री दाहालले अब म गृहमन्त्री भएँ भनेका थिए।

दाहालको यो भनाइले केही सशंकितसमेत भएका लामिछानेले प्रक्रियागत तत्कालका लागि प्रधानमन्त्री नै गृहमन्त्री स्वत हुने भए पनि आफ्नै पार्टीको अर्को नेतालाई गृहमन्त्री बनाइने बताएका थिए। उनले नाम भने दिएनन्।

समाचारअनुसार, राष्टिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयसहित गठबन्धनमा सामेल भएकाले आफू प्राविधिक कारणले पदबाट बाहिरिनु पर्दा पार्टीको अर्को नेतालाई सो पदमा पठाउने र गठबन्धानप्रतिको समर्थन कायम रहने बताएका थिए।

दाहाललाई भेटेर नै र ओलीलाई फोनमा उनले सो कुरा बताएको स्रोतले बतायो। लामिछानेले तत्कालका लागि नयाँ व्यक्तिलाई गृहमन्त्री बनाउन सकिन्छ भने आफू अर्को सांसदको नाम दिन तयार भएको यदि अहिले त्यसो नगरौं भन्ने हो भने हाल भइरहेकै आफ्नो पार्टीको अर्को मन्त्रीलाई गृहमन्त्रीको समेत कार्यभार दिनु पर्ने जिकिर दुबै नेतासमक्ष गरेका छन्।

उनको प्रस्तावमा ओलीले समर्थन जनाएको भए पनि प्रधानमन्त्री दाहालले मै गृहमन्त्री भएँ भन्नुले दाहाल अरु खेलमा लागेको हुनसक्ने आशंका रास्वपाका नेताहरुमा उब्जेको छ। दाहालले यस्तो फैसला होला भन्ने नसोचेको र के भएर यस्तो फैसला आएको हो? भन्दै रविलाई सान्त्वना दिन भने खोजेका थिए।

रास्वपाका एक नेताका अनुसार, रविले यो फैसलापछि आफ्ना प्रमुख कानूनी सल्लाहकारसँग परामर्श गरी राजीनामा दिने निधो गरेका थिए। उनी चाडै नै प्रक्रियाअनुसार, नागरिकता प्राप्तिका लागि सिडिओ कार्यालय जाने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *