रवि लामिछाने फेरि गृहमन्त्रीमा नियुक्त होलान्?

डिसी नेपाल
१६ माघ २०७९ ०:३०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले नागरिकता पुनप्राप्ति गरेसँगै आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार सांसद तथा उपप्रधानमन्त्रीको पद पनि गुमाएका थिए।

भेटका क्रममा लामिछानेले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा उनले प्रचण्डलाई गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए।

आज बसेको बैठकको पनि लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहने निष्कर्ष निकालेको थियो।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले भने, “गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो। त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ।”

स्रोतका अनुसार प्रधानमन्त्रीसँग लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन-२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमाले रविले नेपाली नागरिकता लिईसकेकाले उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ। प्रधानमन्त्री ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेको जनाइएको छ ।

हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन्। अन्यलाई गृहको जिम्मेवारी नदिनु ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ तयारी भएको हुनसक्ने गृह स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *