नेपालको विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका तयार

डिसी नेपाल
१६ माघ २०७९ १६:४४

काठमाडौं। अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ।

दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन्।

आइतबार काठमाडौं आइपुगेकी उनी सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। साथै प्रधानमन्त्री र नुल्यान्डबीच द्विपक्षीय सहयोग, आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौंको बसाइका क्रममा नुल्यान्डले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गरेकी छन्।

परराष्ट्रमन्त्री डा पौड्यालसँगमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूको भेटवार्ता भएको थियो। भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन्।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी हुन्। त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन्।

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन्।

उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन्।

उप-विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन्।

उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छन्। उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *