पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान

डिसी नेपाल
५ फागुन २०७९ १८:२६

काठमाडौं। महाशिवरात्रिको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथमा चहलपहल बढेको छ।

महाशिवरात्रिका लागि भक्तजन लगाएत साधुवाबाहरुको आगमनसँगै पशुपतिनाथमा चहलपहल बढेको हो। शिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो।

यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। भक्तजनहरुलाई सहज रुपमा पशुपतिनाथको दर्शन गराउन बिभिन्न स्थानबाट प्रवेश लाइनको व्यवस्था गरिएको छ।

पशुपति क्षेत्र बिकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ८० लाख बजेट विनियोजन गरेको छ। महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार नै नेपाल आइसकेका छन्।

पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरेको छ भने फूल र बत्तीले पशुपति क्षेत्रलाई सजाइएको छ। दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ।

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *