बालाजु घटनामा पक्राउ परेका ४० माथी अनुसन्धान सुरू, थप पक्राउ पर्दै

डिसी नेपाल
७ फागुन २०७९ ९:२८
100
Shares

काठमाडौँ। गत १  फागुनमा  नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ।

आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुईवटा भ्यानमा आगलागी भएको, लोत्से मल तोडफोड भएको तथा मोबाइल पसल लुटपाट भएको थियो। सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधान बन्दको घोषणा गरेका थिए भने पीडित ब्यापारीले पसल तोडफोड गर्नेलाइ हिरासतमा लिइ अनुसन्धान गर्न माग राखेका थिए।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए।

साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको सो घटनाले उग्र रूप लिएको थियो। साथै, आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो।

‘प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने थप केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिएर अनुिसन्धान गर्नेछौ,’ प्रवक्ता रिजालले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *