सिक्किममा भारी हिमपातका कारण ९०० पर्यटक हिउँमा फसे

डिसी नेपाल
२८ फागुन २०७९ १३:०६
16
Shares

काठमाडौं । भारतको सिक्किममा शनिबार साँझ भारी हिमपातका कारण सीमावर्ती क्षेत्र नाथुलाबाट फर्किएका सयभन्दा बढी सवारी साधनमा रहेका करिब ९०० पर्यटक बाटोमै अलपत्र परेका छन् ।

राहत र उद्धारका लागि सेना परिचालन गर्नुपरेको छ । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको छ। एक प्रहरी अधिकारीले केही पर्यटकलाई सेनाका जवानहरूले राति राजधानी गान्तोक ल्याएको बताए।

बाँकीले नजिकै रहेको आर्मी क्याम्पमा रात बिताउनुपरेको थियो । उनीहरुलाई बिहान राजधानी लैजाने तयारी भइरहेको छ । नाथुला र गान्तोक बीचको १५ माइल क्षेत्रमा ९०० पर्यटक फसेको सेना स्रोतले जनाएको छ ।

सीमा क्षेत्र नाथुला र यहाँको प्रख्यात चाँगु ताल हेरेर उनीहरु फर्किरहेका थिए । यो क्षेत्र गान्तोकबाट करिब ४२ किलोमिटर टाढा छ।

सीमा सडक संगठन (बीआरओ) टोली बाटोमा जमेको हिउँ हटाउन व्यस्त छन्। केही पर्यटकलाई नजिकैको सैनिक क्यान्टोनमेन्टमा लगिएको र त्यहाँ उनीहरुको खाना र उपचारको व्यवस्था गरिएको छ ।

भारी हिमपातका कारण सिक्किमको प्रशासनले केही दिनदेखि नाथुला र चाँगु तालमा पास जारी गर्न बन्द गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *