अर्थतन्त्रलाई सुधार गरि समृद्धिको लक्ष्यमा अगाडि बढ्ने सरकारको प्रतिवद्धता (भिडियो)

डिसी नेपाल
२८ चैत २०७९ १४:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको भन्दै अर्थतन्त्र संकटमा जाने शंकाबाट सुधारतर्फ अघि बढेको समेत बताए ।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको र सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुने जिकिर गरे ।

अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउन लागिएको जानकारी दिए ।

बिभिन्न संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए।

त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार गम्भीर रुपमा अघि बढेको भन्दै यसमा नीजि क्षेत्रको सहकार्य अपरिहार्य भएको बताए ।

पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने लगाएतका अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको उनले बताए।

त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाकालमा पनि नभएको अर्थतन्त्रको समस्या यसपटक देखिएको भन्दै अहिलेको अप्ठेरो अवस्था लामो समय नरहने बताए।

उनले निजी क्षेत्र समस्यामा पर्दा यसको असर मुलुकको अर्थव्यवस्थामा पर्ने भएकाले सहज बातावरण बनाउनका लागि सम्बन्धीत निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए

उनले मुलुकको उद्योगधन्दाहरुलाई सहज रुपमा चल्नदिनुका साथै वैदेशिक लगानी भित्राउनका लागि पनि सरकार उदार भएर अघि बढ्नुपर्ने धारणा राखे। महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *