केन्या सडक दुर्घटनामा ४८ जनाको मृत्यु
नैरोबी। पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु भएको छ। अल जजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुई जना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ।
केरिचो र नाकुरु शहरहरू बीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटना बारे स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले बताएका छन्- ” दुर्घटनामा तीस जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। यद्यपि पीडितको सङ्ख्या धेरै हुन सक्छ तर अहिले सम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौं।”
साथै क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको पुष्टि गरेका छन्। “केरिचो तर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका माटाटस [स्थानीय मिनिबसहरू] मा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्रुहरू र पैदल यात्रुहरूलाई घाईते बनाएको हामीले आशंका गरेका छौं, “मायेकले भने।
दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने – “मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ। इक्कासि ठोक्किएपछि म भागें। मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ। गाडीमुनि अन्य शव पनि थिए।” भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment