कविता : मैले भूले
मैले एउटा माया भूलें
यतै आफ्नै पीडा बोकें
पीडानै जीवन भन्ने बुझें
यस्तै हो जीवन भनें फेरि
मैले आज हिजो भूलें।
मैले एउटा जाल बुनें
आफ्नै निम्ति ब्यथा बोकें
जालहरूमा कथा बनाएँ
यस्तै हो जीवन भनें फेरि
हिजोको कथा आज भूलें।
मैले आफ्नै घेरा बनाएँ
यसैमा निरन्तर घुमी रहेँ
घेराभित्रै आफैं रमाइरहेँ
यस्तै हो जीवन भनें फेरि
हिजोको घेरा आज बिर्सें।
मैले आफ्नै सम्बन्ध बनाएँ
सकेसम्म यसलाई निभाएँ
सम्बन्ध आफैंमा दु:ख रहेछ
यस्तै हो जीवन भनें फेरि
केही सम्बन्ध आज भूलें।
मैले बर्षालाई आशु बनाएँ
कैयन् यादहरू यसैमा भूलें
भैलहरू फेरि मनमै बसें
यस्तै हो जीवन भनें फेरि
हिजोको बर्षा आज भूलें।
दिनहरू सपनामा लटरम्म फुलाएँ
पसिनाहरूलाइ मलमल बनाएँ
तथापि दिनहरूमा सुगन्ध हरायो
यस्तै त हो जीवन भनें फेरि
हिजोको दिन आज भूलें।
दिनहरू फूलझैं लटरम्म फुलाएँ
यसैमा जीवनको आकार बनाएँ
फूलहरूमा आफ्नो दुर्गन्ध पलायो
आफ्नै पसिना भित्र रंग हरायो
यस्तै हो जीवन भनें फेरि
हिजोको जीवन बासना भूलें।
No ads found for this position




Facebook Comment