कविता

हराएको जीवनकाे खाेजी

शुष्मा दाहाल
२० साउन २०८० ६:५७
212
Shares

भित्तामा झुन्डिएको घडीको
सेकेन्ड काँटा छक्छक् गर्दै चलिरहेछ!
म प्रत्येक पल त्यही सेकेन्ड काँटासँगै
समयकाे बित्ता-बित्ता नाप्दै
अस्ताउँदाे घामकाे घट्दै गरेको
तेज र रापसँगै ओरालाे झर्दैछु,झरिरहेछु।

जीवनलाई उकाली ओराली घाम छायाँ
सुखदुःखकाे संगम मानेर,
चित्त बुझाउँदै
समयसँगै माथि पाे चढ्नुपर्ने
तर तल तल झरिरहेछु म खै किन हाे?
समयकाे याे बिन्दुमा आइपुगेपछि
कतै आफूले सुनेका आदर्शहरु
बिफल पाे भए कि
जस्तो पनि लाग्छ।
आदर्शले कहिल्यै समयसँगै मान्छे
ओरालाे झरेर तल पुग्छ भनेन,
माथि चढ्नकै लागि धकेलिरह्याे,
प्रेरित गरिरह्याे
तर
तर,बिडम्बना,
आदर्श ब्यबहारमा खराे उत्रिनसकेन।

के यात्रा भनेकाे माथि चढ्नु मात्रै हाे?
हरेक गन्तव्यकाे बिन्दु शिखरकाे टुप्पो मात्रै हाे??
थाहा छ,
रहरहरु पूरा गर्न, इच्छाहरु फुलाउन
पाईला उचाल्नैपर्छ!
गुँड र बसेरा छाेड्नैपर्छ
म त क्षितिज पार गर्न
एक्लै पाईला चाल्दैगरेकाे मान्छे
मेरो बाटाे एक्कासि ओरालियाे,
के ओरालाे बाटाेबाट यात्रा तय गर्दा
क्षितिज भेटिँदैन?
गन्तव्यकाे उचाइमा पुग्न सकिँदैन??
के गन्तव्यकाे कुनै बिन्दुमा पुगेपछि
ओरालाे सकिएर फेरि
उकालोकाे यात्रा शुरु हुँदैन??
जसरी नागबेली डाँडाकाे टुप्पोबाट
झरेर खाेला अनि नदी किनारमा पुगिन्छ!
अनि फेरि डाँडाकाे टुप्पोमा पुग्न उकालोकाे
यात्रा शुरु हुन्छ।

समयकाे गतिसँगै आज दक्षिण तिर
ढल्किएकाे घाम पनि त भाेलि
फेरि पूर्व बाट उज्यालोसँगै सम्भाबनाका
सुनौला किरणहरु लिएर मुसुक्क हाँस्दै
झुलुक्क झुल्किन्छ….
समयकाे यही रीत र गति पछ्याउँदै
दक्षिण माेडिएकाे यात्रीले
के साँच्चै गन्तव्य भेट्टाउँदैन,,,
के साँच्चै दक्षिणबाट क्षितिज भेटिदैन??
के साँच्चै दक्षिणी ध्रुवबाट खाेजी गर्दा
हराएकाे जीवन भेटिँदैन??


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *