कप्तान दिपेन्द्र : जसले एक्लै लडेर एसिया कपमा भारतलाई हराउँदै इतिहास रचे

डिसी नेपाल
१८ भदौ २०८० ६:४३

काठमाडौं। पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा खेल्दै गरेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग पराजय व्यहोर्नुपरेको छ।

आज नेपालले भारतसँग खेल्दैछ। श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो सवा तीन बजे सुरु हुने खेलअघि नेपाली फ्यानहरुले करिब ६ वर्षअघिको ऐतिहासिक खेल सम्झिरहेका छन्।

२०७४ साल कार्तिक २६ गते आइतबारको दिन। मलेसियाको वायुमास ओभल मैदानमा अण्डर १९ एसिया कप प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल र भारत भिडेका थिए।

यो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। र, यो नेपालको राष्ट्रिय टोलीले क्रिकेटमा भारतको राष्ट्रिय टोलीलाई पराजित गरेको पहिलो पटक थियो।

यो खेलमा सर्वोत्कृष्ट प्रदर्शन नेपाली अण्डर १९ टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले गरेका थिए। उनले ब्याटिङमा मात्र नभइ बलिङमा समेत टिमका सबै खेलाडीहरुमध्ये सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए।

दिपेन्द्रको अलराउण्डर प्रदर्शनको बलमा नेपालले यो खेल जितेको थियो। र, उनै दिपेन्द्र अहिले भारतसँग एसिया कप खेल्ने टिमका महत्वपूर्ण अलराउण्डर भएकोले पनि फ्यानहरुको नजर उनीमाथि केन्द्रित छ।

उक्त खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपालको इनिङ जितेन्द्र सिंह ठकुरी र आसिफ शेखले ओपनिङ गरेका थिए। तर, ६ ओभरमा १२ रनको स्कोर हुँदा नेपाललाई पहिलो झट्का लाग्यो र ओपनर आसिफ शेख आउट भए। त्यसपछि अनिल शाह ब्याटिङका लागि आए।

तर, पावरप्ले सकिन १ बल बाँकी छँदा ६ रनको स्कोरमा अनिल शाह पनि आउट भएपछि कप्तान दिपेन्द्र ब्याटिङका लागि मैदानमा उत्रिए। त्यतिबेला नेपालको स्कोर २ विकेटको क्षतिमा २८ रन थियो। दिपेन्द्र ब्याटिङका लागि आउँदा अर्को इण्डमा ओपनर जितेन्द्र सिंह ठकुरी भने डटिरहेका थिए।

तर, २८ औं ओभरमा ठकुरी पनि व्यक्तिगत ३६ रनमा आउट भए। त्यतिबेला नेपालको स्कोर ७७ रन पुगेको थियो। दिपेन्द्र र जितेन्द्रको बलियो साझेदारी तोडिएपछि ब्याटिङका लागि रोहित पौडेल आए। यिनै रोहित अहिले राष्ट्रिय टोलीका कप्तान छन्। रोहित आउँदा कप्तान दिपेन्द्र २७ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका थिए।

रोहित आएपछि दिपेन्द्रले केही आक्रामक सटहरु खेले। ३४ औं ओभरमा रोहित ६ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा दिपेन्द्रले व्यक्तिगत स्कोर ४९ रन बनाइसकेका थिए।

त्यतिबेला नेपालको स्कोर १०५ रन पुगेको थियो। रोहित आउट भएपछि भीम सार्की ब्याटिङमा आए। भीमले केही ठूला सटहरु खेले तर ३९ औं ओभरमा व्यक्तिगत १५ रनको स्कोरमा उनी पनि आउट भए।

अर्को इण्डबाट भने कप्तान दिपेन्द्रले लगातार रन बनाइरहेका थिए। भीम आउट भएपछि आएका पवन सर्राफले पनि टिकेर खेल्न सकेनन् र १ रनमै आउट भए। त्यसपछि कमल सिंह ऐरी ब्याटिङमा आए।

४६ औं ओभरमा कमल सिंह ऐरी पनि व्यक्तिगत ५ रनमा आउट भए। तर, अर्को इण्डबाट खेलिरहेका दिपेन्द्रले यो ओभर सकिँदासम्म व्यक्तिगत ८० रन बनाइसकेका थिए।

कमल आउट भएपछि किशोर महतो ब्याटिङ गर्न आए। ४९ औं ओभरको दोस्रो बलमा भने कप्तान दिपेन्द्र आउट हुन पुगे। उनी व्यक्तिगत ८८ रनको स्कोरमा आउट भएका थिए।

उनी आउट हुँदा नेपालको स्कोर ८ विकेटको क्षतिमा १७२ रन थियो। दिपेन्द्र आउट भएपछि आएका सन्दिप लामिछानेले किशोर महतोसँग मिलेर पूरै ५० ओभरसम्म खेले र नेपालको स्कोर १८५ रन बनाए।

नेपालले दिएको १८६ रनको लक्ष्य धेरै ठूलो थिएन। अगाडि भारतजस्तो क्रिकेटको शक्तिशाली मानिने टिम थियो। भारतले यसअघि धेरै पटक अण्डर १९ विश्वकपको उपाधि पनि जितिसकेको थियो। यस्तोमा १८५ रनको स्कोर डिफेण्ड गर्नु चुनौतीपूर्ण थियो। तर, भारतले नेपालले दिएको लक्ष्य पूरा गर्न सकेन।

भारत ४८.१ ओभरमा १६६ रनमा अलआउट भएको थियो। भारतलाई सस्तैमा अलआउट गर्ने क्रममा दिपेन्द्र आफैंले भारतका महत्वपूर्ण ४ विकेट लिएका थिए। भारतका ब्याटरहरु अथर्व तैदे, अभिषेक शर्मा, शिव सिंह र मन्दिप सिंहको विकेट दिपेन्द्र आफैंले लिएका थिए। यीमध्ये अभिषेक शर्मा अहिले आइपिएल खेलिरहेका छन्।

दिपेन्द्रले पूरै १० ओभर बलिङ गरेर २ ओभर मेडन राख्दै ३९ रन दिएर ४ विकेट लिएका थिए। यस्तै पवन सर्राफ र सहाव आलमले २-२ विकेट लिएका थिए भने कमल सिंह ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिएका थिए। यो सन्दिप लामिछानेले धेरै विकेट लिन नसकेको खेल थियो। यसअघि सन्दिपले बंगलादेशविरुद्ध २ र मलेसियाविरुद्ध ५ विकेट लिइसकेका थिए।

प्रतियोगितामा समूह चरणमा भारत र मलेसियालाई हराएको र बंगलादेशसँग हारेको नेपाल समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो। समूह चरणमा मलेसियालाई मात्र जित्न सकेको र नेपाल र बंगलादेशसँग हारेको भारत समूह चरणबाटै बाहिरिएको थियो।

नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। फाइनलमा अफगानिस्तानले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

यो खेलमा खेलेका नेपाली टोलीका खेलाडीमध्ये धेरै खेलाडी अहिले एसिया कप खेल्न गएको टोलीमा छन्। तत्कालीन कप्तान दिपेन्द्र अहिले कप्तान छैनन् बरु उनको कप्तानीमा खेलेका खेलाडी रोहित पौडेल अहिले कप्तान छन्।

६ वर्षअघि भारतलाई हराउने टोलीका सदस्यहरु दिपेन्द्र सिंह ऐरी, रोहित पौडेलसँगै सन्दिप लामिछाने, आसिफ शेख, भिम सार्की, किशोर महतो गरी ६ खेलाडी अहिले एसिया कप खेल्न गएको टोलीमा छन्।

नेपालसँग हार्ने भारतीय टोलीका कुनै पनि खेलाडीले अहिलेसम्म भारतको राष्ट्रिय टोलीमा स्थान पाएका छैनन्। बरु त्यो खेलमा बेन्चमा राखिएका अर्शदीप सिंहले भने भारतको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाइसकेका छन्। उनले धेरै टि–२० अन्तर्राष्ट्रिय र केही एकदिवसीय खेलेका छन्।

यो प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेलेको थिएन। तर, पाकिस्तानको त्यतिबेलाको अण्डर १९ टोलीमा रहेका एक खेलाडी अहिले पाकिस्तानको एसिया कप टोलीमा छन् र उनले सनसनी मच्चाइरहेका छन्।

शाहीन शाह आफ्रिदी त्यतिबेला एसिया कप खेल्ने अण्डर १९ टोलीमा थिए जसले शनिबार भारतका ४ जना खतरनाक ब्याट्सम्यानलाई आउट गरेर सनसनी मच्चाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *