हरिचरण सिटौलाको सुकीर्तिमा किरण

होमनाथ सुवेदी 
२८ भदौ २०८० ११:४९
372
Shares

यो पुस्तकको आदिमा नै अनिरुद्ध तिम्सिना लेख्छन्-हरिचरण !  तिमी ज्ञानविज्ञानका सङ्गम हौ-

हरिकै अनि कोमल नाम पिता
चरणै अति सुुन्दर ज्ञान गिता ।
कुलकै जननी बदला उनले
घर नै अति सुन्दर भो जुनले ।।

हरिचरणका मोहन हुन्, होइन र? हो। मोहनका पिता पनि त हरिचरण पनि त मोहनका नै हुन् होइन र? के यी पृथक तत्व (इलिमेन्ट) बाट बनेका हुन् त? होइन, होइन। क्वान्टेम विश्वमा यी आइडेन्टिकल द्रव तरङ्ग हुन् जो एकलाई छोए अर्कोलाई असर गर्छ। यी दुवै अन्योन्याश्रित हुन्।

दुवै हाम्रो पर्यवेक्षणमा पदार्थ देखिन्छन् तर हाम्रो पर्यवेक्षणको अभावमा दुवै तरङ्ग (वेभ) हुन्। दुवै एक हो। मोहनजी मात्र होइन हरिचरणका १० जना छोराछोरी सबै उनीभन्दा फरक होइनन्।  छोराछोरी नै त उनी हरिचरण पनि हुन्। आत्मा वै जायते पुत्र।

हरिचरण सिटौला दृश्यमा अमर बनाउन उनको सुकीर्तिलाई पारदर्शी बनाउन यो हरिचरण सिटौलाको सुकीर्ति पुस्तकले उनको आत्मा वेभ जो अविनाशी छ त्यसलाई द्रव पदार्थ दृश्य स्वरूपमा अमरताको सेतु बनाउन स्वयंलाई उपादेय बनाएको छ।

यो कृतिमा यो मूर्तिमा यो शालिकमा यसमा तरङ्गित व्यत्तित्वलाई उजागर गरेर हरिचरणलाई जीवित राख्न प्रयत्न गरिएको छ। यो मानवमस्तिष्कको अनादिकालदेखि आजसम्मको इभोल्युसनको परिणाम हो। हरिचरण सिटौला यो कृतिमा अमर छन्।

अचानक यौटा क्षणमा कवीन्द्रबाट यो कृति मेरो हात पर्‍यो। पढेँ। मैले चिनेर पनि नचिनेका हरिचरण र हरिचरणका दर्जनांै नाता जो परिचित भएर पनि मबाट अपरिचित थिए ती सबैको साक्षात्कार गर्न पाएँ। ती सबै एक थिए। हामी सब एक थियौं।

कोही साथमा थिएनौं। यो अनिश्चितताको दर्शनभित्र कसरी फसें म? नास्तिमा अस्तिको खोज त म गरिरहेको थिएँ जसको सम्बन्ध म तिमी र मेरो चेतनामा सामाजिक सञ्चेतनासित थियो, सामाजिक अस्तित्वसित थियो। हरिचरणको यो प्रसङ्ग पदार्थ र वेभ तरङ्गसित जोडिएको छ।

जो ब्रह्मम् सत्यम् जगत् मिथ्या। व्रह्मको लोकमा जाने यौटा भराङ हो यो कृति। शब्द अक्षर आकाश क्यान्टेमको अन्तस्थलमा एकाकार भएर जीवित रहन्छन्। क्वान्टेम फिल्डमा हरिचरणलाई खोज्न मलाई ऊर्जा मिलेको छ।

यिनै ऊर्जाको भाइब्रेसनमा हामी एकअर्कालाई साक्षात्कार गर्न सक्छौं। क्वान्टेम फ्रिक्विन्सीसित जोडिएको अवस्थामा जन्म र मृत्युको आवरण समाप्त हुन्छ र सत्य ज्योति ऊर्जाको निराकार स्वरूपमा अवगाहन गर्न सकिन्छ।

यही मुक्तिनाथमा हरिचरण छन्। यो कृतिले त्यही कुरालाई सङ्केत गरेको मैले पाएँ। उनी जहाँ भए पनि कुन शक्तिले हो पक्कै त्यो शिव हुनुपर्छ हामीलाई हरिचरणसित जोडेको मैले कृतिबाट पाएँ।

अन्तर र वाह्य, वेभ र टोसको विराट स्वरूपको दर्शन मैले पाएँ। हामीले त केही देखेनौं सुवेदीले कसरी देख्यो यो कुरा? न भन्नुस्। तपाई त्यो कृतित्व र व्यत्तित्वको अब्जर्भर भएर बस्नुस् पदार्थ देख्नुहुन्छ नभए त्यो बेला उहाँ वेभमा हुनुहुन्छ नत्र पदार्थ प्रतीत तर दुवै यौटै बस्तु हो।

हरिचरणको विकीरण व्यापक भएको अनुभूति भए पछि मैले यो हरिनारायण भट्टराईको यो उक्तिलाई उद्धृत गरेको हुँ।

बाबा गएछौ हरिका चरणमा
नाम् सार्थकै भो हरिका शरणमा।
भयौ तिमी लौकिक दिव्य तारा
अलौकिकी आत्मिय भो सहारा।।९।।
-हरिनारायण भट्टराई

जाने र वा नजानेर, हुुनु र नहुनु त हामी ठूला पदार्थ मात्र देख्न सक्ने तर तरङ्ग (वेभ) देख्न नसक्ने लौकिक मानवले मानव–कल्याणका लागि गरिएका मानवीय तमाम प्रयत्नको मुक्तकन्ठले स्वागत गर्नुपर्दछ। निराकार भए पनि साकार त्यस्ता व्यक्तित्वको अभिनन्दन गर्नुपर्छ भन्ने तथ्यमा कवि हरि घिमिरेको कविता चरितार्थ हुन्छ।

कर्मवीर यी योद्धाको गरौँ सदैव चिन्तन
मिली सबै परिवार गरौं है अभिनन्दन।
-हरि घिमिरे (पृ.६२९)

म फेरि भन्छु- मलाई कवीन्द्रले हरिचरणको पुस्तक दिएपछि पढ्दै गएँ। एकाग्रताको पल्लोछेउमा पुग्दै पढाइमा बग्दा सपना लाग्यो—मेरो नाम पनि वालकमा हरि थियो। हरि कालो हो। खाली हो। अंध्यारो हो। शून्य हो। रिक्तता हो। ब्लाकहोल हो। लोप हो।

यो तरङ्ग (वेभ) हो। पार्थिव पदार्थ देखिए पनि क्वान्टेमको तहमा यो तरङ्ग (वेभ) नै हो। आवश्यकतानुसार अब्जरभरको अगाडि यो हरि पदार्थ मान्छे छ। यही पर्यवेक्षकको अनुपस्थितिमा यो केही होइन, सूक्ष्मतहमा यो तरङ्ग (वेभ) नै हो।

यो यस्तो तरङ्ग (वेभ) हो श्रीकृष्ण एकैपटक दुई ठाउँमा देखिए जस्तै यो हरि क्वान्टेम सूक्ष्म समयसीमाहीन यात्रा गरी विभिन्न ठाउँमा देखिनसक्छ। हरि जिरो समयमा नेपालबाट अमेरिका र अमेरिकाबाट नेपालमा ट्राभल गर्नसक्छ।

यति छिटो कि लाइटभन्दा चाँडो जिरो समयमा। यो हरि कला हो। त्यो हरि कला हो। प्रकृतिको यो संयोग मात्र होइन इन्ट्याङ्गल ब्यबहार हो। एकको स्पर्शमा अर्काको स्पर्श हुन्छ। यहाँ गाली गरे त्यहाँ दुख्छ। त्यहाँको खबर यहाँ आउँछ।

यो अजीबको वेभको गतिलाई के भन्ने मैले कुनै जादुको कुरा गरेको होइन। पदार्थको वेभमा र वेभमा पदार्थको द्वैत स्वरूपमा हरि र चरणको यो अभिव्यक्तिको समासमा हाम्रो बीच मलमास आएको मात्र हो अन्यथा हाम्रो गतिमा दूरी छैन।

हाम्रा पुर्खाले तादात्म्य भने जस्तै हामी समान छौं। यो पुस्तकले हामीलाई स्विच अन गरिदिएको छ। यो प्रकाश ममा म नै चरण हुँ र उहाँमा हरिमा एकैसाथ बत्ती बल्छ।

यत्ति चाँडो कि प्रकाशभन्दा चाँडो, सूर्यको प्रकाश पृथ्वीमा आउन आठ मिनेट लाग्छ भन्छन् तर यो यहाँ स्विचको अन भएको जिरो समयमा उता लाखौं कोश टाढा भए पनि बत्ती बल्छ। प्रकाशभन्दा चाँडो शुन्य समयमा।

होमनाथ नामांकित पदार्थ र हरिचरण नामांकित पदार्थको बीचको सम्प्रेषण वेभ पार्टिकल यौटा जादुगरी ट्राबलिङ शक्तिका कारण तत्काल हाम्रो भेट हुन्छ। हामी एक हौं। के एकोहम् पनि यहाँ जोडिन आउँछ।

म ऐले त्यो अनुमान प्रमाण मान्न जान्न। प्रयोगको कुरा गर्दैछु। हरिचरण पुस्तक पढ्दै थिएँ, छु। पढ्दापढ्दै सपना देख्छु—हरिचरण मृत थिए। हरि युएस्एमा जीवित थियो। हरि युएस्एमा मृत थियो। हरिचरण नेपालमा जीवित थिए। हरि, कृष्ण, श्यामवर्णका प्रतीक यी ब्ल्याकहोलमा प्रतीत थिए कि मलाई सन्देह नै थियो।

म ब्युँझेँ र भने-हरि एक तरङ्ग (वेभ) हो। चरण यौटा पदार्थ हो। चरणको दिवङ्गत हुुुनुले हरि दिवङ्गत हुँदैन। हरि स्वयम् शुक्ष्म यौटा वेभ तरङ्ग हो। यो काल, भूगोल र इतिहासभन्दा पर सीमाहीन गतिमा ट्राभल गर्नसक्छ तर ऊ कहिल्यै मर्दैन।

तिनै पुञ्जको नाम स्थुल रूपमा पदार्थको रूपमा मास पार्टिकलको रूपमा मान्छे हो। मान्छेको अब्जर्भेसनले विकसित मान्छेको चेतनाले यो मान्छेको जीवन मरण र अस्तित्वको विवक्षा गरिरहेको हुन्छ।

यो उदय स्थिति र प्रलयको विकार देखिए पनि निराकार देखिने क्वान्टेम चाहि यौटा वेभ नै हो जो कहिल्यै मर्दैन, बाँच्दैन, हराउँदैन ऊ सदा व्रद्मस्वरूप रहन्छ। त्यसैले पूर्वीय आचार्यहरूले भने-अहम् ब्रद्माऽस्मि, व्रद्मम् सत्यम् जगत् मिथ्या, प्रज्ञानं ब्रह्म, तत्वमसि, अयमात्मा आदि।

के यो क्वान्टेमको रुटबाट ज्ञानविज्ञानको मिलन सम्भव छ? प्रश्न यथावत् छ कुनै पनि आविष्कारको सम्भावनालाई नकार्न सकिन्न। दृश्य जगत पदार्थ मिथ्या हो वेभको सापेक्षतामा। अदृश्य वेभ क्वान्टेम तहमा सत्य हो त्यो मर्दैन, पोलिदैन, सर्दा सर्छ र सर्जन गर्छन् हाम्रो हेराइमा। यहाँ गीता सम्झें-

न जायते मृयते वा कदाचिन्नायं भूत्वा भाविता नभूयः ।
अजो नित्यः शाश्वतोऽयंं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२.२०।।

म फेरि सपनामा थिएँ। हरिचरणका हरिका रे किरणका फोटोन यौटा भित्ता पार गरेर अर्को भित्तामा देखिएका थिए। असङ्ख्य रूपमा उनका मेरो दृष्टिमा तिनै थिए १० छोराछोरीहरू म पनि उसैको अंश थिए। त्यसैले त हो मैले भनें ऐले मलाई हरिचरणको प्रतीक कृतिको समीक्षा गर्न यहाँ जुरेको छ।

यो जुराई नै हरि सूक्ष्मसित अर्को हरि सूक्ष्मको पहिचान हो, मुभ्मेन्ट हो, जन्म हो, पुनर्जन्म हो। यो सूक्ष्म क्वान्टेम पदार्थमा भएको द्वैध स्वरूप नै यो दृश्य संसार हो, चेतनाको मूल आधार हो भन्दै म जागें।

जागेपछि फेरि मेरो चेतनाले अब्जर्भ गरेको त्यो, तिमी, तपाई, हजुर, म देखें, संसार देखें। यो सत्य पनि हो यो असत्य पनि हो। त्यो मेरो चेतनाले पर्यवेक्षण गरेको त्यो तिमी र मको  सम्प्रेषणको व्यवहार नै मानव अस्तित्व बनेर उपस्थित हुन्छ र हरिचरण जिउँदै देख्छु।

म चुहानडाँडामा अन्यायीमाथि कुर्लेको देख्छु। म उही अमेरिकामा उहाँको स्मृतिग्रन्थ पढिहेको छु। हरिचरण र हरिका यी दुई उपस्थितिलाई म हरिले आकलन गरी यो म तिमी र उनी होमनाथ, हरिचरण र मोहनको तादात्म्यको वैषम्यको र एकअर्कामा आस्रित अस्तित्वको अनुभूति गढिरहेको हुन्छु।

क्वान्टम इन्टेङ्गल परीक्षणण अनुसार हामी मृत छैनौं, हामी लोप छैनौं सबै आवश्यकता अनुसार शून्य समयमा भूगोलको सीमा बाहिर पुगेर हामी सम्पर्क (कम्युंनिकेसन) गरिरहेका हुन्छौं। एकको पीडा अर्कोले महसुस गरिरहेका हुन्छौं। त्यही सम्बन्ध हो। मेरो पीडा र मोहनको पीडा एक हुनु।

यी सबै हरिचरण ती क्वान्टम एंटेंगलमेन्ट(टेलिपोर्ट) का परिणाम हुन्।  यसमा कुनै अर्को अद्भूत रहस्य मैले देखिनँ। त्यस्तै टेलिपोर्ट सम्बन्ध हो-१९९४ को अनेसासको मेरिल्यान्ड वि.वि.को साधारण सभामा कवीन्द्रको आगमन र भेट।

मोती जयन्तीमा भएको हरिचरणको आत्मज उत्तराधिकारी आजसम्म पनि सेवामा निरन्तरता दिइरहेको छ। विज्ञानले पदार्थको सूक्ष्म अध्ययन गरिररहेको र क्वान्टमको असीमित सम्भावनाहरू देखिरहेको अवस्थामा हरिचरण कहिले कहाँ हुनुहुन्छ भनेर डोकाभित्र तोरेर उहाँलाई प्रदर्शन गर्नु समुचित नहोला तर यति त भन्न सकिन्छ उहाँ हामीसितै हुनुहुन्छ यो कृतिमा होस् वा हाम्रो अन्तस्करणमा होस् जिवित हुनुहुन्छ अमर  हुनुहुन्छ यो क्वान्टम वलर््डभित्रै हुनुहुन्छ।

उहाँ सुपरपोजिसनमा नै हुनुहुन्छ। परमाणु पदार्थ पनि हो र बेभ तरङ्ग पनि। त्यसैले पदार्थ मिथ्या भए पनि वेभ सत्य हो।

साङ्ख्यले पुरुष भन्छ बेदान्तले व्रह्म भन्ला विज्ञानले क्वान्टमको दुनिया। जोसुकैले जे भने पनि हरिचरणको हुनुलाई कसैले नकार्न सक्दैन र उनको चिरस्थायित्व यो ग्यालेक्सीमा कसैले मेटाउन सक्दैन।

उनको प्रकाश चुहानडाँडामा चम्केको छ र अमेरिका हामीसम्म पनि बलेको छ यो कृतिबाट अझ जीवित छौं र सम्प्रेषित छौं। यो मैले देखेको सपना मात्र भने व्याख्येय कुरा असीम छन्।

यसको अन्तमा न आजका वैज्ञानिक पुग्न सकेका छन् न हिजोका पूर्व र पश्चिमका दार्शनिक। यो प्रसङ्ग ऐलेलाई यति मात्रमा रोक्यौं। यो चम्काइ कुनै पनि ग्यालेक्सीमा भएका विभिन्न ग्रह र ताराहरूको चम्काइ जस्तै आआफ्नो ऊर्जा अनुसार चम्किएको हुन्छ।

मेरो हातमा भएको-हरिचरण सिटौलाको सुकीर्ति नामक- यो पुस्तक वि.सं.२०७२ साल ईश्वी सम्वत् २०१५ मा नई प्रकाशनले प्रकाशन गरेको हो। यसका सम्पादकद्वय गङ्गाप्रसाद उप्रेती र राधिका दाहाल रहेका छन्।

यो कृति विश्वका सम्पूर्ण समाज सुधारका अग्रगामीहरूमा समर्पित गरिएकाले लाक्षणिक अर्थमा हरिचरण सिटौलाको आस्थाको केन्द्र नै समाज सुधार थियो भन्न सकिन्छ।

लगभग ७०० पृष्ठमा फैलिएको यो विशाल कृतिमा ९५ जनाको संस्मरण, कविता र अनुष्ठान सूची १. हरिचरण सिटौलाको नै लेखिएको ’चुहानडाँडामा शिक्षा विकासको एक छोटो चिनारी’, अनुष्ठान सूची २. तस्बिरहरू अनुष्ठान सूची ३. वंशावली क्रममा हरिचरण सिटौला अटाएका छन्।

भाषा सम्पादन महेश सुवेदीले गरेका छन् र ७०० पृष्ठको यो कृतिको मूल्य केवल ५०० नेरु मात्र राखिएको एकदम सुपथ मोल हो भन्ने मलाई लाग्छ।

हरिचरण सिटौला यो कृतिका नायक तेह्रथुम, आठराईको चुहानडाँडामा कुमाई ब्राह्मणको परिवारमा वि.सं. १९७८, असार २४ गतेका दिन द्रोणचार र माता वछलादेवी (राममाया) को कोखबाट माहिला छोरा भएर जन्मेका हुन् र वि.सं.२०४९, माघ १४ श्रीपन्चमीको दिन ७२ वर्षको उमेरमा पार्किन्सनको रोगले दिवङ्गत भएका हुन्।

त्यो बेलामा ऐनस्रेस्ताको परीक्षा उतीर्ण गरेका र हक्की प्रतिभाशाली व्यक्ति थिए। उनका पितामह दिवाकर, पिता द्रोणाचार्य सिटौला थिए।

द्रोणचार ७९ वर्षमा वितेका थिए भने हरिचरण सिटौला ७२ वर्षको उमेरमा गए। पार्किन्सनको नै चपेटामा परे पनि त्यो बेलाको नेपालीको सरदर आयु भोगेर सरस्वती पूजाको दिन प्रसाद लिएर स्वर्गे भएका र यसरी स्वर्गे हुनु उनले निस्वार्थभावले शिक्षाको विकासमा समाजसेवा गरेकै कारण भएको भन्ने यो कृतिका लेखकहरूको ठहर छ।

उनी पदलोलुभ थिएनन्। उनी अरूलाई अगाडि सारी आफू पृष्ठभूमिमा रहेर काम गर्ने व्यक्ति थिए (हेमनाथ पौडेल पृष्ठ ६५९ं) ।

यस्ता व्यक्तित्वको साधु स्वभावको फायदा उठाएर उनको स्मृतिमा छापिएको किताबमा पदमप्रसाद उप्रेतीले  उनको विषयमा लेखेको लेखमा उनकै मात्र गुणगान छ, हरिचरणको नाम एकआध ठाउँबाहेक अरू कतै परेको छैन। यस्तो हरिचरणलाई तल पारेर लेखिएको लेख यो पुस्तकमा कत्ति सुहाएको छैन।

यसमा सम्पादकको दृष्टि पुगेन वा देखेर पनि लेखकप्रति मोह र सिटौलाप्रति अन्याय गरेको मैले पाएँ। म गलत भए क्षमा चाहन्छु। हरिचरणभन्दा धेरै काम गरें भन्ने कति हिटलर नै होलान् तर तिनको बखान छाप्ने ठाउँ यो होइन।

यो सानै भए पनि हीरा, हरिचरण सिटौलाको मात्र संस्मरण गर्ने ठाउँ थियो। यो लेखबाहेक अरू संस्मरणहरू अप्रतीम छन्। यस कृतिमा संस्मरण छन्, कविता छन्, चम्पू पनि छन्।

कवितामा निम्नानुसार छन्-१.ज्ञानविज्ञानका सङ्गम-अनिरुद्ध तिम्सिना, २. आस्थाको केन्द्र कविता पं.धरणीधर न्यौपानेको छापिएको छ। हरिचरणको शिक्षासेवामा रहेको शीर्षस्थानलाई मुक्तकन्ठले प्रशंसा गरेका छन्।

यो गद्य र पद्य भएको चम्पु जस्तो छ। ३. मायाको यौटा गीत-ई.मित्र उप्रेती, ४. अमेरिकाबाट सम्झेका व्यापक मेरा प्यारा गाउँघरहरू-मोहन सिटौला, यो गद्य सकिए पछि अन्तमा यो यौटा सुन्दर कविता दिइएको छ, । ५. शालीन व्यत्तित्व-हरि घिमिरे। ६. लौकिक दिव्यतारा-हरिनारायण भट्टराई। यी बाहेक अरू सबै गद्यमा संस्मरण हुन्। ती सबै एकभन्दा एक ऐतिहासिक छन्।

मेरो विचारमा-यो कृति हरिचरण सिटौलाको सुकीर्ति मात्र हैन पूर्वाञ्चलको शिक्षा विस्तारको सुकीर्ति पनि हो।

डिल्लीप्रसाद सिटौलाका अनुसार-दूरगामी र अग्रगामी हरिचरण सिटौला सामाजिक अभियन्ता थिए।

स्वामी प्रपन्नाचार्यले हरिचरणलाई साहित्यकार भनेका छन् (पृ.३०४)।

पुष्पलाल बिष्टले हरिचरणलाई युगपुरुष भनेका छन् (पृ.२९१)।

शिवप्रसाद सिटौलाले लेखेका छन्-हरिचरण अनुशासनका विश्वविद्यालय थिए ।

कृष्णप्रसाद सिटौला लेख्छन्-खाइलाग्दो जागिर त्यागेर समाजसेवामा जुट्नुभएका हरिचरण सिटौलाको जीवनीबाट धेरै कुरा सिक्न सकिन्छ।
कवीन्द्र कान्छा छोरा भएर पनि होला सबका बाबा भए, उनको लेखाइमा पिताप्रतिको प्रगाढ ममता दर्शन्छ।

कविन्द्रका पिता हरिचरणलाई उनका पिता द्रोणाचार्यले हरिचरणलाई काठमाडौं जा, राणाको चाक्री पनि गर निजामती सेस्ता परीक्षा पनि पास गरेर जागिर खाएर आ भनेर काठमाडौं पठाएका थिए तर हरिचरणले त्यो परीक्षा प्रथम श्रेणीमा पास गरे पनि राणाको चाक्री गरेर जागिर खानभन्दा बरु स्कुल कलेज खोलेर गाउँको उत्थान गर्छु भनेर चुहानडाँडा फर्किए। उनका पिता द्रोणलाई रिस उठ्यो ।

द्रोणले पछि भाषण गर्दाको बेलाको कुरा हो। कवीन्द्रले हजुरबाको भनाइ उद्धरण गर्दै लेखेका छन्-जागिर खान पठाएको छोरो पढेर जागिर नखाई घर आएकोमा साह्रै दुःख लागि-’राजाको छोरा राजा काजीको छोरा काजी, पाजीको छोरो पाजी, म गोठालाको छोरो गोठालै।’ भनेको थिएँ।

तर अहिले यी स्कुल र कलेजले हजारौं हजार जागिरे, शिक्षक, हाकिम, विद्वान्, कवि, डाक्टर ,इञ्जिनियर  बनाएको देख्दा माइलाले त एकजनाले जागिर नखाएर जागिरको बोटै पो लिएर आएको रहेछ!’ भन्नुभएछ (पृ.१०२)। यो सबैलाई घत लाग्ने कुरा हो।

कपिल सिटौलाको लेख होइन त्यो त एक संस्मरणात्मक लघुउपन्यास नै रहेछ। पढ्न लामो तर मेरो परिचित लेखक भएकोले कपिलजीको यो संस्मरण दुदुइपटक पढें।

जहाँ जहाँ मोहनको नाम आउँथ्यो त्यो दोहोराएर पढें। कपिलजीलाई यहाँ मैले गद्यका उत्तम लेखक भएको प्रमाण पाएँ। अन्यथा मैले केवल कवि मात्र चिनेको थिएँ।

कपिलजीले पनि लेख्नुभएको छ-उहाँले कान्छी विवाह नगरेको भए हामी हाम्रा अत्यन्तै महत्वपूर्ण, अति नै प्यारा भाइबहिनीहरूबाट बञ्चित हुने रहेछौं।

खगेन्द्र सिटौला लेख्छन्- बाइस वर्षको उमेरमा समाज सेवा थालेर पचास वर्ष सेवा गरी ७२ वर्षको उमेरमा दिवङ्गत हुनुभो। यो उमेर त्यो बेलाको सरदर आयु हो। यो पङ्क्तिकारको उपन्यास यमपुरीको महलको नायक प्रेमको पनि मृत्यु ७२ मा नै गराइएको छ।

यो उमेर सरदर नै मैले लिएको थिएँ। खगेन्द्रको लेखन शैली अत्यन्त मार्मिक र सुन्दर छ। यो शैलीले पनि हरिचरणको गौरवगाथालाई शिखरमा उठाएको छ।

पं.धरणीधर न्यौपाने (शारदा उच्च मा.वि. (तेह्रथुम)का संस्थापक प्र.अ.) ‘आस्थाका केन्द्र’ शीर्षक दिएर लेख्छन्-उनलाई विद्यालय क्याम्पसका जन्मदाता शिखर युगपुरुष मान्नुपर्छ किनिकि हरिचरणकै कारणले  चुहानडाँडाले चम्कने मौका पाएको हो भन्दा अत्युक्ति हँदैन।

नरेन्द्रराज प्रसाईले लेखेका छन्-पूर्वाञ्चलभरि कुमाईको नाउँ लिँदा पनि यिनीहरूकै नाउँको एउटा बलियो छाता हुन्थ्यो।

यति हुँदाहुदै पनि त्यस्ता मान्छेका छातीले न गोरखादक्षिणबाहु भिर्‍यो, न त उनीहरूका नाउँमा हुलाक टिकट नै छापियो (पृ.२५९)। नरेन्द्रको भनाइमा सयका सय सत्यता छ। उनी अग्रगामी थिए। न उग्रवादी दक्षिणपन्थी थिए, न उग्रवादी उत्तरपन्थी। त्यसैले होला नेपालको कुनै पनि सरकारको दृष्टि उनमा परेन।

परशुराम खापुङले थाहा पाए र लेख्छन्-हरिचरण सिटौला त्यस क्षेत्रको प्रख्यात नाम रहेछ।

राधिका दाहालको वालसुलभ अनुभवहरू पढेर म स्वयम् पनि हाम्रा खलेगरामा गएको सम्झना गरें। राधिकाको यो अभिव्यक्तिमा हरिचरणका कण कतै अर्थमा इन्टेङ्गल भएको अनुभूति हुन्छ-

हे बादल ! सूर्योदय नढाकिदेऊ
त्यहाँ मेरा जनकको
नयनदर्शन गर्दै
जीवनलाई गतिशील बनाउनुपर्छ।

यस्ता उद्धरण त कति हो कति! उतार्न थाले सबै पुस्तक उतार्नुपर्छ। यस कृतिमा पूर्वाञ्चलका रापस, सांसद, मन्त्री र कवि, लेखक, तथा विद्वान्हरू, आफ्ना सन्तान र बन्धुवृत्तको प्रतिनिधित्व भएको छ र सबैले कुनैनकुनै रूपमा हरिचरण सिटौलाको अमरताको कामना गरेका छन् र उनको स्मृतिमा हरिचरण वालकल्याण पुरस्कारको स्थापना गरेका छन्।

यी सिटौलाले अनेसासमा सिटौला कविता पुरस्कार चलाए र अनेसासका अरू धेरै पुरस्कार पनि जितेका छन्। यी सबैमा हरिचरणको किरण प्रकाशित भएको छ। कति लेख्ने? पुस्तक साँच्चिनै पठनीय छ र हरिचरण सिटौलाको जीवनवृत्तबाट धेरै पाठ लिन सकिन्छ।

तमोर नदीमा बनेको ठूलो पुल जसलाई सिटौला पुल पनि भन्ने गर्छन् त्यो नै त्यो क्षेत्रको शिक्षाको सेतु थियो। नाम वा कृति वा कीर्ति हरिका चरण र चरणमा हरिलाई ठोस रूपमा उतार्ने रचनात्मक प्रपञ्च हुन्। जति बुझ्यो उति बुझ्न शेष। यति भनौ, उनी निर्मूल भएर फैलिएका छन्।

उनी छन् फोटोनमा, वेभमा, हावामा, तरङ्गमा, हंसमा, परम् आत्मामा, कण कणमा हामीले नदेखे पनि उनी छन् सत्यको तत्वमा। उनलाई पारदर्शी बनाउने यौटा दर्पण हो यो ‘हरिचरण सिटौलाको सुकीर्ति‘ कृति।

अनुष्ठान सूची ३. वंशावली क्रममा हरिचरण सिटौलालाई हेर्दा छोटो मीठो र पुरुष मात्र हैन महिलाको पनि नाम समावेश गरिएको छ।

शंकर, केशौ (केशव), धर्मानन्द, श्रीकृष्ण, विश्वेश्वर, शिवनारायण, कुस्माखर, दिवाकर, द्रोणचारका माहिला पुत्र हरिचरण सिटौला भए। हरिचरणका लक्ष्मीदेवी पाठक र मनमाया मैनाली दुइवटी श्रीमती थिए। दुवै नालबाट गरी १० जना सन्तान भए।

ती हुन्-मोहन, शिव, राम, माया, देवेन्द्र, चैतन्य, खगेन्द्र, नगेन्द्र, राधिका, डा.विजया, कवीन्द्र सिटौला। नातिनातिना ४१ जना छन्। हरिचरणका सन्तान ५१ जना छन्। यिनका पति पत्नीको जोड्दा यसले १०० नाघ्छ।

हरिचरणका १० जना छोराछोरी पाएर आज उनका नेपालभित्र र नेपाल बाहिर डायस्पोरामा समेत भरिएका छन् र नेपालको नै प्रतिनिधित्व गरिरहेका छन्। उनले शिक्षाको ज्योति बाल्न अनवरत सुकीर्तिको काम त गरेकै थिए।

वंशको विकासमा पनि १० का १० अङ्क ल्याएर उनको जातिलाई विशाल बनाएर र नेपालीको उन्नतिमा लगाए। उनी यिनैमा पनि उनी अमर भए। वेभ पार्टिकल र लोकल ठोस पार्टिकलमा उनी स्मरणीय रहेका छन्।

परिवार नियोजनको हावामा लागेर तीनजनाभन्दा बढी सन्तान बनाउन हुँदैन। सानो परिवार सुखी परिवार भन्ने भ्रामक गुलियोको मिठास नलिएर सन्तानको कटौतीतर नलागी वंशको वृद्धि र विकासमा पनि आस्था राख्दै समाजसेवामा लाग्नुभयो।

यदि हरिचरणले मोहन, शिव र राम ३ जना छोरा मात्र पाएर परिवार नियोजन गरेका भए मैया, देवेन्द्र, चैतन्य, खगेन्द्र, नगेन्द्र, राधिका, डा.विजया, कवीन्द्र जस्ता होनहार गृहस्थि, नेता, डाक्टर, इन्जिनियर, साहित्यकार र प्राध्यापक बुद्धिजीवीहरूबाट हाम्रो नेपाली समाज बञ्चित हुन्थ्यो।

क्रमभङ्गता उपन्यासमा भए जस्तै के थाहा हरिचरणका ३ जना अरू नै कोही भएर मोहनजी नै पनि नजन्मने हुनसक्थ्यो कि! ७ जनाको घाटा सिटौला वंशको त हुन्थ्यो नै नेपालबाट डायस्पोरामा नेपालीको घाटा हुन्थ्यो।

त्यो घाटाबाट हरिचरणले हामीलाई मुक्ति दिए र आफू यी आत्मज र आत्मजामा प्रत्यक्ष अमर रहेका छन्। उनको वंश वेभ पार्टिकलले यो क्वान्टम विश्वमा प्रत्यक्ष वा परोक्षमा अमरताको प्रमाण दिइरहने छन्। १० जना आफ्नै छोराछोरी र नातिनातिना ४१ जना गन्दा ऐलै उनी ५१ जनामा अवस्थित छन्।

यो सङ्ख्या बढ्दै जाँदा एक दिन यी विद्वान्विदुषीहरू धनकुबेर बन्दै एलेनमस्कको मार्समा रिहाब गर्न पनि सक्नेछन्। त्यसैले त पहिले अपुतो नरक जान्छ भने होलान्। नरक भनेको समाजमा नाम राख्ने श्रद्धा गर्ने उत्तराधिकारी नहुनु हो।

त्यसैले हाँसो पनि हो साँचो पनि हो- अब मान्छे मार्समा जान्छन् भन्ने अर्थमा जनसङ्ख्या बढाउनु आवश्यक छ।
एलेनमस्क जस्ता वैज्ञानिकले नयाँ ग्राहक खोजिरहेका छन्।

त्यसमा हामी नेपालीले पनि हरिचरणले जस्तै चौतर्फी विकासको जग बसाल्दै गए, हामी नेपालीका सन्तान पनि विश्वमा अरूसित प्रतिद्वन्तिता र सहकार्य गर्दै हामीलाई सगरमाथाको प्राकृतिक प्रदत्त भौगोलिक गरिमा मात्र हैन नवोन्मेषी प्रतिभादत्त बौद्धिक महिमाले चन्द्रमा र मार्समा पनि बस्ती बसाएर हाम्रो नाम उच्च राख्न सफल बनाउनेछन्।

त्यसैले हरिचरणबाट सिकौं, सेवा गरौं डाक्टर, इन्जिनियर र अन्यान्य प्रतिभाशाली वैज्ञानिकहरूको सन्तान बढाऊँ। परिवार नियोजन गरेर आफूलाई आफैले नाश नगरौं। यही भन्छ यो कृतिले।

प्रेम, प्यार, शिक्षादीक्षा, नयाँ अभियान, विजय र अमरता यस कृतिका पाठ हुन्। फेरि भन्छु-वंशवृद्धि परिवार नियोजनको प्रश्नमा-आज स्पेस ट्राभेल, वायोसेन्ट्रिक हुनु र आर्टिफिसियल इन्टेलिजेन्सको जमाना हो।

मुन र मार्समा मानव-बस्ती बसाउने म्याराथुनमा रक्तबीज जस्तै जति मरे पनि मारे पनि हाम्रो जनसङ्ख्या सदा सर्वदा बढिरहोस्। दियोमा तेल थपी राख, बाती फेरिराख बत्ती कहिल्यै मर्दैन।

तिमी बत्ती बनेर बाँचिराख । कुलदीपक बनेर अमर बनिराख। यो कृतिका प्रथम कवितामा विद्वत्वर कवि अनिरुद्ध तिम्सिनाले हरिचरण सिटौलाको गौरवगाथा यसरी गाएका छन्-

तिमी बाँच ! सधैँ कुलदीपक भयौ
धुन कोकिल सुन्दर सीप भयौ ।
फुलकै तिमि कोमल ओठ भयौ
दुःखीका घर आँगन ओठ भयौ ।

खगेन्द्रले उल्लेख गरे जस्तै मोहनजीको संस्मरणको उपसंहारमा पिताको हंस, त्यो वेभ आंखाका दिव्यज्योतिमा प्रवाहित भएको देखे। त्यस तत्वको अमरताको परिकल्पना गर्दै त्यो क्वान्टम वेभ तरंगको अस्तित्वलाई स्वीकार गर्दै मृत्युपूर्व मोहनले देखेको भोगेको लेखेका छन्-अत्यन्त कान्तिमान् बिहानको सुनौलो झुल्के घाम जस्तै अनुहार बलेका आँखामा दिव्यदृष्टि…..!

लेखक अनेसासका संस्थापक अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *