कथा : मन्त्रीकी आमा

खेमराज पोखरेल
१८ कार्तिक २०८० ९:०४

मैले मन्त्रीकी आमालाई धन्यवाद भनेँ र चुपचाप फरिको खोलें। बाहिर निस्केँ। आकाशतिर हेरेँ। चराहरु उडिरहेका थिए। घाम पहेँल्चो भएको थियो। बादलहरु मडारिएका थिए। ठूलो बादलले सानो बादललाई लखेटिरहेको थियो।

आकाश निलो हुन्छ भन्थे। बादल लागेको थियो। बादलले छोपेको थियो। मेरा मनमा प्रश्नहरु कुँडुलो परेर आइरहे छन्। खोइ निलो आकाश? खोइ सत्य आकाश? के म आकाश फेला पारुँला?

०००००

म धर्मवीर सुनुवार मन्त्रीको सहरको घर खोज्दै डल्लुको सिभिल होममा पुगेको थिएँ। गुलाबी बगैँचा। झर्ना। ठूलो बैठक कोठा। बेलायती काउचहरु। इटालियन गलैँचा। माछा पौडी खेल्ने बाकसे पोखरी। कोठाभरिको दराज र त्यसमा सजाइएका सजावटका सामान। नेताले फर्माएका थिएः

‘यो चीनका राष्ट्रपतिले दिएको चिनो’
‘………………………………..’
‘……………………’

मैले यी प्रभावशाली मन्त्री हुन् भन्ने कुरा बुझिहालेँ। विनम्र भावमा भनेको थिएँः

‘हजुर, हजुरको जीवनीको बारेमा जानकारी पाउनु थियो। हजुरको जीवनीको बारेमा शोध गर्नु थियो’

‘हुन्छ, राम्रो लेख्नू है। जे पायो त्यही नलेख्नू नि। पढेलेखेका मान्छेसँग मलाई डर लाग्छ। छिद्रान्वेशी हुन्छन्। आफू बनाउन जान्दैनन्। बनाएको भत्काइ दिन्छन्’ मन्त्रीले प्रस्टसँगै भनिदिए। र एकछिनपछि हाँस्तै भनेः

‘अचेल त शोध किन्न नै पाइन्छ भन्छन्, लेख्ने मान्छे नै पाइन्छ भन्छन्, म त के जान्न गएँ र? छापामा आएका कुरा हुन् है’

म असमन्जसमा परेँ। आफूलाई दह्रो बनाएर भनेँः

‘म त आफैँ गर्ने हो। राम्रो गर्ने हो। सत्य तथ्य लेख्ने हो’।

‘खाक सत्य तथ्य लेख्नुहुन्छ? यो संसार बुझ्नु भो जे देखिन्छ त्यो होइन, जे होइन त्यही देखिन्छ। झन् राजनीतिमा त भएको देखिँदैन। देखिँदै देखिँदैन। र नभएको मात्र देखिन्छ। मिलाएर चल्छ जिन्दगी। हामी त मिलाउनेमा विश्वास गर्छौँ’ मन्त्रीको अनुहार एकाएक क्रोधिलो भएको थियो। म डराएँ। बन्दुक बोकेको मान्छे त्यहीँ थियो। श्वास थामेँ। तै पनि भनेको थिएँः

‘हजुर एउटा अध्ययन त हो नि’

‘हो नि हुन त, तर त्यसैलाई पत्रकारले तिललाई पहाड बनाइ दिन्छन्’ मन्त्री पिएपट्टि फर्किए र भनेः ‘यी बाबु पि.एच.डी. कि सि.एच.डी. खोइ के गर्दै छन् अरे। खोइ थेसिस कि फेसिस के लेख्छन् अरे। मेरो जीवनी लेख्छन् अरे। मेरो जीवनी लेखिनै पर्छ। मेरा बारेमा सबै कुरा यी बाबुलाई टिपाइ दिनू। पछि तलमाथि पर्ला । खर्चपानीको व्यवस्था पनि गरिदिनू’

म उम्कन चाहन्थेँ। त्यसैले हतार हतार भनेको थिएँः ‘खर्चपानी पर्दैन हजुर’

पिएले काटेर राखिएका पत्रिकाका दुइटा फाइल र केही पुस्तक पनि दिई पठाएका थिए। पि.ए.ले मन्त्रीका बारेमा सबै कुरा बताएका थिए। र अन्त्यमा भनेका थिए : ‘ख्याल गर्नुस्, यिनले पढेकै छैन। तर एम.ए. पासको प्रमाणपत्र छ।

भर्खरै विश्वविद्यालयले मानार्थ विद्यावारिघि पनि दिएको छ। त्यो त्यसै आएको होइन। यो सबै तारतम्यले भएको हो। तारतम्य माने ‘सेटिङ’। विचार पुर्‍याएर लेख्नु होला। राजनीति गर्ने मान्छेलाई अर्काको ज्यान दालभातभन्दा सजिलो हुन्छ। यत्ति कुरा बुझ्नुस्। है त। राम्रो लेख्नु होला, खर्चपानी चाहिए सम्पर्क गर्नु होला’

०००००

म मन्त्रीज्यूको गाउँको घर सोद्धै खोज्दै पुगेको थिएँ। फरिकोले छेकेको घरको आँगन बाहिर टक्क अडिएको थिएँ। अति सामान्य देखिने गाउँले परिवेशको घर। अलिअलि करोटनका बिरूवाहरु। घरको आँगनको पल्ला छेउमा देखिनु भएकी अलि पाकी देखिने महिलाले सोध्नुभएको थियोः ‘को हो? कसलाई खोज्नु भो?’

मैले हतार हतार भनेको थिएँः ‘हजुर यो धर्मवीर नेता मन्त्रीज्यूको घर हो?’

महिलाले अनिच्छुक हुँदै उत्तर दिनुभएको थियोः ‘को धर्मवीर ?, को धर्मवीर मन्त्री?, छैन छैन, यो कुनै नेताको घर होइन। यहाँ कुनै मन्त्रीको घर छैन। यो घर त झन् हुँदै होइन। यहाँ कोही मन्त्री बस्तैन’

‘हजुर, मान्छेले यही घर हो भनी देखाइ दिएका हुन्। एउटा जरूरी काम थियो मन्त्रीकी आमासँग। हजुर मन्त्रीज्यूकी आमा हो?’ हरियो सारी पहेँल्चो चौबन्दी चोलो लगाएकी उमेर करिब असीमाथिकी देखिने महिला नै मन्त्रीकीे आमा हुन् भन्ने ठम्याउन मलाई गाह्रो भएको थिएन।
‘भित्र आउनुस्’ मन्त्रीकी आमाको आदेशसँगै म भित्रिएको थिएँ।

०००००

‘बाबु, चिया लिनुस्’ मन्त्रीकी आमाको स्वरले म झसङ्ग भएको थिएँ। काठे कुर्सीबाट चलमलाएँ। म त अतीतमा पुगेको रहेछु। मन्त्रीको सहरिया वैभवमा हराएको रहेछु। ओहो यो त मन्त्रीको गाउँको घर पो हो त। म तर्सिएँ। मैले सतर्क हुँदै आफ्नो परिचय दिन थालेको थिएँः

‘हजुर म रतनराज साङपाङ। विद्यार्थी। विद्यावारिधि गर्दै छु। मन्त्रीज्यू धर्मवीरको बारेमा शोध गरुँ भनेर लागेको छु। हजुरबाट उहाँका बारेमा जानकारी चाहिएर आएको हुँ’

‘ए साङपाङ बाबु! तपाईँले शोध गर्ने कोही मान्छे, कुनै विषय र कुनै घटना पाउनु भएन र त्यो कुकर्मीलाई भेट्नु भो’ यति भन्दै मन्त्रीकी आमा घरभित्र छिर्नुभएको थियो।

म चुपचाप बसेँ। केही बोलिनँ। मेरा दिमागमा अब्डेरो निर्देशकको निर्देशन भेलजस्तै आउन थाल्योः ‘साङपाङजी, अनुसंधान गर्नु साधारण कुरो होइन। त्यसमाथि कुनै पनि नेताको बारेमा अनुसंधान गर्नु फलामका च्युरा चपाउनु जस्तै हो।

नेताका विषयमा छापामा आएका कुरा त कि अन्धभक्ति हुन्छन्, भक्ति माने पूर्ण समर्पण। अस्तित्वको विलय। कि ठाडो विरोध हुन्छ। ठाडो विरोध माने बाटो हिँड्दा गन्हाउने। यो विद्यावारिधिको शोध हो।

यो बगम्फुसे जीवनी लेखन होइन, न त नेताले नै पैसा दिएर लेखाएको प्रशस्तिमूलक जीवनी नै हो। त्यो त सजिलो हुन्छ। फूल, चन्दन र अक्षता। अलिकति चातुर्यको लिपनपोतन। त्यसकारण यो थेसिसलाई ‘अथेन्टिक’ बनाउन बढीभन्दा बढी प्राथमिक स्रोत खोज्नु होला’

काठको मेचमाथि बसेको म बिचरोको धरातल हल्लिन थालेको थियो। घरभित्रबाट मन्त्रीकी आमा हातमा आफूलाई चियाको कप लिँदै आइपुग्नु भयो। उहाँ भन्दै हुनु हुन्थ्योः

‘उसले आठ मात्रै पढेको हो। त्यो पनि के पढेको भन्नु ? स्कुल गएको होइन। उसले हामी परिवारलाई साह्रै दिक्क लगायो। न बसी सुख, न उठी सुख बनायो। म एकल महिला, सम्झनुस् त बाबु, मेरा श्रीमान्को बिरासत यो जिन्दगी मैले कसो गरेँ होला। कसोगरी यहाँसम्म आएँ होला?’

मन्त्रीकी आमाको अनुहारमा उदासीपन देखिन्थ्यो। सेतै फुलेका कपाल, चाउरी परेको अनुहार र कपास जस्ता सेता आँखी भौँ र एकाध बाँकी रहेका दाँतहरुमा पनि एउटा लामो पर्खाइ देखिन्थ्यो। एउटा गर्बिलो अनुहार देखिन्थ्यो। पाको। खारिएको। उहाँ फेरि भन्न थाल्नुभयोः

‘ऊ चरित्रवान् थिएन। छिमेकबाट, पल्लो गाउँबाट, मेलाबाट, धामबाट ऊ पक्राउ पथ्र्यो। सहिद पुत्र भन्दै छोड्थे पुलिस। हेर्दा हेर्दै ऊ गुन्डा भयो। हेर्दा हेर्दै ऊ, भो नभनौँ, सबैथोक भयो, जे नहुनु पथ्र्यो, भयो। जे नगर्नु पथ्र्यो, गर्‍यो। गाउँका छोरीचेली पनि भनेन। बाहिरका त कुरै नगर्नुस्।

एकदिन ऊ एकाएक हरायो। परिवारमा शान्ति भयो। टोलमा शान्ति भयो। गाउँमा शान्ति भयो। मान्छे भन्थे उसलाई सेनाले मार्‍यो। मुठभेडमा पर्‍यो। कोही भन्थे उसलाई माओवादीले मारे। माओवादी कमान्डरकै श्रीमतीसँग सल्केको थियो अरे। कमान्डरले कन्चटमा गोली ठोकिदियो अरे। उसका बारेमा नानाथरी कुरा सुन्नु पथ्र्यो। कुरा सुन्नुबाहेक अरु कुरा हाइसन्चो थियो। ऊ थिएन। सम्झिएकी थिएँः ‘एउटा फुल फुट्यो। एउटा टन्टा खलास भयो’

मन्त्रीकी आमा एकछिन चुप लाग्नुभयो। उहाँको अनुहारभरि वेदनाका भुमरीहरु देखिन्थे। सारीको सप्कोले अनुहार पुछ्नुभयो। सायद आँसु हो कि धुलो, ठम्याउन सकिएन। उहाँ मलीन अनुहार लगाएर लामो श्वास लिएर भन्न थाल्नुभयोः

‘तपाईँलाई लागिरहेको हुन सक्छ कि म कस्ती आमा हुँ?, आफ्नै सन्तानलाई यस्तो भन्ने? यस्तो ठान्ने? हेर्नुस् साङपाङ बाबु, सबैभन्दा ठूलो देश हो, समाज हो, सभ्यता हो, संस्कृति हो। देश भनेको देश हो। र देश विकास गर्नु भनेको सुपरिवर्तन गर्नु हो।

हामीले कमाएका सम्पत्तिहरु, नामहरु, दामहरु, भावनाहरु, पहिचानहरु ती सबै देशले हामीलाई दिएको हो। एकछिन कल्पना गर्नुस् देश खोसिएकाहरुका बिचल्नी। पहिचान खोसिएकाहरुको नियति। तिनीहरुका जिजीविषा। तिनीहरुका छटपटाइरहेको आत्मा। देश चिरस्थायी हो बाबु। सार कुरा यत्ति हो।

यसो भनिरहँदा उहाँको अनुहार दर्बिलो र गौरवले भरिएको थियो।

‘यो देश त्यसै बिग्रेको होइन बाबु। नेता पालै पालो देश बेच्छन्। विद्वान्हरु तिनैका तलुवा चाट्छन्। विद्वान्ले गर्ने भनिएको शोधको निष्कर्ष पहिले नै निस्किएको हुन्छ। कर्मचारी सेवक हो, तर ऊ मालिक ठान्छ। मानौँ उसको त्यो जागिर पैतृक सम्पत्ति हो।

कृषक खेती नगर्ने, मास्टर नपढाउने, कोही आफ्नो काम नगर्ने। र सबै राजनीति गर्ने। राजनीति केका लागि भने देश बेच्न, दौलत थुपार्न। के काम? त्यो राजनीतिको के काम ?

म धमाधम टिपिरहेको थिएँ। मन्त्रमुग्ध हुँदै सुन्दै पनि थिएँ। बिच बिचमा केही सोद्धै पनि थिएँ। खासमा मलाई आफ्नो थेसिसको चिन्ता भइरहेको थियो।

उहाँले कुराकानीलाई अगाडि बढाउनु भयोः

‘ए अँ, ऊ त मरेको रहेनछ। ऊ त मारिएको रहेनछ। ऊ केही वर्षपछि फुत्त निस्क्यो। नाम फेरेर निस्क्यो। पहिचान फेरेर निस्क्यो। पहिरन फेरेर निस्क्यो। उसले सुरू सुरुमा गरिबका समस्या भन्न सिकेछ। वर्गीय समस्या भन्न थालेछ।

सिकेछ। ऊ समाजमा वर्ग मेटाउन भन्दै हिँड्न थालेछ। धनी गरिबको परिभाषा जानेछ। एकदिन ऊ टुप्लुक्क घर आयो। र हामीलाई पो गरिब के हो? धनी केहो? शोषण के हो?, राष्ट्रियता के हो? शोषणको अन्त्य कसरी गर्ने भनेर सिकाउन थाल्यो। गुन्डागिरी गर्ने मान्छे प्रजातन्त्र सिकाउन थाल्यो।

क्या फसाद, जीवन भोग्ने हामी, गरिब धनीको माखेसाङ्लोमा अभिशप्त बाँच्नु पर्ने हामी, ऊ पो सिकाउँछ। ठानेँ ठिक छ। देर आए दुरूस्त आए। ऊ आयो। गरिबको मुक्तिको, अन्यायको अन्त्य, जनताको शासनमा अधिकार जस्ता समाज सुधारका कुरा गरेरै आयो। ठानेको थिएँ सुध्रियो’

मन्त्रीकी आमाले लामो श्वास फेरिन्। पानी पिइन् र भनिन्ः

‘होइन रहेछ। उसले छेपारोले जस्तो रङ पो फेरेको रहेछ। ऊ वर्ग छोडेर जात भन्न थाल्यो। जातीय मुक्ति भन्न थाल्यो। एकाएक उसको परिभाषा बदलियो। जातहरु अघि सरे। थरहरु अघि सरे। गोत्रहरु अघि सरे। मुक्ति खोज्न। त्यो हुँदै नभएको मुक्ति। त्यो निरपेक्ष मुक्ति।

यो देशलाई यसरी सिन्की बिग्रेजस्तो बिगार्न मान्छे अघि सरे। यो विध्वंसको कसले लिने जिम्मेवारी? कुन जातले लिने? कुन धर्मले लिने? कुन थरले लिने? हेर्नुस् बाबु, देश बेच्नेले दौरा सुरूवाल लगाएरै बेचेका छन्। भादगाउँले टोपी लगाएरै बेचेका छन्। नेपाली भाषा बोलेरै बेचेका छन्।

त्यसो भनेर के दौरा सुरूवाल र टोपीले त्यसको अपजस लिने? देश बेचुवाको कुनै धर्म हुन्न। कुनै जात हुन्न। कुनै भाषा हुन्न। कुनै भेष हुन्न। झन् अहिले त देश, धर्म, जात, भाषा र पहिरनमाथि नै धावा बोलिएको छ। र यसको माध्यम त्यो हो। त्यसैले त्यो देश बेचुवा हो’

मन्त्रीकी आमाले काठका दलिनतिर हेर्नुभयो। एउटा लामो उच्छ्वास फ्याँक्नुभयो र फेरि भन्न थाल्नुभयोः

‘अनि ऊ त जातीय मुक्तिभन्दा भन्दै क्षेत्रीय मुक्तिको कुरा गर्न थाल्यो। क्षेत्रीय भन्दाभन्दै धार्मिक मुक्तिको कुरा गर्न थाल्यो। उसको यो लाममा तपाईँहरु जस्ता बुद्धिजीवी पनि पछि लागे। अहिले हेर्नुस् त बुद्धिजीवीको दुर्दशा। सही बुद्धिजीवी खोज्न त टर्च बालेर पनि नपाइने भयो’

भित्तामा टाँसिएको ठूलो तस्बिरलाई देखाएर उहाँ फेरि बोल्न थाल्नुभयो। बोल्दा उहाँमा कहिले गौरवबोध हुन्थ्यो भने घरी उदासीः
‘यो मेरो श्रीमान्को तस्बिर हो। २००७ सालको आन्दोलनमा बित्नु भो। मारिनु भो। नृसंश तरिकाले काटिनु भो।

भन्नु हुन्थ्यो, देशको लागि ज्यान ठूलो होइन। र अहिले यो पाजीले मेची बेच्यो। महाकाली बेच्यो। गण्डकी बेच्यो। कर्णाली बेच्यो। र अब पुरै देश बेच्न खोज्दै छ र तपाईँ विश्वास गर्नुस् बाबु यस्तै व्यवस्था रहेसम्म यसले एक दिन देश बेच्नेछ।

र मेरो भगवान्सँग प्रार्थना छ कि यो दिन देख्नुभन्दा पहिले नै म मरि जाऊँ। देश छँदै देशकै छातीमा मरुँ। देश जोगाउन लडीलडी मर्ने मेरा योद्धा श्रीमान्को गौरवशाली फोटो च्यापेर मर्न पाऊँ। उहाँकै गौरवमा समाहित हुन पाऊँ’

यसो भनिरहँदा उहाँका आँखा रसाएका थिए। व्यग्र प्रतीक्षाको वेदना देखिन्थ्यो। उहाँले कुरा अगाडि बढाउनुभयोः

‘म पनि क्रान्तिको झण्डा बोकेर होमिएकी थिएँ। श्रीमान्को हातमा हात राखेर मानव साङ्लो बनाएकी थिएँ। पापी निरङ्कुशताले मेरै हातबाट मेरो श्रीमान्लाई खोस्यो। उहाँलाई मार्‍यो। मलाई महिला भनी छोडिदियो। मेरो दुर्भाग्य।

त्यसैबेला मलाई पनि मारेका भए मलाई आज यो दिन देख्नु पर्ने थिएन। तपाईँहरु जस्ता विद्वान् त्यो कुपुत्र महान् हो भनी पुष्टि गर्न आएको मैले हेर्नु पर्ने थिएन। मैले भोग्नु पर्ने थिएन। विद्वान्हरु यति कायर र लाक्षी भएको आफ्नै आँखाले हेर्नु पर्ने थिएन’

मन्त्रीकी आमाको हृदय विदीर्ण भएको थियो। छियाछिया भएको थियो। मन्त्रीकी आमाको विरक्तिएको स्वर फेरि सुनियोः

‘त्यो मेरो छोरो नहुन पर्छ। मेरो श्रीमान्को क्रान्तिकारी वीर्य र मेरो आन्दोदित विशुद्ध रजबाट त्यस्तो पाजी, त्यो जन्मिनै सक्तैन। त्यो जन्मँदा अस्पतालमा साटिएको हुनुपर्छ । साटिएको होइन भने त्यो किन गर्भमै मरेन? मेरो योनीका पत्रले किन किचेर मार्न सकेन?’

एकछिन सन्नाटा छायो। मेरो मन एकतमासको भएछ। म चुप लागेँ। मुजैमुजा परेको रवाफिलो उहाँको अनुहार उज्यालो देखियो। फेरि उहाँ भन्न थाल्नुभयोः

‘जे भए पनि ऊ मन्त्री भएको छ, म आमा हुँ, देशको भलो होस्। उसको भलो होस्। भगवानले उसको बुद्धि फिराऊन्’

म फरिको खोलेर बाहिर निस्केको चोकको चिया दोकानमा पुगेँ। मन एकतमासको भएको थियो। जगको पानीले मुख धोएँ। चिया अर्डर गरेँ। चिया दोकानमा एकजना अपाङ्ग वयस्क व्यक्ति पनि हुनुहुन्थ्यो। चिया खाने क्रममा मैले आफू आएको प्रयोजन बताएँ।

ती अपाङ्ग व्यक्ति एकाएक क्रोधिलो हुनुभयो। उहाँ भन्न थाल्नु भयोः ‘बुझ्नु भो साङ्पाङ बाबु, त्यो मन्त्री त्यही हो जसले मेरा दुई छोरालाई बिनाहकमा जनकारवाही भनी मार्यो। मलाई अपाङ्ग त्यसैले बनायो। बुझ्नु भो, जसले देशप्रति गद्दारी गर्छ उसलाई मार्नुपर्छ।

यो शास्त्रसम्मत कुरा हो। देशलाई जसले धमिरा लगाउँछ ऊ मृत्युको भागिदार हो। त्यो फुँडो हो। त्यो रन्डो हो। गुन्डा हो। जाली हो। फटाहा हो। चोर हो। डाका हो। देश बेचुवा हो। आमा बेचुवा हो। देशको कलङ्क हो। त्यो पातकी हो। त्यसलाई झुन्ड्याएर मार्नुपर्छ। लेख्न सक्नु हुन्छ यी कुरा?’

मलाई यो विद्यावारिधि घाँडो लाग्न थालेको थियो। म सत्यको छेउ पुछार कतै देख्तिन थिएँ। म भागेँ। फाइल समाएरै भागे र आफैँलाई सोचेँः ‘थुइक्क नियति’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *