सिरहामा वनकर्मीको सेटिङमा चुरे क्षेत्रमा व्यापक काठ तस्करी, काठ मिल सञ्चालक पक्राउ

डिसी नेपाल
२२ कार्तिक २०८० १७:०५

सिरहा। चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर काष्ठ मिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो।

सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फडानी गरी वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दिपुर, उतरवाहिनी, बस्तिपुर, मिर्चैया, घुर्मिघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका सःमिलहरूमा पुर्‍याउने गरेको स्थानीय बताउँछन्।

प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यवसायीलाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिबन्धित करम जातको तीन सय भन्दाबढी क्यूविक फिट गोलिया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएको हो।

मिलदेखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलीले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिट बराबर करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्बरको ट्याक्टर र चालक  गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले काठ लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ। सो काठ पनि गौरव सःमिलमै लैजान लागिएको बताइएको छ । प्रहरीले काठ नियन्त्रणमा लिएलगतै त्यहाँ पनि सञ्चालक साह पुगेका थिए ।

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सःमिल सञ्चालकसँग ४० हजार रकम लिएर काठ छोडेको सूचना बाहिरिएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलीले चिरान र गोलियासहित २१० क्यूविक फिट काठ बरामद गरेको छ।

वन कर्मचारीले सःमिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ । साहलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए।

गए राति काठ सःमिलमा लगेको सूचना पाएपछि सञ्चारकर्मीले यसबारे वन कार्यालयमा सम्पर्क गरेसँगै यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा सार्वजनिक भएको हो।

वनकै एक कर्मचारीले खोजतलासको  क्रममा केही कर्मचारीको मिलेमताेमा काठ छोडेको सूचना दिएका थिए । काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ।

करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिबन्ध लगाइएको सब डिभिजन वन कार्यालयका कर्मचारी कासिन्द्र यादवले बताए।

सिरहाका विभिन्न सःमिलहरूमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरू आउने गरेको बताइन्छ। डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खैर, कर्मा, साल लगायत काँचो रुखको फडानी व्यापक छ।

यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीय बताउँछन् । काठ तस्करहरूले अहिले पनि  सिरहाको सामुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनानुदिन व्यापक बनाउँदै लगेका छन् ।


 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *